Wednesday 17th June 2026

इन्डोनेसियामा भूकम्पमा परी मर्नेको संख्या १०० नाघ्यो


तितोपाटी – इन्डोनेसियाको लोम्बोक टापुमा आइतबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने जनाएका छन् ।

विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पका कारण करिब २ सय ५० मानिस घाइते भएका छन् । लोम्बोक टापुबाट करिब १० हजार मानिस विस्थापित भएको बीबीसीले जनाएको छ ।

७ म्याग्निच्युडको भूकम्पकपछि हजारौं भवनमा विद्युत् आपूर्ति बन्द भएको जनाइएको छ । नजिकैको गिली टापुमा फसेका करिब १ हजार पर्यटकको उद्धारका लागि डुंगा पठाइएको छ । छिमेकी बाली टापुका मानिस चिच्याउँदै घरबाट भागिरहेको दृश्य भिडिओ फुटेजमा देखिन्छ । समुद्री तट र पदयात्राका लागि लोकप्रिय टापु लोम्बोकमा एक साताअघि पनि भूकम्प गएको थियो। उक्त क्षेत्र बालीबाट करिब सय किलोमिटर टाढा पर्छ।

उक्त भूकम्पका कारण १७ जनाको ज्यान गएको थियो । अमेरिकी भूगर्भ निकायका अनुसार आइतबारको भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा करिब १० किलोमिटर तल थियो ।

भूकम्पलगत्तै अधिकारीहरूले सुनामी आउने चेतावनी जारी गरे पनि केही घण्टापछि फिर्ता लिइएको थियो । इन्डोनेसियाको विपद् न्यूनीकरण निकायका प्रवक्ताले लोम्बोक टापुको प्रमुख नगर माताराममा थुप्रै घरमा क्षति पुगेको समाचार संस्था एएफपीलाई बताए । उनका अनुसार क्षति पुगेकामध्ये अधिकांश कमसल निर्माण सामग्रीबाट बनेका घर हुन्।

मातारामका बासिन्दाले एउटा शक्तिशाली झट्का महसुस गरेपछि मानिस घरबाट भाग्न थालेको बताएका छन् । एक स्थानीयले भने, ‘तत्काल सबै मानिस घरबाहिर निस्के, सबैजना आत्तिएका थिए ।’ उनले अधिकांश भागमा विद्युत् तथा खानेपानी सेवा बन्द भएको जनाए । भूकम्पपछि बालीस्थित अस्पतालबाट बिरामीलाई बाहिर निकाली सडकमा टाँगिएका पालभित्र चिकित्सकले उपचार गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...