नारायण पोख्रेल – आउँदो अगस्ट २३ देखि २५ सम्म युएईको दुबईमा एनआरएनएको मध्य पुर्ब भेला हुदैछ भन्ने कुरा समाचारमा सुन्नमा आएको छ । हुन त गत बर्ष १४ अक्टुबर देखि सुरु भई १७ अक्टुबरमा नेपालमा सम्पन भएको आठौँ अधिबेसन ताका यो भेला कुवेतमा गर्ने भन्दै यो कार्यलाई सफल बनाउनको लागि यहाँबाट दिएको उम्मेदवारले समेत आफ्नो नाम तानेर वातावरण बनाउन भूमिका खेलेका हुनकी भन्ने जस्तो लाग्दथ्यो । संस्थामा आबद्ध नभएपनि यस्ता शुभकार्यमा साथ दिने हेतुले र यो कार्यमा साथ मिल्ने गरि कुनै प्यानललाई मत दिने निर्णय प्रति इमान्दारिता जनाउने हाम्रो कर्तब्य हामीले पुरा गरेका थियौं । वर्षभरी परिवारदेखि टाढा रहेर एक महिनाको लागि बिदामा गएको बेलामा समेत चटक्क परिवारलाई छोडी ३/४ दिन एनआरएनएको अधिबेसनमा जानु आफ्नो र परिवारको खुशी भन्दा सबै मानिसको खुशी संग जोडिएको मानबिय संबेदनाको बिषय बस्तु हो जस्तो मलाई लाग्दछ । यसरी आश देखाइएको कुरा किन सफल हुन् सकेन ? भन्ने कुरा हामी सबैको चासोको विषय हुनु पर्छ या पर्दैन यो त सरोकारवालाको उत्तरदायी विषय होला या समय आउँदा जानकारी अबस्य होला । जे जसो भए तापनि जहाँ भएपनि आखिर भेला आयोजना हुँदै रहेछ, भेलाको सफलताको कामना गर्नु मात्र नभएर केहि विषयबस्तुको उठान गर्नु पनि हाम्रो कर्तब्य हो ।
खासगरी गैर आवासिय नेपाली (एनआरएनए) भन्नाले नेपाली मुलुकको मानिस अध्ययन, जागिर या बिजनेस कुनैपनि मनसायले विदेश गई पछि उक्त देशको नागरिकता लिएको भन्ने अर्थ लाग्दछ । तर यसको परिचय र परिभाषामा धेरै बाझिएका कुराहरु देख्न सकिन्छ । जस्तोकी सार्क मुलुकमा रोजगारी गर्ने या त्यहाँको नागरिकता लिएर बसेका या नलिई रोजगारी गरेर बसेका नेपाली मुलका मानिसलाई गैर आवासिय नेपाली मानिदैन तर २० लाख भन्दा बढी मानिसहरु जो निश्चित करारमा मध्य पूर्वको खाडीमा काम गरिरहेका छन उनीहरु नेपाल छोडेको १८२ दिनपछि गैर आवासिय नेपालीको परिभाषा भित्र पर्दछन । जबकी यहाँको कानूनमा जति धेरै वर्ष बसेपनि यी देशको नागरिकता प्राप्त गर्न सक्ने प्रावधान बनिसकेको छैन र बन्ने सम्भावना समेत न्यून देखिन्छ । नेपालीहरुले अर्को देशको नागरिकता लिनु कसैको रहर होला त कसैको बाध्यता तथापी आफ्नो बारेमा निर्णय गर्ने अधिकार हरेक मानिसमा हुनुपर्दछ । यसमा कसैको आपत्ति हुनु जरुरि छैन । संसारभरि छरिएका नेपाली मुलका मानिसहरु एउटा छातामा आउनु आफैमा राम्रो कुरा हो साथै आफुले अर्को देशको नागरिकता लिएपनि जन्मिएको देशको विकासको चिन्ता लिनु र हरेक सुख दुखमा हातेमालो गर्नु राम्रो कुरा भैहाल्यो । जन्मभूमिको विकासमा आफ्नो लगानी र यसको सुरक्षा संग जोडिएका विभिन्नखाले जायज मागहरु जो कति संबिधानमा लिपिबद्ध भैसकेका छन र अन्य हुने क्रममा होलान र हुनुपनि पर्दछ । उपरोक्त विषयबस्तु र यो संस्था प्रति कुनै बिमति पंक्तिकारको हुँदै हैन किनकी यस संस्था र राज्यको परिभाषा अनुसार उ आफैपनि गैर आबासीय नागरिक भित्र पर्दछ ।
मध्यपूर्वको बिगत र वर्तमान अवस्था हेर्दा पंक्तिकारको नजरमा कागलाई बेल पाके सरह लागिरहेको अवस्था हो । किनकी मध्यपूर्वको सन्दर्भमा छरिएर रहेका नेपालीहरुलाई एउटै साझा सञ्जालमा संगठित गरी विदेशमा आर्जन गरेको ज्ञान सिप र पुँजीलाई नेपाल र नेपालीको हितमा उपयोग गर्ने तथा रोजगार पछि उनीहरुको जीवन सुरक्षित गराउने, हरेक नेपालीलाई दुःख पर्दा या अन्यायमा पर्दा सहयोग गर्ने बैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र ब्याबस्थित गर्नको लागि मजदुरहरुका समस्याहरु र समाधानका उपायहरु नेपाल सरकार सम्म पुर्याउनको लागि माध्यम बन्न सक्ने यसले गर्नुपर्ने र गर्न सक्ने काम नै यत्ति हो ।
२० लाखको हाराहारीमा नेपालीहरु खाडी मुलुकमा रहेको अनुमान छ । हुन त यो अनुमान गर्न निक्कै कठिन कुरा हो किनभने सरकारले घरेलु कामदारको लागि आउने बैदानिक बाटो बन्द गरेपछि कति महिला तथा पुरुषहरु अबैधानिक बाटोबाट छिरे भन्ने एकिन गर्न सजिलो छैन । अनुमानित २० लाखको संख्या मध्ये १० हजार भन्दा पनि कम मानिस यानी ०.५ प्रतिशत भन्दा थोरै यसका सदस्य भएका छन । त्यो पनि अधिबेसनको बेला केवल नेतृत्वमा पुग्न या पुर्याउन मात्र आफु नजिककोलाई सदस्य बनाउने होडबाजी चलेको देखिन्छ । सदस्य बनाउने भनेको चुनावमा मत लिन अर्थात चुनाव जित्नका लागि मात्र हो । सदस्यहरुको काम भनेको कुनै मानिसलाई संस्थाको पदमा पुर्याउनु मात्र हो । यसपछि अर्को दुई बर्ष सम्म ति सदस्यहरु यसका कुनै गतिबिधि संग जानकार हुदैनन ।
नेपालका मेनपावरहरुले ठुलो रकम लिएर खाडीमा कामदार पठाएपछि धेरैजसोले उनीहरु समस्यामा पर्दा फर्केर हेर्दैनन या पञ्छिन खोज्छन । अझ उदेक लाग्दो कुरा त के छ भने कतिपय यो संस्थामा रहेका पधादिकारीहरू नै मेनपावर व्यवसायी छन । यस्तो लाग्छ यिनीहरु सेवाको लागि नभई आफ्नो फाइदाको लागि यो संस्थालाई उपयोग गरिरहेका छन । ब्यापार ब्यबसाय गर्नु नराम्रो कुरा पक्कै हैन । सबै मेनपावर ब्यबसायीहरुले नराम्रो गरेका छन भन्न खोजिएको भने पक्कै हैन । यिनैको कारणले लाखौं मानिसहरुले रोजगारी पाएका छन तर पैसा कमाउने र उत्तरदायी नहुने या समस्याहरु पर्दा सुल्झाउने भन्दा जसरी पनि आफ्नो बचाऊ गर्ने जस्ता कुराहरुले गर्दा आम मानिसहरु प्रति आशा भन्दा बढी अविश्वास पैदा हुनु स्वभाविक देखिन्छ।
सरकारले घरेलुकामदार लाई खाडी मुलुकमा अर्को व्यबस्था नभएसम्म नपठाउने निर्णय गरेको छ तर दिनहुँ जसो सेटिंग तथा अन्य देशको बाटोबाट खासगरी महिलाहरु आइरहेका छन । यो अबस्थालाई बैधानिक र मर्यादित बनाउनको लागि यो संस्थाले कुनै पहलकदमी गरेको आम मानिसले महसूस गर्न पाएका छैनन । बरु यसैसँग सम्बन्धित कार्यमा संघकै मानिसहरु संग्लग्न भएका घटनाहरु बेलाबेलामा समाचार र सामाजिक सञ्जालमा देख्न सकिन्छ । यस्ता कार्यमा संग्लग्न भएका मानिसहरुलाई कारबाई को दाएरामा ल्याउनु भन्दा उनीहरुको बचाउमा पुरै संस्था लागेको कुरा आम मानिसहरुले महसूस गरिरहेका छन ।
फेरिपनि खाडी मुलुकमा गैर अावासीय नेपाली (एनआरएन) ले गर्ने भनेको सबै नेपालीहरुलाई संगठित गरि मजदुरको हकहित र अधिकारको लागि पहलकदमी गर्ने र विदेशमा आर्जन गरेको ज्ञान सिप र पुँजीलाई नेपाल र नेपालीको हितमा उपयोग गर्ने तथा रोजगार पछि उनीहरुको जीवन सुरक्षित गराउने कार्यमा पुलको काम गर्ने नै हो । यसका लागि एनआरएनए मन, बचन र कर्मले “श्रमिक मैत्री” बन्नु जरूरी छ नकी कतिपयको कमाइ खाने भाडो मात्र ।