पेट्रोल पम्पको जागिर देखि रेष्टुरेन्ट संचालक सम्म
तितोपाटी – पृथ्वीनारायण क्याम्पस पोखरामा ०५४ मा वाणिज्य शास्त्रमा स्नातक पढ्न थालेका लमजुङका महेन्द्र पौडेलले नेपालमै व्यापार गरी समृद्धिको शिखर चढ्ने सपना देखेका थिए । आफ्नो सपना साकार पार्न उनले स्वदेशमै प्रयासहरु नगरेका होइनन् तर अनुभव र लगानीको अभावका कारण उनका सपना नेपाली भूमिमा साकार हुन सकेनन् ।
आफ्ना उमेरका साथीहरु विदेश गइरहेको देखेपछि महेन्द्रले पनि बीबीएस तेस्रो वर्षको परीक्षा दिएर अन्ततः दुबई आउने निर्णय गरे । उमेरमै विदेश गएर छोटो समयमै धन कमाउने अनि परिवारको समुन्नत भविश्य बनाउने सपना देख्दै महेन्द्रले सन् २००१ मा युएईको एक पेट्रोल कम्पनीमा काम गर्न थाले ।
इमारत पेट्रोलपम्पमा फिलरका रुपमा काम गर्नुपर्ने थियो । दुबईको तातो मौसममा २ वर्ष पेट्रोल भर्ने काम गरेका महेन्द्रले आफ्नो कार्यकुशलता र शैक्षिक योग्यता कारण इञ्चार्जका रुपमा पदोन्नति पनि पाए ।
यसैबीच बीबीएसको परीक्षाफल राम्रो भएका कारण स्नातकोत्तर अध्ययन गर्ने सोच महेन्द्रमा पलायो । औसत तलबले गर्जो टरेकै थियो । पदोन्नति पनि पाइरहेकै थिए । तैपनि पारिवारिक सल्लाहमा खाइपाई आएको राम्रो जागिर छाडेर उनी सन् २००३ मा नेपाल फर्किए ।
एमबीए पढ्ने लक्ष्यका साथ नेपाल फर्केका उनले केही महिनाभित्रै मन बदले । एक पटक विदेशको मोहमा डुबेको मानिस मुस्किलले मात्र स्वदेशमा रम्न सक्छ भन्ने दृष्टान्त महेन्द्रमा पनि लागू भयो । अन्ततः उनी सन् २००३ को अन्त्यतिर भिजिट भिसामा युएई आइपुगे ।
त्यसपछिका महेन्द्रका दिनहरु झनै चुनौतिपूर्ण र संघर्षपूर्ण रहे । भिजिट भिसामा युएई आएपछि काम र बस्ने टुंगो नहुनु स्वाभाविकै थियो । तर, यसअघि पनि दुई वर्ष काम गरेर युएईको वातावरण बुझेका महेन्द्रले केही साथी र आफ्न्तहरुको सहयोगमा काम खोज्न केही सहज महसुस गरे ।
काम खोज्ने सिलसिलामा बरदुबईदेखि सत्वासम्म कहाँकहाँ पुगेनन् उनी ? अन्ततः सत्वाको एक अग्र्यानिक फुड्स अल एकेड डिपार्टमेन्ट स्टोर्समा फुड सेक्सनको इञ्चार्जका रुपमा काम पाए । आफ्नो लगनशीलता र कार्यक्षमताका कारण महेन्द्रले छोटो अवधिमा ब्रान्च को–अर्डिनेटरको जिम्मेवारी पाए ।
तीन वर्ष एकै स्थानमा काम गरिसकेपछि महेन्द्रले अझ राम्रा–राम्रा अवसरहरु अन्य कतै पाइएला कि भनी दौडधुप गरिरहेकै थिए । यसै सिलसिलामा उनले सन् २००६ को जुलाईमा नखिल ग्रुपको दुबई वल्ड प्रोजेक्टमा सेल्स एडभाइजरको काम पाउन सफल भए । तुलनात्मक रुपमा राम्रो काम र तलब पाएपछि उनको आर्थिक अवस्था सुदृढ बन्दै गयो ।
दुबईमा कार्यरत रहेको यसै अवधिमा महेन्द्रले छुट्टीमा नेपाल गएर कुन्छा लमजुङकी मञ्जु गौलीसँग मागी विवाह गरे सन् २००८ को जुलाईमा । शिक्षाशास्त्रमा स्नातक तह अध्ययनरत मञ्जुलाई महेन्द्रले पारीवारिक भिसामा युएई ल्याए । श्रीमती मन्जु गौलीले सत्वाकै सिटी म्यान सुपरमार्केटमा सेल्स गर्लका रुपमा काम थालिन् । श्रीमान–श्रीमती दुबैजना कामकाजी भएपछि राम्रै रकम जोहो हुन थाल्यो ।
यसैवीच महेन्द्रले नखिलमा काम गरिरहेकै बेला सत्वाको एउटा गल्लीमा एकजना बंगालीले सानो कुनामा चिया धमाधम बेचिरहेको देखे । ती बंगालीले एक दिनमै ५ सय कप चिया बेच्दा रहेछन् । एउटा सानो कोठामा दिनमै ५ सय कप चियाको कारोबार हुन्छ भन्ने बुझेपछि महेन्द्रको दिमागमा व्यापारको बत्ति बल्यो ।
एउटा बंगालीले यति गर्न सक्छन् भने हामीले किन सक्दैनौं भन्ने विचार महेन्द्रको मनमा पलायो । उनले श्रीमती मञ्जुसँग सल्लाह गरे । आँटिली मञ्जुले महेन्द्रको कुरामा समर्थन मात्र गरिनन्, आफैं खटिएर नेपाली रेस्टुरेन्ट खोल्ने लक्ष्यका साथ कोठा खोज्ने कार्यमा समेत साथ दिइन् ।
आफ्नो नियमित जागिर चल्दै थियो महेन्द्र र मञ्जुको । जागिरबाट छुट्टी भएपछि सत्वादेखि बरदुबईसम्मका गल्लीगल्लीमा उनीहरुले कोठा खोज्न थाले । कुनैबेला जागिरका लागि तिनै गल्लीगल्ली हिँडेका पौडेल दम्पति अब व्यावसाय गर्ने कोठाको खोजीमा महिनाैं भौंतारिए ।
यसबीचमा व्यापार गर्न आवश्यक प्रशासनिक कामहरुबारे पनि बुझ्दै गए । मञ्जुका दाजु अर्थात महेन्द्रका जेठान लमजुङका हरिस गौली इराकमा राम्रो कमाइ गरिरहेका थिए । महेन्द्रले युएईमा रेस्टुरेन्टको व्यावसाय गर्ने भनेपछि इराकबाट हरिसले पैसाको चिन्ता नगर्न दरिलो आश्वासन दिए । यसले पौडेल दम्पतिको आत्मबल बढ्यो ।
निकै दिनको दौडधुपपछि महेन्द्रल बरदुबईमा सगरमाथा रेस्टुरेन्ट स्थापना गर्न सफल भए । नेपालीले खोलेको नेपालीको सगरमाथा रेस्टुरेन्टमा सुरुमा धादिङका ईश्वरराज उपाध्याय, लमजुङका हरिस गौली र महेन्द्रले तीनजनाको लगानी थियो ।
यो रेस्टुरेन्टमा महेन्द्र र उनको समूहले निकै मिहेनत गर्याे । रेस्टुरेन्टले युएईमा कार्यरत नेपालीहरुलाई नेपाली खाना सरल मूल्यमा उपलब्ध गरायो । सेवा तथा गुणस्तरमा ध्यान दियो । प्रचार प्रसार र नेपालीहरुको जमघटको केन्द्र भएका कारण नेपालीको सगरमाथा रेस्टुरेन्ट चाँडै नै नेपालीहरुको रोजाइमा पर्न थाल्यो ।
सगरमाथा रेस्टुरेन्टबाट राम्रो कमाइ हुन थालेपछि तीनजना पार्टनरले आपसी सहमतिमा व्यापार व्यावसायलाई विस्तार गर्दै लानु नै भविश्यका लागि राम्रो हुने सरसल्लाह गरे । त्यसपछि महेन्द्रले सन् २०१५ डिसेम्बरमा देराको युनियनमा एकल लगानीमा नमस्ते रेस्टुरेन्ट सञ्चालन गर्न थाले ।
देराको मुटु मानिने युनियनमा रहेको नमस्ते रेस्टुरेन्टमा पनि खानामा गुणस्तर कायम गर्नेदेखि सेवा र सफासुग्घरमा महेन्द्रले ध्यान दिए । ग्राहकलाई गरिने आत्मीय व्यवहार र मिजासिलो स्वाभावका कारण एकपटक आएको ग्राहक खोजीखोजी फर्केर उनकैमा आउन थाले । मौलिक नेपाली खाना र अन्य परिकारहरुका लागि नमस्ते रेस्टुरेन्ट धेरै नेपालीहरुको रोजाईको केन्द्र बन्यो ।
दुबईको देरामा पाएको सफलताले महेन्द्रले सारजहामा पनि रेस्टुरेन्ट स्थापना गर्ने सोच बनाए । यसै क्रममा महेन्द्रले लमजुङकै सुनील गौली, कल्याण गौली र शारदा सेढाई दाहालको संयुक्त लगानीमा क्रिस्टल प्लाजापछाडि सारजहामा मुमताज नामको चलिरहेको इन्डियन रेस्टुरेन्ट खरिद गरेर नेपाली परिकार थप गरे । सन् २०१८ मे २ तारेखदेखि नेपाली व्यावस्थापनमा उनले यो रेस्टुरेन्ट सञ्चालन गर्न थालेका छन् । यो रेस्टुरेन्ट भदौ १ गते शुक्रबार युएईको नेपाली समुदायका ब्यक्तित्वहरुको उपस्थितिमा समुदघाटन गर्ने कार्यक्रम रहेको महेन्द्र बताउँछन् ।
समयमै दुःख गरे आफ्नो र परिवारको भविष्य सहज हुने सपना बोकी १८ वर्षअघि युएई छिरेका महेन्द्र अहिले युएईको नेपाली व्यावसायिक क्षेत्रमा सफल, इमानदार र विश्वसनीय व्यक्तित्वका रुपमा परिचित छन् । यो स्थानसम्म आउनमा लमजुङको शैक्षिक र सामाजिक क्षेत्रमा सुनाम कमाएका दाजु राजेन्द्र नै आफ्नो प्रेरणाको श्रोत र आधार भएको महेन्द्र बताउँछन् । आफ्नो शक्तिको श्रोत, शक्ति र श्रेयका रुपमा महेन्द्रले श्रीमती मञ्जुलाई लिने गर्छन् । हरेक महत्वपूर्ण निर्णयहरुमा श्रीमतीको राय र सल्लाह लिने गरेको उनी बताउँछन् ।
सन् २०१० मा युएईमै छोरी मञ्जिता जन्मिएपछि निरन्तर सफलता हात परेको उनले बताए । व्यापारिक पार्टनरहरु पनि परिवारभित्रकै भएका कारण सबैको सहयोग र सहकार्यका कारण आफू आवद्ध व्यवसायहरु निरन्तर अगाडि बढिरहेको उनले अनुभव सुनाए ।
पहाडी जिल्ला लमजुङको जिता गाउँपालिका वार्ड नम्बर ९ बगुवाबजारका महेन्द्रको जन्म मध्यम वर्गीय परिवारमा ०३४ साल फागुनमा भएको हो ।
गाउँकै सूर्यज्योति निम्न माध्यमिक विद्यालयबाट अध्ययन गरेका महेन्द्रले मंगला उच्च माध्यमिक विद्यालय, सोतीपसल, लमजुङबाट ०५१ सालमा एसएलसी प्रथम श्रेणीमा पास गरे । उच्च शिक्षाका लागि २०५१ को अन्त्यतिर चितवन पसेका उनले बालकुमारी क्याम्पसबाट वाणिज्य शास्त्रमा प्रवीणता प्रमाणपत्र तहको अध्ययन गरे ।
मानव जीवनमा शिक्षाको महत्व राम्ररी बुझेका महेन्द्रले कलेजमा अन्य क्रियाकलाप भन्दा पठनपाठनमा ध्यान दिन थाले । आफू जुन क्षेत्रमा समर्पित भइएको छ, त्यसैमा दिलोज्यान दिएर लाग्ने स्वाभावका कारण उनले पढाइमा सफलता प्राप्त गरे । अहिले उनले पढेको वाणिज्यशास्त्र व्यवहारमा प्रयोग भएको छ । पारिवारिक वातावरण, सहयोग र आत्मविश्वासका कारण युएईको नेपाली व्यवसायिक क्षेत्रमा उनी सफल व्यवसायीका रुपमा चिनिएका छन् ।
-अनलाइनखबरबाट