Saturday 26th September 2026

एजेण्ट र म्यानपावरका कुरा पत्याउँदा साउदीमा अलपत्र, उद्धार गरिदिन आग्रह


उदयपुरको बेलका नगरपालिका–२ तपेश्वरीका भरतबहादुर पौडेल यतिबेला साउदी अरबबाट आफूलाई उद्धार गरिदिन हारगुहार गरिरहनुभएको छ । कम्पनीले तीन महिनाको तलब नदिएको र उद्धार गर्न नेपालबाट पहल गर्दा कामबाट निकालिदिएको भन्दै उहाँले उद्धार गरिदिन आग्रह गर्नुभएको हो ।

उहाँ ड्राइभरको कामका लागि एक लाख ३० हजार रुपैयाँ तिरेर ब्रोड वे ओभरसिजबाट साउदी जानुभएको थियो । म्यानपावरले उहाँसँग १८ सय रियाल तलब र ओभरटाइम पनि हुने सम्झौता गरेको थियो ।

तर साउदी पुगेपछि कम्पनीले ९ सय रियालको अर्को सम्झौतामा हस्ताक्षर गरायो । एक लाख भन्दा धेरै तिरेर गएका भरतबहादुर तत्काल फर्किन सक्ने अवस्था थिएन । त्यसैले काम गर्न थाल्नुभयो । साउदी पुग्ने बित्तिकै गाडी चलाउन पाउनुभएन ।

तीन महिनामा लाइसेन्स निकालेपछि गाडी चलाउन थाल्नुभयो । तर खाने बस्ने सुविधा केही दिएन । ‘आफूले कुदाउने गाडीमै सुत्थें अनि दिनभरीमा कसैले टिप्स दियो भने खान पाइयो नभए भोकै’ भरतले जिल्ला समन्वय समिति उदयपुरले सञ्चालन गरेको सूचना तथा परामर्श केन्द्रमा फोन गरेर भन्नुभयो ।

उहाँले एजेण्ट प्रकाश कार्कीलाई पनि नेपालमा भनेको सम्झौताको आधा मात्रै तलब पाएको भन्दै गुनासो गर्नुभयो । तर उनले सजिलै ड्राइभर भिसामा थोरै तलब भन्दा श्रम स्वीकृती नदिने भएकाले १८ सय रियालको सम्झौता पत्र बनाएको बताए ।

खानेबस्ने व्यवस्था नभएपनि आफूले गरेको कामको तलब पाइन्छ भन्ने आशामा हुनुहुन्थ्यो उहाँ । तर काम गरेको तीन महिना हुँदासम्म पनि तलब दिएन । उहाँले आफू समस्यामा परेको भन्दै उद्धारका लागि पहल गर्न परिवारलाई आग्रह गर्नुभयो । परिवारले भरतको उद्धार गरिदिन आग्रह गर्दै केन्द्रमा निवेदन दिएको छ ।

उद्धारका लागि निवेदन दिएपछि आफू घर फर्किन पाउँला भन्ने सोच्नुभएको थियो । तर कम्पनीले आफू बिरुद्ध नेपालमा उजुरी दिएको भन्दै कामबाटै निकालिदिएको छ । त्यति मात्रै होइन आफूलाई खतरा पो हुने हो कि भन्ने लागिरहेकाले आफूलाई जति सक्दा छिटो उद्धार गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।

उहाँले एजेण्ट र म्यानपावरले देखाएका ठूला सपना पत्याउँदा पनि समस्यामा परेको बताउनुभएको छ । भरत भन्नुहुन्छ ‘पैसा कमाउन साउदीमा सजिलो हुन्छ भनेर म आएको होइन तर दुःख सहनुको पनि सीमा हुन्छ । मेरो दुःखको सीमा नै छैन ।’
साभार उज्यालो अनलाइन


सम्बन्धित शीर्षकहरु

देशभर लगातार वर्षा भइरहेका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। मौसमविद्हरूले आगामी दुई दिन पश्चिमी क्षेत्रमा अझ धेरै…

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ…

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

प्रतिकृयाहरू
...