Thursday 27th August 2026

अमेरिकी राष्ट्रपति ट्रम्पका पुर्व सल्लाहकारलार्इ जेल सजायँ


तितोपाटी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना पूर्वसल्लाहकारलाई १४ दिनका लागि जेलसजाय सुनाइएको छ। लण्डनको एउटा पबमा जर्ज पापाडोपलसले दिएको अभिव्यक्तिपछि अमेरिकी चुनावी अभियानमा सम्भावित रुसी साँठगाँठबारे अनुसन्धान थालिएको थियो।

वाशिङटन डीसीस्थित अदालतमा ३१ वर्षीय जर्ज पापाडोपलसले झूट बोलेर गल्ती गरेको र आफू एक ‘देशभक्त अमेरिकी’ भएको बताए। मस्कोका आरोपित मध्यस्थकर्ताहरूसँगको भेटघाटको समयबारे संघीय अनुसन्धान निकाय एफबीआईसँग झूट बोलेकोमा दोषी पाइएका पापाडोपलसले गत अक्टोबरमा आफ्नो सफाइमा स्पष्टीकरण दिएका थिए।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा क्रेम्लिनको आरोपित प्रभावसम्बन्धी छानबिनका क्रममा पक्राउ पर्ने उनी ट्रम्पका पहिला सहयोगी थिए।

शुक्रवार सुनाइएको सजाय अनुसार पापाडोपलसले २०० घण्टा समुदायमा सेवा गर्नुपर्ने र साढे नौ हजार डलर पनि तिर्नुपर्ने हुन्छ। अदालतसमक्ष उनले आफ्नो ‘पूरै जीवन अस्तव्यस्त’ रहिआएको बताउँदै आफूलाई सच्याउनका निम्ति ‘अर्को मौका पाउने’ विश्वास व्यक्त गरे।

‘यो अनुसन्धानको विश्वव्यापी अर्थ रहनेछ र सत्यले महत्त्व राख्छ’ भन्दै पापाडोपलसले अदालतमा आफ्ना कुरा टुङ्ग्याएका थिए। शिकागोका बासिन्दा पापाडोपलसले सन् २०१६ को मार्चमा ट्रम्पको चुनावी अभियान टोलीमा स्वयंसेवक विदेश नीति सल्लाहकारका रूपमा काम शुरू गरेका थिए। त्यसअघि उनी लण्डनस्थित पेट्रोलियम विश्लेषकका रूपमा कार्यरत थिए। स्वयंसेवक विदेश नीति सल्लाहकारका रूपमा काम थालेको केही समयपछि उनले माल्टाका एकजना प्राज्ञसँग सम्पर्क गरे।

ती प्राध्यापकले ट्रम्पका चुनावी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनको व्यक्तिगत जीवनबारे सार्वजनिक गरिए क्षति पुग्न सक्ने जानकारी ‘ईमेलका रुपमा’ आफूसँग भएको बताएका थिए।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...