Friday 19th June 2026

अाँधीको कारण अमेरिकामा दर्जनाैको ज्यान गयो हजाराैं प्रभावित


तितोपाटी – संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधी र बाढीको प्रकोप जारी छ। बाढी र आँधीबाट एक दर्जनभन्दा बढीको ज्यान गइसकेको छ भने हजारौं प्रभावित भएका छन्। दुई दिन अघिमात्र टेक्सास राज्यमा आपतकालीन स्थितिको घोषणा गरिएको थियो। यो क्षेत्रमा अहिले पनि बाढी र आँधी आइरहेका छन्।

केही दिनयताको अविरल वर्षा र यसका कारण आएको व्यापक बाढीले ठूलो क्षति पुगेको छ। ती क्षेत्रमा आँधी पनि कायमै छ। आँधीले कैयौं भौतिक संरचना उडाएको र ध्वस्त पारेको छ।

टेक्सास राज्यका गभर्नर जर्ज अबोटले शनिबार मात्र त्यहाँका करिब ७८ काउन्टीमा आँधीको प्रभाव रहेकाले ती राज्यलाई नै आपत्कालीन प्रभावित क्षेत्र घोषणा गरेका थिए। यहाँको दक्षिणपूर्वी क्षेत्रहरूमा बाढी र आँधी जारी रहेका कारण यहाँ बाँधहरू फुट्ने र पहिरो जाने सम्भावना छ। अधिकारीहरूले प्राकृतिक प्रकोपका घटनामा अझ बृद्धि हुन सक्ने भन्दै यसप्रति सतर्कता अपनाउन पनि जोड दिएका छन्। बाढी र आँधीले यहाँ अर्बैाँ अमेरिकी डलर बराबरको भौतिक सम्पत्तिको क्षति पुगेको छ।

आँधीका कारण अहिलेसम्म कम्तिमा १५ जनाको ज्यान गइसकेको छ। उत्तर र दक्षिणी क्यारोलिनामा अविरल वर्षा जारी छ। वर्षाका कारण ती क्षेत्रहरूका नदीको सतह अस्वाभाविक रूपमा बढेको छ।

मौसमविद्हरूले वर्षा र बाढी अझै केही समयसम्म नरोकिने भन्दै नदी किनारका बस्तीमा नबस्न सर्वसाधारणलाई आग्रह गरेका छन्। उनीहरूले नदीको सतह बढेर बस्तीतिर पनि पस्न सक्ने खतरा रहेको र यदि यसो भयो भने यसले ठूलो विपत्ति निम्त्याउने बताएका छन्।

मौसमविद्हरूले उत्तरी क्यारोलिना र दक्षिण पश्चिमी भर्जिनियामा बाढीका कारण पहिरो आउन सक्ने बताएका छन्। साथै उनीहरूले ती क्षेत्रमा अहिलेसम्मकै भारी वर्षा भएकाले सबै सर्वसाधारण नागरिकलाई सतर्क रहन पनि आग्रह गरेका छन्।

सरकारले ती क्षेत्रमा उद्धारका कामलाई पनि जारी राखेको बताएको छ। तर पनि भारी वर्षा र आँधीका कारण उद्धार कठिन भएको छ। आँधीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र उत्तरी क्यारोलिना हो। अधिकारीले उत्तरी क्यारोलिनामा १० जना र दक्षिणी क्यारोलिनामा ५ जनाको ज्यान गएको बताए।

अहिले नै निकै ठूलो संख्यामा नागरिक प्रभावित भएका र ती क्षेत्रमा आँधीको सम्भावना अझै नटरेकाले नागरिकलाई सतर्कता अपनाउन पनि सार्वजनिक सूचना जारी गरिएको छ।

गत वर्षको अगस्टमा पनि टेक्सासमा आएको शक्तिशाली आँधीले जनधनको ठूलो क्षति पुर्‍याएको थियो। टेक्सासमा गत वर्ष ५० वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी आएको थियो।

मौसम अधिकारीहरूले आँधीको बेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन्। उनीहरूका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भइरहेको छ। एएफपी


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...