Saturday 20th April 2024

कथाः एउटा पागल मानिस


नारायण पोख्रेल – सधै जसो त्यो मानिस हाम्रो गाउँको गल्लीमा फत्फताई रहन्छ । जिङ्ग्रिङ्ग परेको दारी र कपाल, ठाउँठाउँमा च्यात्तिएको अनि कट्कटी परेको यकदमै मैलो खैरो रङ्गको कमिज र रङ्ग छुट्याउन नसकिने हाप पाइन्ट लगाएको दुब्लो पातलो शरीर । खैकुन्नी के के बोलिरहन्छ कुनै शब्द बुज्न नसकिने । उसको उमेर ठ्याक्कै अनुमान गर्न नसकिए पनि त्यहि ४० को आसपास जस्तो लाग्दथ्यो । मेरो लागि त्यो ठाउं र त्यहाँका मानिसहरु प्रायः अपरिचित छन । एक वर्षमा ३०/४० दिनको लागि मात्र म त्यो ठाउँमा जाने गर्दछु ।

यो वर्ष मेरो बसाइको पुरै समय त्यो मानिस एकनासले तिनै गल्लीमा भौतारिरहेको देखें मैले । उ के के बोलिरहेको हुन्छ तर उसले बोलिरहेको कुरा बुझ्न हामीजस्ता सामान्य मानिसलाई कठिन पर्दछ । लोग्नेमान्छे संग उ डराएजस्तो गर्छ तर आइमाईमान्छे देख्ना साथ भने उ केहि न केहि भनिरहेको हुन्छ । जस्तो कि उसलाई आइमाई मानिसहरु देख्न त्यति रुची नै छैन जस्तो गरि । मेरो लागि यो ठाउं नयाँ र यहाँका मानिसहरुसंग त्यति हेलमेल भैनसकेकोले यी ३०/४० दिनको लागि मेरो दैनिकी सामान्य किसिमकै हुने गर्दछ । फुर्सदिलो भएको हुनाले समय कटाउन पनि कुनै न कुनै बहाना खोज्नुपर्ने हुन्छ ।

यस्तै यस्तै परिबेशमा मेरो आँखा, दिमाख र यो पुरै मनलाई त्यो पागल मान्छे ले तानिरहेको हुन्छ । को होला यो मानिस ? कहांबाट आयो होला ? के यसका कुनै परिवार या आफन्तजन हरु छैनन होला र ? खै, कुन्नी किन हो मलाई उसबारे चासो हुन थालेको । सबै मानिसहरु उसलाई देखिरहन्छन । साना साना केटीहरु देखि ठुला आइमाई मान्छे उसको सामुन्नेबाट हिड्न डराउने गर्छन । कतिपय केटाहरु ढुंगा माटो जे मिल्छ उ माथि फ्याक्दै उसलाई धपाउन खोज्थे, मानौं कि उसले उनीहरुको सुख चयनको हरण गरिरहेको छ जस्तो गरि । ठुलाबडा मानिसहरु कसैलाई केहि वास्ता नै हुँदैनथ्यो त कतिपय उसलाई गाली गर्दै कराउदै हिड्थे तर प्रायः आइमाई मानिसहरु उसंग डराई डराई हिडेको देखिन्थ्यो । दिनमा एक दुई पटक नचाहेर पनि उसलाई र उसंग जोडिएका दृश्यहरु मैले देख्नु पर्दथ्यो । एकछिनको मुसलधारे पानी पछि पुनः चर्को घाम लागिरहेको थियो । उ भने बाटोको किनारमा रुखको छायाँमा पल्टिरहेको थियो । खै कुन्नी, उ पानी परिरहेको बेला कता ओत लाग्यो या लागेन, मलाई पनि त्योबेला उसको याद आएनछ क्यार । उ पनि त एउटा मानिस हो । हामी सामान्य मानिसले जस्तै उसले पनि सास लिने र फ्याक्ने गर्दछ । तब त उ गल्ली गल्लीमा भड्किरहेको छ ।

यति बिशाल संसार हुँदाहुँदै पनि किन उ यिनै गल्लीमा मात्र बसिरहन्छ ? आखिर मानिस सबै कुराले पूर्ण पनि त हुदैन । कोहि शारीरिकरुपमा कमजोर त कोहि आर्थिकरुपमा, कोहि मानसिकरुपमा कमजोर त कोहि साैन्दर्य रुपमा ,यसैगरी कोहि अन्धो त कोहि बैरो , कोहि मोटो त कोहि निकै पातलो । उसको दिमाग कमजोर भयो त के उसलार्इ यो समाजमा हामी आम मानिस जस्तै बाच्न पाउने अधिकार हुँदैन ? कि मानिस पागल हुँनासाथ उ मानिस भन्दा अरु केहि हुने गर्दछ ? किन यहाँका ठुला बडा जनताका प्रतिनिधिहरु अथवा राज्यको नजर यस्ता पागल मानिसको विवशतामा पुग्न सक्दैन ? यावत प्रश्नहरुले मलाई सताईरहेको थियो ।

घरमा खाजा बन्दै थियो ,मैले केहि रोटी र आचार कागजमा बेरेर उसको लागि लगिदिएं । यसै बहानामा म उ संग केहि कुरा गर्न चाहन्थें । उसको बारेमा सबै कुरा जान्न चाहन्थें मैले कोशिस गरेको थिएँ तर उसको पुरा ध्यान मैले दिएको खाजामा थियो मानौं उसले यस्तो खाजा धेरै समय पछि खाँदैछ जस्तो गरि । हुन पनि उसको कुनै घर छैन, कुनै गन्तब्य छैन, कोहि उसका आफन्त छैनन् । यस्तै मैले जस्तै कसैले दिए भने मात्र उसको खाली पेटले केहि पाउँछ । मैले दिएको खाजा उ खादै थियो तर उसका हात हरु कापिरहेका थिए सायद उ म संग डराई रहेको थियो । मलाई उसको नजिक उभिन उचित लागेन । म आफ्नो घरतिर जादै थिएँ, बाटोमा खाल्डाहरु थिए ,केहीबेर पहिला परेको पानी ति खाल्डामा जम्मा भएको थियो । एउटा स्कुल बस खचाखच बिधार्थी बोकेर आउदै थियो । त्यो बसको टायरले खाल्डाको हिले पानीलाई पागलको सरिर भरि फ्याकिदियो । यो दृश्य देख्ने बस भित्रका बिधार्थी र बाटोमा हिडिरहेका केहि मानिसहरु हाँस्दै थिए । कतिले भन्दै थिए छिः फोहोर पानी लागेको खाना खाँदैछ त्यो पागल । मलाई भने यो दृश्यले धेरै दुःखी बनाएको थियो । आखिर म केनै गर्न सक्थें र सिबाय यी दृष्य देख्नु र दुःख मान्नु बाहेक ?

यसरी नै मैले उसलाई बेलाबेलामा केहि खाने कुरा दिन्थें । किनभने खाने बेलामा मलाई उसको सम्झना आउने गर्दथ्यो । मेरो बसाई सकिन मात्र दुइ दिन बाकी थियो । कति बर्ष देखि उसले लगाएको कपडा फेरिदिने र उसंग केहि कुरा गर्ने मेरो धोको थियो । म एक जोडा कपडा र केहि खाने कुरा लिएर बाहिर निस्कें उ बस्ने खुल्ला आकाशको उसको घरमा त्यो गल्लीमा तर आज उ त्यहाँ थिएन । म उसलाई खोजिरहेको थिएँ, म उसकै खोजीमा हिडिरहेको थिएँ । अलि पर केहि मानिसहरुको भिडभाड र होहल्ला थियो । म पनि त्यहाँ पुगिसकेको थिएँ जहाँ उही पागल मानिसको लाश पल्टिरहेको थियो । मेरो हातमा उसलाई लगिदिएको कपडा र खानेकुरा लिएर म शब्द बिहिन भइ उभिरहेको थिएँ ।

त्यहि भिडमा दुइ आइमाई मानिसहरु भन्दै थिए, उसले एउटा अन्तरजातीय केटीसंग प्रेम विवाह गरेको थियो रे ! अनि घर परिवार र समाजले उसको कदम नरुचाए पछि उसले श्रीमतीलाई शहरमा राखेर खाडीमा कामगरी घर घडेरी जोड्ने देखि आफुले कमाएको सारा पैसा श्रीमतीको नाममा राखेको रहेछ . जब उ विदेश छोडेर घरमा आयो तब उसले जोडेको घर घडेरी सबै अरु कसैको भैसकेको रहेछ । उ संग जीवन बिताउनको लागि उसले घर परिवार समाज सबै त्याग गरेको तर श्रीमती भने उसको सारा सपना र पसिनाको कमाइ लिएर अरु कसै संग गएको रे ! अनि उ त्यही श्रीमतीलाई यी गल्लीमा खोजिरहेको रे ! उसको मायालुलाई, उसको संसारलार्इ,उसको प्रेमलाई …


सम्बन्धित शीर्षकहरु

बतास आइ सक्यो मनमा कुन्नि के भयो संसार कै राम्री हजुरको सम्झना आयो भेट हुन्छ हाम्रो आशा मनमा छ यी…

बालकृष्ण घिमिरे , काभ्रे - बा र बाका बा (हजुरबा)हरु गरिव थिए । बिहान खाए बेलुका के खाउँ भन्ने चिन्ता…

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

प्रतिकृयाहरू
...