Thursday 14th May 2026

साउदी अरेवियामा महिलाले अाजबाट ड्राइभिङ गर्दै


तितोपाटी – साउदी अरेबिया महिलाहरूलाई सवारी साधन चलाउन अनुमति दिने विश्वको अन्तिम देश बनेको छ।

स्थानीय समय अनुसार मध्यरात एउटा शाही घोषणामार्फत उक्त प्रतिबन्ध हटाइएको घोषणा गरिएको थियो।

रूढिवादले जरो गाडेको साउदी अरेबियामा सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने घोषणाले महत्त्वपूर्ण सुधारको शुरूवात गरेको  संवाददाताहरू बताउँछन्।

यसलाई राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व गरिरहेको देशलाई आधुनिकीकरणतर्फ डोर्‍याउने एउटा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।

पछिल्लो परिवर्तनको घोषणा अघिल्लो सेप्टेम्बर महिनामा गरिएको थियो।

साउदी अरेबियाले यसै महिनाको शुरूमा पहिलो पटक महिलाको नाममा सवारी चालक अनुमतिपत्र जारी गरेको थियो।

यसअघि विश्वमा महिलाहरूलाई सवारी साधन चलाउन नदिने साउदी अरेबिया एकमात्रै देश थियो।

परिवारहरूले महिला नातेदारका लागि निजी गाडी भाडामा लिने अभ्यास त्यहाँ रहेको थियो।

झण्डै ३० लाख महिलाले नयाँ स्वतन्त्रताको उपभोग गर्ने अपेक्षा गरिएको छ।

बीबीसीका एक मध्यपूर्व विश्लेषक भन्छन् उक्त अधिकारको पक्षमा वकालत गर्ने धेरै महिला अधिकारकर्मीहरूलाई अघिल्लो महिना थुनामा राखिएकाले सवारी साधन चलाउन पाउने अधिकारको कार्यान्वयन शुरूमै छायामा परे जस्तो देखिन्छ।

अधिकारवादी संस्था एमनेस्टी इन्टरनेश्नलका अनुसार कम्तीमा आठजना महिलाहरू थुनामा छन् र उनीहरूलाई प्रतिआतंकवादसम्बन्धी अदालतमा अभियोग दायर गरिनसक्छ।

अवाज उठाएबापत उनीहरूलाई लामो जेल सजाय समेत हुनसक्ने अधिकारवादी संस्थाहरू बताउँछन्।

एमनेस्टीले हालपनि पुरूष अभिभावकत्वको प्रथा कायम रहेको साउदी अरेबीयामा अरू बृहत् सुधारका कदमहरू चाल्न पनि भनेको छ।

महिलाहरूलाई सवारी चलाउनुपर्ने अधिकार दिइनुपर्ने मागसहित अधिकारवादी समूहरूले वर्षौँयता साउदीमा अभियानहरू चलाएका थिए।

सवारी चलाएकोमा सन् १९९० मा रियादबाट दर्जनौँ महिलाहरूलाई पक्राउ गरिएको थियो।

केही महिलाहरूले आफूले सवारी चलाएका भिडिओहरू सन् २००८ र सन् २०११ देखि सन् २०१४ को बीचमा पोष्ट गरेका थिए।

अब हजारौँ महिलाले सडकमा सवारी साधन गुडाउने ठानिएको छ।

साउदीकी एकजना टेलिभिजन प्रस्तोता सबिका अल दोसारीले एएफपी समाचार संस्थालाई भनिन्, “यो प्रत्येक साउदी महिलाका लागि ऐतिहासिक दिन हो।”

उनले सवारी चलाउन प्रतिबन्ध खुलेको केही मिनेटभित्रै आफूले गाडी चलाएको पनि बताइन्।

जुन ५ तारिखमा १० जना महिलाहरूलाई पहिलो पटक साउदी अरेबियाले सवारी चालक अनुमतिपत्र जारी गरेको थियो।

यो प्रतिबन्ध खुल्ला हुँदासम्म त्यसरी अनुमतिपत्र पाइसकेका महिलाको संख्या करिब दुई हजार पुग्ने अधिकारीहरूले अपेक्षा गरेका थिए।

साउदी अरेबियाका महिलाहरू अझै पनि यात्रा गर्न, सम्बन्ध विच्छेद गर्न वा पुरुष नातेदारको सहमति बिना जेलबाट समेत बाहिर निक्लन स्वतन्त्र छैनन्।

-बीबीसी नेपाली बाट


सम्बन्धित शीर्षकहरु

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले इरान युद्धका कारण विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता देखाउँदै भारतीय नागरिकलाई पेट्रोल, डिजेल र खाद्य…

कुवेतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट आधिकारिक अनुमति नपाएका एयरलाइन्सहरूसँग टिकट बुकिङ वा आरक्षण नगर्न यात्रुहरूलाई चेतावनी…

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

प्रतिकृयाहरू
...