Tuesday 1st September 2026

साउन १ गतेदेखि श्रमिकलार्इ न्यूनतम ज्याला – मन्त्री बिष्ट


तितोपाटी – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारलाई भरपर्दो, व्यवस्थित र सुरक्षित बनाउन थालिएको जानकारी दिएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफमा उनले रोजगारदाता र श्रमिकबीचको असल सम्बन्ध निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

मन्त्री विष्टले भने, “श्रम क्षेत्रमा देखापरेका विकृति र विसङ्गतिले अब उप्रान्त ठाउँ पाउने छैन, रोजगारलाई भरपर्दो, पारदर्शी र विश्वासयुक्त बनाइनेछ, स्वदेशमै सीपयुक्त जनशक्ति उत्पादन गर्ने कार्यलाई प्रभावकारी बनाइनेछ।”

आगामी साउन १ गतेदेखि श्रमिकको न्यूनतम ज्याला समेटिएको ऐन कार्यान्वयनमा आउने जानकारी दिँदै उनले देशमा रोजगारका आधार निर्माण नभएसम्म आफैँलाई चाहिने आवश्यक जनशक्ति पनि तयार हुन नसक्ने बताए।

मन्त्री विष्टले भने, “सीपयुक्त जनशक्ति उत्पादन गर्न र सरकार, निजी क्षेत्र तथा सहकारीमार्फत रोजगारीको आधार फराकिलो बनाउने काम शुरु गरिएको छ, रोजगारीका क्षेत्रलाई व्यवस्थित तुल्याउन अब लगातार सुधारको कार्यक्रम अघि बढाइनेछ, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत एक वर्षमा एक लाख युवालाई रोजगारी दिने गरी कार्यक्रम निर्माण भइसकेको छ, प्रदेश र स्थानीय तहसँग समन्वयन गरी रोजगारी प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनेछ। सात सय ५३ वटै स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापना गरिनेछ।

अहिले ४३ लाख युवा विभिन्न मुलुकमा रोजगारीका लागि विदेशिएको जानकारी दिँदै उनले सरकारको कर्तव्य भनेको युवालाई सुरक्षित राख्नु र रोजगारी दिलाउनु भएको बताए।
मन्त्री विष्टले भने, “रोजगारबाटै विकासको आधार तयार गर्नुपर्ने आवश्यकता छ, यदि हामीले सही ढंगले त्यसो गर्न सकेनौँ भने देश केही वर्षमा युवाविहीन अवस्थामा पुग्ने हुँदा सम्बद्ध मन्त्रालयसँग समन्वयात्मक भूमिकाबाटै रोजगारीका अवसर सिर्जनाका लागि व्यवस्थित कार्यविधि सार्वजनिक गरिनेछ। ”

धेरैभन्दा धेरै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारले कार्यक्रम अघि बढाउने जानकारी दिँदै उनले योगदानमा आधारित सुरक्षा कार्यक्रम एक वर्षभित्र कार्यान्वयनमा ल्याइनेछ भने। रासस


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...