Friday 31st July 2026

रसियाका राष्ट्रपति भारत भ्रमणमा अाउँदै


तितोपाटी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि अाज बिहीबार साँझ नयाँदिल्ली आइपुग्दैछन् । रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालिरहेका छन् ।

दुई दिने भ्रमणमा आउनुअघि रुसले जारी गरेको विज्ञप्तिमा रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा करिब ५ अर्ब डलरको अध्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौतामा हस्ताक्षर हुनेछ । रुसी प्रतिरक्षा प्रणाली खरिद गर्ने मुलुकहरुविरुद्ध अमेरिकाले प्रतिबन्धहरु लगाउने घोषणा गरिरहेकै बेला यो हस्ताक्षर हुन लागेको हो । यो सम्झौताले अमेरिकालाई चुनौती हुने अनुमान गर्न सकिन्छ ।

राष्ट्रपति पुटिन १९ औं भारत–रुस द्विपक्षीय वार्षिक सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि रहेको छ । उनले भारतमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गर्नेछन् ।

वासिङ्टन र नयाँदिल्लीले सन् २०१९ मा संयुक्त सैन्य अभ्यास गर्ने गत महिनामात्र घोषणा गरेका थिए । दुबै देशबीच संवेदनशील सैन्य सूचना आदानप्रदान गर्ने पनि सहमति भएको थियो ।

तर रुस नै भारतको मुख्य सैनिक साझेदार रहिआएको छ, र पछिल्लो सम्झौता मस्कोका लागि निकै महत्वपूर्ण मानिएको छ ।

पुटिन र मोदीबीच अरु पनि सैन्य सामग्रीको आपूर्तिका बारेमा छलफल हुने बताइएको छ । भारत र रुसबीच सैनिक हेलिकप्टर उत्पादनका बारेमा यसअघि नै सम्झौता भइसकेको छ, जसअन्तर्गत ६० वटा रुसमा निर्माण गरिने र बाँकी भारतमा उत्पादन गरिनेछ ।

विज्ञहरुले भारतलाई अत्याधुनिक एस–४०० प्रणालीजस्ता उपकरण सख्त जरुरत भइसकेको बताएका छन् । चीनले लगातार सैनिक क्षमता सुदृढ गरिरहेको र पाकिस्तानबाट नयाँनयाँ चुनौती आइरहेकाले पनि भारतले आफ्नो प्रतिरक्षा क्षमता बढाउन आवश्यक रहेको उनीहरुको भनाइ छ ।

भारतीय वायूसेना प्रमुख वीरेन्दर सिंह धनोआले एस–४०० र ३६ वटा फ्रान्सेली लडाकू विमान राफेलको खरिदबाट भारतको तत्कालीन आवश्यकता पूरा हुने बताए ।

भारत विश्वमै सबैभन्दा ठूलो सैनिक सामग्री आयातकर्ता मुलुक हो र भारतले १०० अर्ब डलरका आधुनिक हातहतियार खरिद गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

रुस अझै पनि भारतको सबैभन्दा ठूलो सैन्य सामग्री आपूर्तिकर्ता मुलुक हो । सन् १९५३ यतादेखि दुबै मुलुकबीच प्रगाढ सम्बन्ध रहिआएको छ । दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाले भारतीय सेनाका लागि अत्याधुनिक अपाचे हेलिकप्टर र ड्रोनहरु बिक्री गर्दैछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकासँगको सम्बन्धमा जोड दिएसँगै भारतको रुससँगको व्यापारमा कमी आएको छ । सन् २०१४ यता दुबै मुलुकबीचको व्यापार १० अर्ब डलरभन्दा कम हुन थालेको छ । तर पछिल्लो समय मोदी र पुटिनबीचको भेटमा तिब्रता आएको छ । –एएफपी


सम्बन्धित शीर्षकहरु

इस्लामाबाद: पाकिस्तानको सेनाको जनसम्पर्क विभाग (ISPR) ले पछिल्लो २४ घण्टामा खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सञ्चालन गरिएका संयुक्त सुरक्षा अभियानका…

इम्फाल: भारतको मणिपुर राज्यस्थित नोनी जिल्लामा बुधबार बिहान सुरक्षा बल र नागा भिलेज गार्डबीच भएको गोली हानाहानमा एक जना नागा…

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

प्रतिकृयाहरू
...