Friday 26th April 2024

गरिब हुनुको पीडाः दुई महिनादेखि अस्पतालमै बन्धक


विराटनगर-उपचार गरे बापतको पैसा नतिरेको भन्दै विराटनगरको एउटा निजी अस्पतालले एक बिरामीलाई दुई महिना भन्दा बढी समयदेखि बन्धक बनाएर राखेको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का ५४ वर्षीय कूलबहादुर लिम्बूलाई विराटनगरको गोल्डेन अस्पतालले बन्धक बनाएर राखेको हो । 

बिरामीका आफन्तले अस्पतालले बन्धक बनाएर राखिरहेको भन्दै सहयोगका लागि विभिन्न सामाजिक संघ संस्थासँग हारगुहार गर्न थालेपछि घटना बाहिर आएको छ ।

अस्पतालले बाहिरका मान्छेलाई उनीसँग भेटघाट र गफगाफ गर्न नै प्रतिबन्ध लगाएको छ । गत फागुन २६ गते घाँस काट्ने क्रममा गोगुनको रुखबाट लडेर घाइते भएका उनको टाउकोमा चोट लागेको थियो ।

घर लान दिइएन

छोरा सुरेनका अनुसार लडेर घाइते भएपछि उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँबाट रेफर गरेपछि थप उपचारका लागि फागुन २७ गते गोल्डेनमा ल्याएका परिवारका सदस्यले उपचार ठिक भए पनि लामो समयदेखि कूलबहादुरलाई घर लैजान पाइरहेका छैनन् ।

गोल्डेनमा भर्ना गरेपछि चिकित्सकले मस्तिष्कमा रगत जमेका कारण तत्काल शल्यक्रिया गर्नु पर्ने सुझाव दिएको सुरेनले बताए । ‘शल्यक्रिया गर्नु पर्ने भन्दै अस्पतालले एक लाख १० हजार रुपैयाँ जम्मा गर्न भन्यो,’ उनले भने, ‘उक्त रकम जम्मा गरिदिएपछि त्यही दिन राति ११ः३० बजे बुवाको टाउकोको शल्यक्रिया भयो ।’ कूलबहादुरको शल्यक्रिया डा. सुदन ढकाल नेतृत्वको चिकित्सक टोलीले गरेको हो ।

शल्यक्रिया गरेर आईसियूमा राखिएका उनलाई त्यसको एक सातापछि जनरल वार्डको २५ नम्बर बेडमा सारिएको र त्यसको अर्को सातापछि नै उपचार ठिक भएको भन्दै अस्पतालले घर जान सल्लाह दिएर डिस्चार्ज गरिदिएको सुरेनले बताए ।

‘अस्पतालले उपचार बापतको बाँकी रहेको दुई लाख रुपैयाँ तिरेर बिरामी लैजान भनेपछि हामी समस्यामा प¥र्यौँ’, उनले भने, ‘अहिलेसम्म पैसा जुटाउन नसक्दा बुवालाई घर लैजान पाइएको छैन ।’

अहिले सम्ममा ५० हजार रुपैयाँ मात्रै भेला पार्न सकिएको र अस्पतालले त्यति रकम तिरेर बुवालार्ई घर लैजान नदिएको उनको गुनासो छ । लिम्बू परिवारले सुरुमा जम्मा गरेको एक लाख १० हजार रुपैयाँ बाहेक उपचारमा सरकारले दिएको सहुलिय बापतको एक लाख रुपैयाँ पनि अस्पतालले पाउने छ । त्यसका लागि प्रक्रिया भने पूरा भइसकेको अस्पतालले जनाएको छ ।

के छ सरकारी व्यवस्था ? 

‘हेड तथा स्पाइनल इन्जुरी’ मा विपन्न र गरिव बिरामीलाई सरकारले उपचारमा एक लाख रुपैयाँ सहुलियत प्रदान गर्दै आएको छ । त्यससम्बन्धी स्वास्थ्य निर्देशिकामा ‘हेड तथा स्पाइनल इन्जुरी’ भएका बिरामीको उपचार गरेको अस्पतालले सरकारसंग उक्त रकम लिनु पर्ने हुन्छ ।

यो सहुलियत प्रदान गरिएका बिरामीको शल्यक्रिया गर्नुपरेमा निजी अस्पतालले २५ हजार रुपैयाँ भन्दा बढी शुल्क लिन नपाउने नियम पनि छ ।

अस्पतालले लिम्बू परिवारलाई दिएको जानकारी अनुसार परिवारले जम्मा गरेको एक लाख १० हजार र सरकारबाट सहुलियत पाएको एक लाख बाहेक नै कूलबहादुरको उपचार गरे बापत दुई लाख रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

‘दुई साता अस्पताल राखेर बुवाको उपचार गराउँदा जम्मा चार लाख १० हजार रुपैयाँ खर्च भयो भनिएको छ,’ सुरेनले भने, ‘यत्रो धेरै पैसा कसरी भयो भन्दा स्पष्ट जवाफ पनि दिइएको छैन ।’

उनले पैसा नतिरे सम्म घर जान नपाउने भन्दै दुई महिना भन्दा बढी समयदेखि बुवालाई अस्पतालको तल्लो तलामा पनि झर्न नदिइकन बन्धक बनाइएको गुनासो गरे ।

‘पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालले भने जति पैसा तिर्न सकिएको छैन,’ उनले भने, ‘पैसा तिर्न नसकेकै कारण दुई महिनादेखि बुवा बन्धक बनिरहनु भएको छ ।’

सुरेनका अनुसार अस्पतालको बेडमा बस्दा दैनिक बेडको पैसा जोडेर हिसाव सुनाइन्छ । अस्पतालले बेड चार्ज बापत एक दिनको एक हजार तीन सय ५० रुपैयाँ लिने गरेको उनले बताए ।

‘बुवा दुई महिना अघिदेखि नै तन्दुरुस्त भएर हिँडडुल गर्न सक्ने भइसक्नु भएको थियो । चिकित्सकले पनि केही समस्या छैन भनेका छन्,’ उनले भने, ‘घुमफिरमा निस्कन नदिइ अस्पतालको माथिल्लो तलामा राखिएको छ । दैनिक बेड चार्ज बापतको पैसा भने बिलमा चढिरहेको छ ।’

सुरेनका अनुसार पैसा नतिरेसम्म बाहिर निस्किन पनि दिँदैनौ भनेर अस्पतालका कर्मचारीले रोक्ने गरेका छन् । ‘अस्पतालले भनेको पैसा तिरेर बुवालाई घर लैजान नसकेको पीडा एकातिर छ,’ उनले भने, ‘दैनिक रुपमा अस्पतालका कर्मचारी र गार्ड आएर विभिन्न गालीगलौज र हप्कीदप्की गर्दै धम्की दिएर मानसिक तनाव दिइरहेका हुन्छन् ।’

उनले उल्टै अस्पतालका कर्मचारीले पालैपालो आएर ठग र बेइमान भनेर आफूलाई र बुवालाई गाली गर्ने गरेको गुनासो गर्दै भने, ‘गरिव हुँदाको पीडा सहेर बसिरहेका छौं ।’

अस्पतालमै अधिकारकर्मी 

बन्धक बनाइएका बिरामीबारेमा बुझ्न सोमबार अस्पतालमै पुगेका उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले अस्पतालले बिरामीलाई बन्धक बनाएर पैसा असुल्ने योजना बनाएको बताए ।

‘उपचारका नाममा बिरामीसंग बढी रकम असुल्ने काम भइरहेको छ,’ उनले भने, ‘उपचार गराएको पैसा तिर्न नसकेको भन्दै बिरामीलाई नै बन्धक बनाएर राख्नु ठूलो अन्याय हो ।’

राज्यको कमजोरीको फाइदा उठाउँदै निजी अस्पतालले बिरामीलाई उपचारका नाममा ठग्ने र लुट्ने काम गरिरहेको आरोप लगाउँदै ढुंगेलले भने, ‘आर्थिक अवस्था कमजोर भएका गरिवले घर जग्गा र भएको सम्पत्ती सबै बेचिसक्दा पनि उपचार नपाउने रहेछन् । मापदण्ड मिचेर र नियम उल्लंघन गरेर संचालन भइरहेका यस्ता स्वास्थ्य संस्थामाथि सरकारले छानविन गरेर कारवाही अघि बढाउनु पर्छ ।’

अस्पतालका प्रशासन प्रमुख गोविन्द लुइँटेलले अस्पतालले बिरामीको उपचार निशुल्क गर्न नसक्ने जिकिर गरे । ‘यस्ता पैसा नभएका धेरै बिरामी उपचारका लागि आउँछन् । अस्पतालले सबैलाई कसरी छुट दिएर सक्छ ?’ उनले उल्टै प्रश्न गरे, ‘उपचारको पैसा नतिर्ने बिरामीलाई अस्पतालले घर जान नदिएको हो । हामीले धेरै पहिलेदेखि घर जानुस् भनेर भनिरहेका छौं । अस्पताललाई पैसा नदिइकन त्यत्तिकै छाड्न सकिँदैन ।’

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उपचार खर्च नतिरेको बहानामा बिरामीलाई लामो समयदेखि बन्धक बनाएर राख्ने अस्पतालमाथि तत्काल छानबिन गरेर कारवाही अघि बढाइने बताए ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...