Monday 25th May 2026

सरकारलार्इ भन्दा एजेन्टलार्इ विश्वास ?


तितोपाटी – वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने सरकारको तयारी भइरहँदा मानव तस्करीका शृङ्खलाबद्ध घटना सतहमा आएका छन् । पछिल्लो तीन सातामा दिल्लीबाट मात्रै ७० भन्दा बढी नेपाली महिलाको उद्धार गरिएको छ ।

भारतको दिल्लीबाट बुधबार मात्रै ३९ नेपाली महिलालाई उद्धार गरिएको छ । एक होटलबाट दिल्ली पुलिसले आज बिहानै उनीहरूको उद्धार गरेको हो । आजभन्दा एक हप्ता अगाडि मात्रै भारतको विभिन्न क्षेत्रबाट ३४ नेपाली चेलीको उद्धार गरिएको थियो । उनीहरूलाई दिल्ली पुलिस र दिल्ली महिला आयोगको संयुक्त पहलमा उद्धार गरिएको हो ।

यस्तै मङ्गलबार पनि खाडी मुलुक लैजान तयार पारिएका १८ नेपाली महिलालाई भारतको दक्षिण पश्चिम जिल्लास्थित एक घरबाट उद्धार गरिएको थियो ।

यस्तै, त्यसको एक हप्ताअघि यसै जिल्लाको एक घरबाट १६ नेपाली महिलालाई उद्धार गरिएको थियो । आफूहरूलाई विभिन्न प्रलोभन देखाएर भारत पुर्याइएको र मानव तस्करले खाडी मुलुक लैजाने तयारी गरिरहेको पुलिसलाई जानकारी दिएका थिए ।

मङ्गलबारको घटनाबारे जानकारी दिँदै दिल्ली पुलिस र बरानासीका एसएसपी सुरेशराव ए कुलकर्नीले ती महिलालाई खाडी मुलुक लैजाने तयारी भएको र ६८ पासपोर्ट जफत गरिएको जानकारी दिए ।
‘हामीले गत हप्ता केही नेपाली महिलालाई बरानासीस्थित एउटा घरमा थुनेर राखेको भन्ने जानकारी पायौँ । तर हामी पुग्दा उनीहरूलाई अन्तै सारिएको थियो । एक आरोपी, जय सिंहलाई पक्राउ गरिएको छ । ती महिलालाई दिल्ली सारिएको भन्ने जानकारी पाएका छौं ।’ एसएसपी सुरेशराव ए कुलकर्नीले भने ।

कुलकर्नीले उद्धार गरिएका धेरैजसोको उमेर २२ देखि २५ वर्ष भएको जानकारी दिए । ‘उनीहरूलाई सानो समूह बनाएर भारत भित्र्याइने गरेको पाइएको छ’, उनले भने ।

यसअघि गत चैतमा पनि दुई महिलालाई भारतबाट मोरङको प्रहरी टोलीले उद्धार गरेको थियो । उद्धार गरिएका मध्ये एकको उमेर २७ र अर्कीको २० वर्ष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, गत माघमा पनि भारतबाट तीन नेपाली चेलीको उद्धार गरिएको थियो ।

सरकारले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जान नपर्ने गरी स्वेदशमै रोजगारी सिर्जना गर्ने दाबी गरिरहेका बेला दिल्लीमा मानव तस्करीका घटनाहरू सतहमा आएका हुन् । श्रम मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन आफू लागिपरेको बताएका छन् ।

श्रम स्वीकृत नलिई वैदेशिक रोजगारीमा जानेहरूले प्रायः दिल्लीको बाटो प्रयोग गर्छन् ।

बामगठबन्धनले आफ्नो चुनावी घोषणापत्रमा वैदेशिक रोजगारीमा गएकाहरूको अभिलेख राखी त्यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित गरिने उल्लेख छ । वैदेशिक रोजगारीमा भइरहेका विकृतिहरूलाई कडाइका साथ नियन्त्रण गर्ने तथा देशलाई आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्दै जगेडा श्रमिकलाई गन्तव्य मुलुकसँग श्रमसम्झौता गरी वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गरिने उल्लेख छ ।

यसबाहेक वैदेशिक रोजगारीमा जानेहरूलाई आवश्यक तालिम र प्रशिक्षणद्वारा सीप विकास गरेर मात्रै वैदेशिक रोजगारीमा पठाउन आवश्यक व्यवस्था गरिने घोषणापत्रमा छ । वैदेशिक रोजगारीका क्रममा नेपालीहरूले प्राप्त गरेको सीपलाई प्रमाणीकरण गरी राष्ट्रनिर्माणमा उपयोग गरिने घोषणापत्रमा छ ।

यही घोषणपत्रलाई भोट हालेकै केही महिला चाहिँ सरकारप्रति विश्वास नभएर दलालको पछाडि लागेका छन् । यो चाहिँ अनौठो छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

पाकिस्तान को बलुचिस्तान प्रान्तमा आज रेलमाथि भएको भीषण आक्रमणले फेरि त्यहाँको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील रहेको देखाएको छ। क्वेटा नजिक…

जेम्स वेब स्पेस टेलिस्कोप बाट प्राप्त नयाँ तथ्यांकले नेप्च्यून ग्रहको चन्द्रमा “नेरेइड” बारे रोचक कुरा देखाएको छ। वैज्ञानिकहरूका अनुसार नेरेइड…

प्रतिकृयाहरू
...