Sunday 5th May 2024

निर्मला हत्या प्रकरणमा जनता, मिडिया साथमा हुँदा पनि बलात्कारी हत्यारा रहस्यमै !


तितोपाटी – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४९ दिन वितेको छ । यो ४९ दिनसम्म न त दोषी पक्राउ परेको छ न अनुसन्धान प्रकृया नै टुङ्गिएको छ । बरु निर्मला पन्तका बाआमा न्याय खोज्न कञ्चनपुरबाट काठमाडौंमा भौंतारिन बाध्य भएका छन् । उता स्थानीयले यो प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न र दोषी पहिचान गर्न ढिलाइ गरेको भन्दै १५ दिनका लागि स्थगित गरेको आन्दोलन आजबाट पुनः सुरु गरेका छन् ।

के थियो घटना ?

निर्मलाको १० साउनमा बलात्कारपछि हत्या भएको थियो । गृहकार्य गर्न साथी रोशनी बमको घरमा गएकी उनको भोलिपल्ट रोशनीको घर नजिकैको उखुबारीमा शव भेटियो । पन्त परिवार र स्थानीयले घटना रहस्यमय भएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई दबाब दिए । तर सुरुमा यो घटनाप्रति प्रहरीले अनुसन्धान गर्न चासो नै देखाएन । प्रहरीले दोषी पहिचन गर्न चासो नदेखाएपछि स्थानीयले आन्दोलन नै गर्नुपर्यो ।

स्थानीयले आन्दोलन गर्न थालेपछि प्रहरीले घटनाको २६ दिनपछि अभियुक्त पक्राउ गरेको भन्दै सार्वजनिक गर्यो । प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेका भीमदत्त नगरपालिका १९ बस्ने दिलिपसिंह विष्ट ‘मानसिक सन्तुलन गुमाएका’ व्यक्ति थिए । विष्ट घटनाका दोषी नभएको भन्दै स्थानीय चर्को विरोध गरे ।

अर्का एकको ज्यान गयो

स्थानीय र पीडित परिवारले पन्त प्रकरणमा प्रहरीले दोषी भनेर सार्वजनिक गरेका व्यक्ति निर्दोष भएको र वास्तविक अपराधीलाई जोगाउन खोजेको भन्दै थप आन्दोलन गरे । वास्तविक अपराधी पहिचानको माग गर्दै स्थानीयले गरेको आन्दोलनमा प्रहरीले दमन गर्दा अर्का एक जनाको ज्यान नै गयो ।

त्यसपछि आन्दोलन मत्थर पार्न स्थानीय प्रशासनले तीन दिनसम्म कञ्चनपुरमा कफर््यु नै लगायो । प्रहरीको गोली लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका, १८ का सन्नी खुनाको ज्यान गएपछि उनलाई सहिद घोषणा र क्षतिपूर्ति दिने घोषणा गर्यो ।

निर्मला प्रकरणमा के–के भयो ?

साउन १०– निर्मला पन्त साथी रोशनीको घरमा जान्छिन् ।

साउन ११– निर्मलाको शव भीमदत्त नगरपालिका १९ स्थित उखुबारीमा फेलापर्छ ।

साउन ११– पन्तको हत्या विरोधमा भीमदत्त नगरपालिका कञ्चनपुरमा आन्दोलन सुरु हुन्छ ।

भदौ ४– निर्मलालाई बलात्कारपछि हत्या गरेको अरोपमा दिलिपसिंह विष्ट पक्राउ पर्छन् ।

भदौ ७– आन्दोलनका क्रममा २ प्रहरीसहित ६ आन्दोलनकारी घाइते । प्रहरीद्वारा धरकपकड र अश्रुग्याँस प्रहार ।

भदौ ७ – आन्दोलन उग्र बनेपछि कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन ।

भदौ ७ – कञ्चनपुरका सीडीओ कुमार खड्का र प्रहरी प्रमुख दिल्लीराज विष्ट फिर्ता, उनीहरूको ठाउँमा क्रमशः तीर्थ अधिकारी र कुवेर कडायतलाई जिम्मेवारी ।

भदौ ७– कञ्चनपुरमा भएको झडपका क्रममा घाइते भएका सबैको सरकारले व्यहोर्ने घोषणा ।

भदौ ७– प्रतिनिधि सभामा पेश भएको महिला हिंसाविरुद्धको प्रस्तावमा सांसदहरूको समर्थन ।

भदौ ८– प्रहरीको गोली लागेर स्थानीय सन्नी खुनाको मृत्यु ।

भदौ ८– आन्दोलनमा घाइते भएकालाई भेट्न गृहमन्त्री रामबहादुर थापा बादल त्रिवि शिक्षण अस्पतालमा ।

भदौ ९– निर्मला हत्या प्रकरणमा स्थानीयले आशङ्का गरेका रोशनी र बबिता बम पक्राउ ।

भदौ ९– निर्मला पन्त र सन्नी खुनाको परिवारलाई सरकारबाट १०–१० लाख दिने घोषणा ।

भदौ ९– निर्मलालाई न्याय दिन माग गर्दै काठमाडौंमा प्रदर्शन ।

भदौ ९– एसपी डिल्लीराज विष्ट निलम्बित । डीएसीपी ज्ञानबहादुर सेठ्ठी र इन्सपेक्टर रवीन्द्र खड्का फिर्ता ।

भदौ १०– भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी ।

भदौ ११– निर्मला हत्या प्रकरणमा सम्पादकहरूबाट प्रधानमन्त्री केपी ओलीको बालुवाटारमा ध्यानाकर्षण, हत्यारालाई कारवाही गर्ने प्रम ओलीको प्रतिबद्धता ।

भदौ ११– भीमदत्त नगरपालिकामा रातिको समयमा निषेधाज्ञा जारी ।

भदौ १२– डीएसपी कृष्णराज ओझाको नेतृत्वमा छानविन समति गठन ।

भदौ १४– निर्मलाकी साथी रोशनी बमको कम्पाउन्डमा रहेको अम्बाको रूख काटियो ।

भदौ १४– प्रहरीद्वारा निर्मलाले लगाएको ट्राउजर धोएर प्रमाण नष्ट ।

भदौ १५– हत्यारा पहिचान गर्न माग गर्दै निर्मलाका सहपाठीबाट प्रधानमन्त्रीलाई खुला पत्र ।

भदौ १५– खानेपानी मन्त्री बिना मगरद्वारा निर्मलाका परिवारसँग भेट ।

भदौ २१ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट निर्मलाका परिवारसँग भेट ।

भदौ २२– प्रहरी महानिरीक्षक खनालबाट अनुसन्धानका क्रममा प्रहरीबाट कमजोरी भएको स्वीकार ।

भदौ २५– हरिप्रसाद मैनाली नेतृत्वको उच्च स्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसीबाट समितिको सदस्यबाट राजीनामा ।

भदौ २६– दिलिप विष्ट निर्दोष ठहरपछि रिहा, बम दिदीबहिनी पनि रिहा ।

भदौ २७– हरिप्रसाद मैनाली नेतृत्वको उच्च स्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसीबाट समितिको सदस्यबाट दिएको राजीनामा फिर्ता, काममा फर्कने घोषणा ।

भदौ २८– निर्मला हत्या प्रकरणको विरोधमा काँग्रेसबाट प्रतिनिधिसभा संसद अवरुद्ध ।

रहस्यकै गर्भमा निर्मला प्रकरण

यसरी विकसित भएका थिए– निर्मला हत्यापछिका घट्नाक्रमहरू । तर पनि अहिले यो प्रकरण शून्यमा पुगेको छ । प्रहरीले सबैभन्दा पहिला घटनाको दोषी किटान गरेका दिलिप विष्ट निर्दोष सावित भइसकेका छन् भने सो प्रकरणमा जोडिएका बम दिदीबहिनीले पनि मुक्ति पाइसकेका छन् ।

घटनाका प्रमाणहरू पनि प्रायः नष्ट भइसकेका छन् । पीडित परिवारले न्यायको आश मारिसकेका छन् ।

अब प्रश्न उठ्छ– यो घटनाको दोषी को हो ? यो प्रश्नको जवाफ न प्रहरीसँगै छ, न छानविन समितिसँग नै । उच्च स्तरीय छानविन समितिले अनुसन्धान अन्तिम अवस्थामा पुगेको बताए पनि घट्नामा जोडिएका भनिएका पात्रहरू को–को छन् र उनीहरूसँग कसरी अनुसन्धान भइरहेको छ भन्ने खुलाएको छैन । बरु छानविन समितिले पाएको २१ दिनको म्याद सकिएर पुनः १५ दिन थपिएको छ । तर घटनाको सत्यतथ्य अहिलेसम्म रहस्यकै गर्भमा सीमित छ ।

न्याय खोज्न राजधानीमा पीडित परिवार

बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको घटना अनुसन्धानमा सरकारको ध्यानाकर्षण गर्न निर्मलाका आमाबुबासहित महिला अधिकारकर्मीको टोली कञ्चनपुरबाट काठमाडौं आइपुगेको छ । निर्मला हत्याकाण्ड झन् रहस्यमय बन्दै गएपछि निर्मलाका बुबा यज्ञराज पन्त, दुर्गा पन्तलगायतको टोली काठमाडौं आइपुगेको हो ।

टोलीले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, सभामुख, सत्तारुढ दलका अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, राष्ट्रिय महिला आयोगका अध्यक्ष, प्रहरी महानिरीक्षकलगायतलाई भेट्ने योजना बनाएको बताइएको छ ।

यो टोलीमा निर्मलाका आमाबुबासँगै अधिकारकर्मीहरू शारदा चन्द, माया नेगी, प्रेमवती राना, मीना भण्डारी, लक्ष्मी मल्ल, निर्मला भट्ट, जानकी जोशी र रमा पन्त रहेका छन् ।

को हो त हत्यारा ?

निर्मलाको बलात्कारपछि हत्या भएको पुष्टि भए पनि हत्यारा को हो, कसरी हत्या भयो भन्ने लगायतका विषयमा प्रहरी अनुसन्धान जारी छ ।

निर्मलाको हत्यारा को हो ? र किन हत्या भयो भन्ने मूल विषयबारे अझै अन्योल कायमै छ । स्थानीयले निर्मला हत्यामा उच्च पहुँच भएका व्याक्तिको संलग्नता भएको आरोप लगाउँदै आएका छन् ।

जसका कारण पछिल्ला दिनमा सबैको ध्यान तानेको निर्मला हत्याकाण्ड झन् रहस्यमय बन्दै गएको छ । प्रहरी अनुसन्धान र सरकारले गठन गरेको उच्च स्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिनु र ४८ घण्टामै उक्त राजीनामा फिर्ता लिनुले पनि थप अन्योल र आशङ्का बढाएको छ ।

राज्य संयन्त्र ढाकछोपमा केन्द्रित: काँग्रेस

निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारसँग जवाफ मागेको छ । सरकारले यसबारे जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने भन्दै काँग्रेसले बिहीबारको बैठक अवरुद्ध नै गरेको हो ।

बैठक सुरु भएलगत्तै काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले निर्मला पन्त बलात्कार प्रकरणमा राज्यबाट वास्तविक दोषी लुकाउने प्रयत्न भएकोमा गम्भीर ध्यानाकर्षण गराए । सांसद बडुले भने, ‘निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरण जटिल र रहस्यमय बन्दै गएको छ । एकपछि अर्को अनुसन्धान टोली परिवर्तन भइरहेको छ । तर, वास्तविक दोषी पत्ता लगाउनेभन्दा पनि समग्र राज्यसंयन्त्र ढाकछोपमा केन्द्रित भएको देखिन्छ ।’

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...