Friday 19th April 2024

महिलामा भन्दा पुरूषमा बाँझोपन धेरै


दिपेन्द्र रार्इ

लिंग : पुरुष ।
उमेर : ५२ ।
पेसा : शिक्षण ।
वैवाहिक अवस्था : विवाहित ।
श्रीमती : चार ।
कान्छी श्रीमतीको उमेर : १८ ।
पहिलो, दोस्रो र तेस्रो श्रीमतीबाट सन्तानसुख नभएपछि एक शिक्षकले चौथोपटक बिहे गरे । बाँझोपनबारे चेक–जाँच नगरे पनि आफू ठीक भएको धादिङे शिक्षकको जिकिर थियो । चिकित्सकले चेक–जाँच गर्दा उनको शुक्रकीट नै थिएन ।

चौथो बिहे गर्ने शिक्षकको बाँझोपनले तीन÷तीन श्रीमतीलाई कत्ति पीडा भयो होला ? पुरुषमा पनि बाँझोपन हुन्छ भनेर जनचेतना नहुँदा पारिवारिक विखण्डन भएको छ । कतिपय महिला घरबाट निकालिएका छन् । कतिपयलाई बाँझी भनेर घरमा गरिने शुभकार्यबाट टाढै रहन सुझाइन्छ । बाँझोपनले निम्त्याएको पारिवारिक विखण्डन र तनाव डरलाग्दो देखिन्छ ।

नेपालमा १५ प्रतिशत महिला र पुरुषमा बाँझोपन देखिएको छ । बाँझोपन हुनुका दुई कारण छन् । पहिलो कारण– महिला हुन्छन् भने दोस्रो कारण– पुरुष । पछिल्लो समय महिलाभन्दा पुरुषमा बाँझोपन धेरै देखिएको छ ।

कारण ?

‘जीवनशैली नै हो,’ डा. तुम्ला शाहले भनिन्, ‘धूमपान, मद्यपान, खानपानलगायतले पुरुषमा बाँझोपन बढी देखिएको हो ।’

जीवनशैलीबाहेक पुरुषमा बाँझोपन हुनुका कारण उसको जनेन्द्रियमा ट्युमर, ‘सिस्ट’ छ भने शुक्रकीट बग्ने बाटो बन्द हुन्छ । त्यसो भएपछि शुक्रकीटको मात्रा कम हुन सक्छ । शुक्रकीट ठीक मात्रामा भए पनि ‘नर्मल’ नहुन सक्छ ।

किन त्यस्तो हुन्छ ?
सम्बन्धित पुरुषको पेसागत कामले असर पार्दोरहेछ ।

जस्तै ?

‘वाल पेन्टर, इलेक्ट्रिसियन, एक्स–रे, एमआरआईसँग सम्बन्धित रहेर काम गर्ने पुरुषको शुक्रकीटको मात्रा कम देखियो,’ डा. शाहले थपिन्, ‘शुक्रकीट ठीक छ भने एबनर्मल (डब्बल हेड, पुच्छर नभएको) शुक्रकीट पाइएको छ ।’

महिलामा चाहिँ ?
‘महिलामा बाँझोपन देखिनुका कारण पनि पुरुषको भन्दा फरक छैन,’ उनले प्रस्ट्याइन्, ‘सर्वप्रथम त जीवनशैलीसँग सम्बन्धित छ । उनीहरूले पनि धूपमान, मद्यपान गर्छन् ।’ त्यसबाहेक तनावले महिला र पुरुषमा बाँझोपन बढिरहेको हो ।

‘कतिपय महिलाको जन्मदै पाठेघर हुँदैन । कसैको पाठेघर सानो हुन्छ,’ महिलामा बाँझोपन देखिनुका अन्य कारण अथ्र्याउँदै उनले सुनाइन्, ‘जन्मदै पाठेघर नभएको र सानो भएकाको बालबच्चा हुँदैन ।’ महिलाको जनेन्द्रियमा संक्रमण भएमा सेतोपानी बग्ने, तल्लोपेट दुख्ने हुन्छ । त्यतिमात्रै होइन, ‘ट्युब’ (शुक्रकीट र डिम्ब मिलन हुने ठाउँ) ‘ब्लक’ हुन्छ । ‘ट्युब ब्लक’ भयो भने पनि गर्भ रहँदैन । गर्भ रहन ट्युब खुला हुनुपर्छ ।’

तनावले बाँझोपन
मानसिक तनावले पुरुषको शुक्रकीटको मात्रा घट्न सक्छ भने महिलाको हर्मोन ‘डिस्प्यारेन्स’ हुन्छ । तनावले महिलाको हर्मोनमा थुप्रै असर पारिरहेको हुन्छ । तनावले पुरुषको एन्ड्रोजिन हर्मोनमा समेत त्यत्तिकै असर पार्छ । हर्मोन कमीले पुरुषको शुक्रकीटको मात्रामा असर पारिरहेको हुन्छ ।
५०÷५० प्रतिशत कारणले महिला र पुरुषमा बाँझोपन देखिन्छ । गाउँ र सहर दुवैमा बाँझोपनको मात्रा उस्तै छ । सहरका जँचाउन आउँछन् । गाउँका आउँदैनन् । गाउँकालाई पुरुषमा पनि बाँझोपन हुन्छ भन्ने जानकारी छैन ।

पाठ्यक्रममै बाँझोपन
बिहेपछि वर्ष दिनसम्म परिवारनियोजन साधन प्रयोग नगर्दासमेत बालबच्चा पैदा भएन भने त्यसलाई बाँझोपन भनिन्छ । बाँझोपनबारे पाठ्यक्रममै समेट्नुपर्ने डा. शाहको मान्यता छ । त्यसो गर्न सकेमा बाँझोपनले निम्त्याउने डरलाग्दो अवस्था कम गर्दै लैजान सकिन्छ । बाँझोपन हुँदैमा आकाश खसिहाल्दैन । यसको उपचार नेपालमै सम्भव छ ।

उपचार पद्धति
पुरुषका सन्दर्भमा हर्मोनको कमीले शुक्रकीटको मात्रा कमी भए हर्मोन दिइन्छ । ‘उनीहरूलाई जीवनशैली परिवर्तन सल्लाह, सुझाव दिन्छौं,’ २२ वर्षदेखि बाँझोपन उपचारमा संलग्न डा. शाहले भनिन्, ‘तर, पेसा व्यवसाय परिवर्तन गर भन्न सक्दैनौं । चिकित्सकको सुझाव आत्मसात् गर्दा धेरैलाई सन्तानसुख भएको छ ।’

बाँझोपनको उपचार पद्धति महिला र पुरुष दुवैको उस्तै हुन्छ । उपचार पद्धतिभन्दा पहिले बाँझोपनका कारण पत्ता लगाइन्छ । पुरुष जनेन्द्रियमा ट्युमर वा सिस्ट छ भने शल्यक्रिया गर्नुपर्छ । शुक्रकीट बग्ने नली (भास) बन्द भएको हो भने शल्यक्रिया गरेर खोल्नुपर्छ ।

महिलाका सन्दर्भमा ‘ट्युब ब्लक’ छ भने शल्यक्रिया गरेर खोल्नुपर्छ । पाठेघरमा ट्युमर वा सिस्ट छ भने शल्यक्रिया गर्नैपर्छ । हर्मोन ‘डिसप्यारेन्स’ हो भने हर्मोन दिनुपर्छ ।

बाँझोपन भएका महिलाका हकमा सर्वप्रथम पाठेघरको आकार हेरिन्छ । ‘जेनरल कन्डिसन’ थाहा पाउनुपर्यो । त्यसपछि रक्तपरीक्षण, दिसा, पिसाब जाँच गरिन्छ । भिडियो एक्स–रे गरिन्छ । यसले मोटामोटी समस्या पहिचान हुन्छ । पाठेघर सानो वा जन्मदै पाठेघर नभएको थाहा हुन्छ । पाठेघर सामान्य वा ठूलो हो भने प्रस्ट हुन्छ । ट्युमर वा ‘सिस्ट’ उम्रेकोसमेत पत्ता लाग्छ । थाइराडड परीक्षण अनिवार्यजस्तै भएको छ । थाइराइडले समेत बालबच्चा जन्मदैन ।

त्यसपछि ‘ट्युब ब्लक’ छ कि छैन भनेर हेरिन्छ । पुरुषको शुक्रकीटको मात्रै एकदमै कम छ भनेमात्रै टेस्ट्युब बेबीमै जानुपर्छ ।

उपचार खर्च
कसैकसैलाई दुई÷चार सयको औषधि सेवन गराउँदै गर्भवती हुन्छन् भने कतिपयलाई १५÷२० हजार रुपैयाँ खर्चेर उपचार गराउँदा पनि सम्भव भइरहेको हुँदैन । उपचार खर्च प्रत्येक व्यक्तिमा निहित हुन्छ । उनको समस्याअनुसार औषधोपचार गर्नुपर्ने भएकाले त्यहीअनुसार खर्च हुन्छ । उदाहरणका लागि ‘ट्युब ब्लक’ छ भने शल्यक्रिया गर्दा खर्च हुने नै भयो । ट्युब ब्लक खोल्दा ल्याप्रोसकोपी सर्जरी गरे ३५ देखि ४० हजार र ओपन सर्जरी गर्ने हो भने २५ हजारजति लाग्छ । उपचार खर्च अस्तालअनुसार हुन्छ । उपचार सरकारी कि अस्पतालमा गराउने त्यसमा भर पर्छ ।

‘बाँझोपन उपचारका लागि पुरुष आउनै चाहँदैनन्,’ उनले खुसी व्यक्त गरिन्, ‘पछिल्लो समय पुरुष सकारात्मक देखिएका छन् । उनीहरू पनि चिकित्सकसँग परामर्श लिन थालेका छन् । सुखी परिवार क्लिनिकले बाँझोपन उपचारका लागि आउने महिलालाई श्रीमान् अनिवार्य उपस्थित गराउनुपर्ने प्रावधान छ । नत्र उपचार गरिँदैन । श्रीमान् श्रीमतीको जाँच गरेपछि समस्या कसको हो भन्ने पत्ता लगाउन सजिलो हुन्छ ।’

बाँझोपनले नेपाली महिला पीडित देखिन्छन् । ‘महिलाले महिलालाई सहयोग गरेका छैनन्,’ २५ हजारजनालाई सन्तानसुख दिएकी उनको एउटै सपना छ, ‘नेपाली महिला सबै आमा बनेको हेर्न, सुन्न र देख्न पाऊँ ।’


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...