Monday 18th May 2026

ग्रीसको जंगलमा लागेको डंढेलोको कारण अहिले सम्म ६० जनाको मृत्यु


तितोपाटी – ग्रिसको राजधानी एथेन्स नजिकैको पर्यटकीय क्षेत्र एट्टिकामा फैलिएको डढेलोले कम्तीमा ६० जनाको मृत्यु भएको छ । राजधानी एथेन्सको पूर्वमा पर्ने माटी गाउँको तटीय क्षेत्रमा आगलागी फैलिएको आगलागी एक दशकयताकै भीषण हो ।

उद्धारकर्मीहरुले बालबालिकासहित २६ शव एकअर्कालाई अँगालेको अवस्थामा फेला पारेको जनाएका छन् । उद्धार निकायहरुमा कतिपय मानिसले पटकपटक टेलिफोन गरेको बीबीसीले जनाएको छ । कतिपयको शव घर तथा गाडीमा भेटिएका थिए ।

टेलिभिजनमा प्रसारित दृश्यहरुमा खरानी रंगको धुवाँको बाक्लो मुस्लो आवासीय क्षेत्र हुँदै आकाशमा फैलिएको देखिन्थ्यो । अग्नि नियन्त्रकहरूले डढेलो नियन्त्रण गर्न कठिन भएको बताएका छन् । अधिकारीहरुले डढेलोको चपेटामा परेकाको उद्धार गर्न नसकिएको जनाएका छन् ।

कतिपय मानिसले नजिकैको समुद्री क्षेत्रमा भागेर ज्यान जोगाएका हुन् । सयौं अग्नि नियन्त्रकहरु डढेलो नियन्त्रणमा खटिइरहँदा अधिकारीहरुले अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

ग्रिसले युरोपेली संघलाई डढेलो नियन्त्रणका लागि हेलिकोप्टर तथा थप अग्नि नियन्त्रक उपलब्ध गराउन सहयोग मागेको छ । इटली, जर्मनी, पोल्यान्ड र फ्रान्सले गाडी तथा अग्नि नियन्त्रक उपलब्ध गराएका छन् ।

एकै स्थानमा २६ शव भेटिएपछि ग्रिस रेडक्रसका प्रमुख निकोस इकोनोमोपोउलसले ‘उनीहरुले ज्यान जोगाउन कोसिस गरे पनि बालबालिकाका कारण असम्भव भएको देखिन्छ ।’

मन्त्रिपरिषदको आपतकालीन बैठकपछि बोल्दै ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले भने, ‘डढेलो नियन्त्रणका लागि गर्न सकिने सबै प्रयासहरू भइरहेका छन् । ग्रिसका लागि यो कठिन रात हो ।’ उनले सन् २००७ यताको भीषण आगलागी भएको जनाए ।

सिप्रासले ६ सयभन्दा बढी अग्नि नियन्त्रक तथा ३ सय दमकल तथा गाडीहरू डढेलो नियन्त्रणका लागि परिचालन गरिएको जनाए । सिप्रासले देशमा ३ दिने राष्ट्रिय शोकको घोषणासमेत गरेका छन् ।

अधिकारीहरूले एथेन्सको पश्चिममा रहेको किनेटा नगरका बासिन्दालाई घर छाडी अन्यत्र जान आग्रह गरेका छन् । डढेलो लागेसँगै उक्त क्षेत्रमा सडक यातायात अवरुद्ध भएको छ । रेल सेवा पनि आंशिक रूपमा रद्द गरिएको जनाइएको छ ।
धेरैजसो पीडितहरू एथेन्सको उत्तरपूर्वमा रहेको माटी गाउँस्थित समुद्री क्षेत्रको रिजोर्टमा गएका पर्यटकहरु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । डढेलोका कारण १ सय जनाभन्दा बढी घाइते भएका छन् । ती मध्ये ११ जना गम्भीर छन् । घाइतेमध्ये १६ बालबालिका छन् ।


सम्बन्धित शीर्षकहरु

संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा…

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

प्रतिकृयाहरू
...