Thursday 16th May 2024

सुन तस्करी र हत्या मुद्दामा फरार एसएसपी श्याम खत्रीले गर अात्मसमर्पण, अदालतद्वारा बयान सुरू


तितोपाटी – साढे ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीको बयान जिल्ला अदालत मोरङमा लिन सुरु गरिएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनको बयान जारी छ ।

उनको बयान सकिएपछि सरकारी वकिलका तर्फबाट थुनछेकको बहस हुनेछ । त्यसपछि खत्रीका कानुन व्यवसायीले बहस गर्नेछन् । खत्रीका तर्फबाट बहस गर्न अधिवक्ताहरु हेमराज पन्त र मदनकुमार पन्तले वकालतनामा दर्ता गराएका छन् ।

यो प्रकरणमा मुछिएपछि फरार रहेका खत्रीले अदालतमा बिहीबार बिहान आत्मसमर्पण गरेका थिए । उनी फरार भएपछि प्रहरी प्रधान कार्यालयले खोजीका लागि सर्कुलर जारी गरेको थियो । पारिवारिक स्रोतका अनुसार खत्री भारतको देहरादुनमा बसिरहेका थिए । सुनकै मुद्दामा काठमाडौंमा जारी अर्को मुद्दाको तारेख जेठ २४ गते परेकाले उनी आएको स्रोतले बताएको छ ।

एसएसपी खत्री २०७३ पुस २१ गते दुबईबाट विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए । २०७३ चैत ४ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

यो मुद्दामा पूर्व डिआइजी गोविन्दप्रसाद निरौलासहित यो मुद्दाका २८ प्रतिवादीलाई यसअघि नै अदालतले थुनामा राखी पुर्पक्ष गर्न आदेश दिइसकेको छ । उनीहरुलाई सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा राखिएको छ ।

त्यसबेला प्रहरी नियन्त्रणमा रहेका ३० प्रतिवादीमध्ये एसएसपी खत्रीको चालक रहेका प्रहरी जवान बिष्णुबहादुर खड्कालाई उनलाई जिल्ला अदालतले १५ हजार रुपैयाँ धरौटीमा रिहा गरिसकेको छ । खत्रीका अंगरक्षक अम्मरबहादुर थापालाई साधारण तारेखमा रिहा गरिएको थियो ।
जिल्ला न्यायाधिवक्ताको कार्यालय मोरङले बैशाख १९ गते १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै खत्रीसहित ६३ जनाविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।

यो प्रकरणका योजनाकार भनिएका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ को मिलेमतोमा हुने गरेको बयानमा बताएका थिए । आफू सुन तस्करीमा सहयोग गर्ने तल्लो तहको मानिस भएको भन्दै गोरेले आफूभन्दा माथिल्लो तहका सुन तस्करीका नाइके, प्रहरीका उच्च अधिकारी र राजनीतिक दलका ठूला नेता पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुने बयानमा उल्लेख गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...