Thursday 21st June 2018

भीअार्इपीलार्इ बडिगार्डः सुरक्षा कि शान ?


बबिता बस्नेत – सोसियल मिडियामा अहिले तीनवटा भिडियो एकैसाथ भाइरल भइरहेका छन्, नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटले आफ्नो कार्यालयमा कफी पोखिएपछि आफैँले मोप्ट लगाएर सफा गरेको दृश्य, अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफू राष्ट्रपति हुँदा हवाईजहाजबाट निस्किँदै गर्दा पानी परेपछि आफूले छाता ओढेको र आफू भिजेर अरूलाई छाता ओढाएको दृश्य र हाम्रा पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई हिँडिरहेको बेला सुरक्षाकर्मीले छाता ओढाइरहेको दृश्य ।

विभिन्न पदीय दायित्वमा पुगेका नेपालका नेतालाई उहाँहरूका बडिगार्डका रूपमा रहेका राज्यका सुरक्षाकर्मीले छाता ओढाएको दृश्य पहिलोपटक सार्वजनिक भएको होइन । तर, नेता रवीन्द्र अधिकारीबाट जनताले फरकखालको व्यवहारको अपेक्षा गरेका कारण यो बढी चर्चामा आएको हो । यसअघि नेता प्रचण्डलाई पोखरा एयरपोर्टमा तत्कालीन डीआईजी पार्वती थापाले छाता ओढाएको दृश्य निकै चर्चित बनेको थियो । उनी बडिगार्ड नभएर उक्त क्षेत्रकी प्रहरी प्रमुख थिइन् ।

भीभीआईपी र भीआईपीको सुरक्षाका लागि विश्वमै सुरक्षाकर्मी परिचालन गर्ने प्रचलन छ । सुरक्षाको संवेदनशीलतालाई हेरेर कहीँ धेरै कहीँ थोरै सुरक्षाकर्मी खटाइन्छ । युरोपमा सुरक्षा थ्रेट कम भएका कारण मन्त्रीहरू सुरक्षाकर्मी साथमा नराखी हिँड्छन् । यहाँ जस्तो टाँ टाँ टीँ टीँ साइरन पनि त्यहाँ हँुदैन । कति मन्त्रीहरू त साइकलमै कार्यालय–घर गर्छन् । विकसित मुलुकका नागरिक भएकाले उनीहरू कसैलाई शान देखाइरहनुपर्ने आवश्यकता पनि ठान्दैनन् ।

दक्षिण एसियामा सुरक्षा थ्रेट छ, विशेषगरी भारत र पाकिस्तानमा यसप्रकारको तामझाम बढी नै हुन्छ, गर्नुपर्ने आवश्यकता पनि छ । सुरक्षा थ्रेट पनि यतिसम्म कि आफ्नै बडिगार्डबाट राजनेताहरू मारिएका छन् । इन्दिरा गान्धी यसको उदाहरण हुन् । जुल्फिकर अली भुट्टोदेखि बेनजिर भुट्टोसम्म महात्मा गान्धीदेखि राजीव गान्धीसम्मको हत्या भएबाट यी मुलुकमा भीआईपीलाई सुरक्षा थ्रेटको अन्दाज गर्न सकिन्छ । अन्य दक्षिण एसियाली मुलुकमा पनि कुनै न कुनै रूपले सुरक्षा चुनौती छ भन्ने नै मान्नुपर्ने हुन्छ । नेपालको सन्दर्भमा त्यति धेरै चुनौती छैन, तर छँदै छैन भन्न सक्ने अवस्था पनि होइन । त्यसैले नै हाम्रा भीभीआईपीहरूले डफ्फाका डफ्फा सुरक्षाकर्मी लिएर हिँड्ने गरेका छन् ।

सबैभन्दा धेरै सुरक्षाकर्मी लिएर हिँड्ने नेता प्रचण्ड हुन् । उहाँको सुरक्षामा सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी तीन दर्जनजति सुरक्षाकर्मी खटिएका छन् । यद्यपि सुरक्षा भन्ने कुरा हातहतियारबाट सुसज्जित सुरक्षाकर्मीको सङ्ख्या नभएर अनुभूति हो । प्रधानमन्त्री र मन्त्रीहरूलाई नेपाली सेनाले सुरक्षा दिन्छ, साथमा आवश्यकताअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू रहन्छन् । हामीकहाँ सुरक्षाका लागि खटिएका प्रहरीले सुरक्षा मात्र होइन, अन्य धेरै काम गर्ने गरेका छन् । भीभीआईपी या भीआईपीका कपडामा आइरन लाउने, खाना बनाउने, घर सफा गर्नेलगायतका काम गर्दै आएका छन् । सम्बन्धित व्यक्तिको मात्र नभएर परिवारका सदस्यहरूको समेत सेवा गर्दै आएको पाइएको छ । जुन कामका लागि नेपालीले सुरक्षाकर्मीका नाममा ट्याक्स तिरेका हुँदैनन् । आफ्नो देशको राष्ट्रिय र आन्तरिक सुरक्षा मजबुत होस् भनेर जनताले तिरेको ट्याक्सबाट चलेका सुरक्षाकर्मीको दुरुपयोग हुने देशमा शायद नेपाल अग्रपङ्क्तिमै पर्छ ।

सुरक्षाकर्मी अघिपछि लगाएर हिँड्नुलाई हामीकहाँ सुरक्षाभन्दा पनि शानको रूपमा लिने गरिएको छ । भीआईपीका लागि सुरक्षा दिन गृह मन्त्रालयले मापदण्ड तोकेको छ । तीनवटै सुरक्षा निकायबाट मापदण्डअनुरूप सुरक्षाकर्मीहरूको व्यवस्था गर्नुपर्ने भए पनि मापदण्डको खासै ख्याल गरेको पाइँदैन । झट्ट हेर्दा नेताले मात्रै लिएजस्तो लागे पनि विशिष्ट श्रेणीका पूर्वकर्मचारीहरू (रक्षा र गृहका), प्रहरीका पूर्वअधिकारीहरूलगायतले पनि घरमा सुरक्षाकर्मी राख्ने गरेका छन् ।

आफ्नो देशको राष्ट्रिय र आन्तरिक सुरक्षा मजबुत होस् भनेर जनताले तिरेको ट्याक्सबाट चलेका सुरक्षाकर्मीको दुरुपयोग हुने देशमा शायद नेपाल अग्रपङ्क्तिमै पर्छ । सुरक्षाकर्मी अघिपछि लगाएर हिँड्नुलाई हामीकहाँ सुरक्षाभन्दा पनि शानको रूपमा लिने गरिएको छ ।

कतिपय अवस्थामा भीआईपीको सुरक्षामा खटिन पुगेपछि सुरक्षाकर्मी आफैँले व्यक्तिगत कामहरू गरेर प्रभावित बनाउने र आफूले चाहेको नियुक्ति, बढुवा, विदेश मिसनलगायतका फाइदा लिने प्रचलन पनि छ । कतिलाई चाहिँ सुरक्षा थ्रेटवाला मापदण्डमा नपरे पनि प्रहरीका हाकिमहरूले हजुरलाई सुरक्षा आवश्यक छ हजुर, सबै म मिलाउँछु भन्दै चाकडीस्वरूप पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) पठाउने गरेका छन् । कतिले चाहिँ प्रहरीका हाकिमलाई प्रभावमा पारेर यसप्रकारको सुविधा लिने गरेका छन् ।

भीआईपीका लागि खटिने गरेका नेपाली सेनाका सुरक्षाकर्मी ६ महिनामा अनिवार्य रूपले परिवर्तन हुने गरे पनि प्रहरी भने वर्षौँवर्ष पनि एउटै मानिसकहाँ बस्ने गरेका छन् । यसरी परस्पर हितका लागि लेनदेनझैँ गरी ‘म्युचियल बेनिफिट’का आधारमा सुरक्षाकर्मीहरूको प्रयोग हँुदै आएको छ ।

भीआईपीका सुरक्षागार्डले छाता ओढाउन मिल्ने कि नमिल्ने ? के मानिस पदमा पुग्नासाथ छाता नै ओढ्न नसक्ने गरी ठूलो मान्छे हुन्छन् ? छाता ओढाउँदा या ब्याग, ज्याकेटलगायतका सामान बोकिदिँदा उनीहरूले आफूलाई ‘स्पेसल’ ठान्दै गर्दा जनताले के भन्लान् भन्ने सोच्दैनन् ? बडगार्डको काम सुरक्षा दिने हो कि छाता ओढाउँदै हिँड्ने हो ? छाता ओढाइरहेका बेला भीआईपीलाई कसैले आक्रमण ग¥यो भने त्यसको प्रतिकार कसरी गर्ने ? उनीहरूको ध्यान सुरक्षातिर होला कि कता पानी परेको छ भनेर टाउको ओताउने र पानीबाट कपडा जोगाउनेतिर होला ? प्रश्नहरू धेरै छन् । यस्ता कुरा सर्वसाधारणले होइन, सुरक्षाकर्मी र सम्बन्धित भीआईपीले सोच्नुपर्ने हो । भीआईपी कसैलाई रहर भए छाता ओढाउने, जुत्ता बोक्ने मान्छे राख्न सक्छन्, तर त्यसका लागि जनताको ट्याक्सबाट चलेका राज्यका सुरक्षाकर्मी होइन आफैँले पैसा तिरेर व्यक्तिगत सहयोगीहरू राख्नुपर्ने हुन्छ ।

भीआईपीको सुरक्षा संवेदनशील कुरा हो । यसप्रकारको सुरक्षामा खटिने सुरक्षाकर्मीको शारीरिक तन्दुरुस्ती, हेर्ने, सुन्ने क्षमताका साथै ड्राइभिङको ज्ञान र लाइसेन्स भएको हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । यदि गाडीमा रहेका बेला ड्राइभरमाथि आक्रमण भएको खण्डमा बडिगार्डले नै गाडी चलाएर सुरक्षित स्थानतर्फ लान सक्ने हुनुपर्छ भनिन्छ । तर, हामीकहाँ त परिवारका सदस्यका काम, भातभान्सा, लुगाफाटामा अल्झाउने गरिएको छ ।

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा सुरक्षाकर्मीले छाता ओढाएको प्रसङ्गमा सन् २०१३ मा नराम्ररी विवादमा आएका थिए । टर्कीका प्रधानमन्त्री रेसिप एर्डोगान अमेरिकाको भ्रमणमा रहेका बेला ह्वाइटहाउसअगाडि खुल्ला ठाउँमा दुई नेताहरूको अफिसियल सम्बोधन भइरहँदा पानी परेपछि दुवै नेतालाई उनीहरूको सम्बोधन नसकिउन्जेल सुरक्षाकर्मीले छाता ओढाएका थिए । वासिङ्टन पोस्टमा उक्त तस्बिर छापिएपछि युनिफर्मको दुरुपयोग गरेको भनी राष्ट्रपतिको व्यापक विरोध भयो । यतिसम्म कि भीभीआईपीको सुरक्षा प्रवद्र्धन गर्ने निकायका प्रवक्ताले स्पष्टीकरणनै दिनुप¥यो । स्पष्टीकरणमा पानी परिहाल्यो भने छाता तयार गर्नु भनेर राष्ट्रपतिले पहिल्यै निर्देशन दिनुभएकाले त्यस्तो काममा सुरक्षाकर्मीको प्रयोग भएको बताइएको थियो ।

उक्त घटनालाई त्यतिबेला ‘डिस रेस्पेक्ट, इनकसिडरेट र क्लासलेस’ भनी टिप्पणी गरिएको थियो । अमेरिकी नागरिकले राष्ट्रपतिलाई सम्बोधन गर्दै ‘मिस्टर प्रेसिडेन्ट, छाता ओढाउनका लागि युनिफर्म लगाएका राज्यका सुरक्षाकर्मी होइन आफ्ना निजी सहयोगीको प्रयोग गर’ भनी इमेलमार्फत पत्राचार र मिडियामार्फत सन्देश फैलाइएका थिए ।



Share The News :
सम्बन्धित शीर्षकहरु

तितोपाटी - इण्डोनेसियाको सुमात्रा टापुमा रहेको तोवा तालमा डुंगा डुब्दा १८० भन्दा बढी मानिस हराइरहेका छन् । इदको बिदा मनाउन गएकाहरु…

तितोपाटी - धेरै मानिसहरु आफ्नो पार्टनरको यौन व्यवहारबाट सन्तुष्ट हुँदैनन् । कसैमा शारीरिक समस्या हुन्छ त कसैमा मानसिक समस्या । लिंगको…

तितोपाटी - नेपाल प्रेस काउन्सिलले विदेशबाट चलाइने फेसबुक, ट्वीटरको अनुगमन गर्ने भएको छ । प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्रय, राष्ट्रियता, ब्यक्ति…

प्रतिकृयाहरू