Monday 12th October 2026

चीन र अमेरिकाको विवादको कारण एपेकको सम्मेलन संयुक्त घोषणापत्र बिना नै टुंगियो


तितोपाटी – पपुआन्युगिनीमा विश्वका नेताहरूको कटुतापूर्ण देखिएको एपेकको शिखर बैठक अन्ततः संयुक्त घोषणापत्र जारी नगरी समाप्त भएको छ । सम्मेलनमा सहभागी विश्वका दुई महाशक्ति राष्ट्रहरू चीन र अमेरिकाबीचको मतभेद फेरि सतहमा आएको छ । गिनीको पोर्टमोर्सबीमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को दुईदिने शिखर बैठक भएको थियो । बैठकमा एपेकका २१ सदस्य राष्ट्रका सरकारप्रमुखहरू र प्रतिनिधिहरूको सहभागिता थियो । अधिकारीहरूका अनुसार चीन र अमेरिकाबीच मुख्यगरी विश्व व्यापार संगठनको भूमिकाबारे उत्पन्न विवादले उग्ररूप लिएको थियो ।

सदस्यराष्ट्रको सहमतिमा सम्मेलनको अध्यक्षता गरेका पपुआन्युगिनीका प्रधानमन्त्री पिटर ओ–निलले अध्यक्षको वक्तव्य मात्र जारी गरेका थिए । ठूलो संख्यामा उपस्थित पत्रकारहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै ओ–निलले भने, ‘चीन र अमेरिकाबीचको तनावका कारण विश्व नै चिन्तित छ ।’ प्रधानमन्त्री ओ–निलले नेताहरूको विवादले संयुक्त घोषणापत्र सार्वजनिक हुन नसकेको र त्यसबाट आफूलाई व्यक्तिगत रूपमा दुःख लागेको बताए ।

एपेक स्थापनाको २९ वर्षमा पहिलोपटक नेताहरूले संयुक्त घोषणापत्र सार्वजनिक गर्न नसकेको बताइएको छ । विश्व अर्थतन्त्रको करिब ६० प्रतिशत हिस्सा यही समूहको नियन्त्रणमा छ ।

एपी समाचार एजेन्सीका अनुसार फेला पारेको मस्यौदा घोषणापत्रमा चीनको अनुचित व्यापारिक अभ्यासका विरुद्धमा कडा शब्द राख्नुपर्ने अमेरिकी माग थियो । तर, चीनले भने अमेरिकी संरक्षणवादको विरोध गर्न चाहेको थियो ।

यसै वर्ष मात्र संयुक्त राज्य अमेरिकाले २५० अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा करवृद्धि गरेको छ । प्रतिशोधस्वरूप चीनले पनि अमेरिकी वस्तु तथा सेवामा करवृद्धि गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सम्मेलनका क्रममा व्यापारबारे भिन्न धारणा आउने कुरामा आफूलाई आश्चर्य नलागेको बताए ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्स र चिनिया राष्ट्रपति सी जिनपिङले शनिबारको उदघाटन समारोहमा सम्बोधन गर्दा एक–अर्काप्रति आक्षेप लगाएका थिए ।

उपराष्ट्रपति पेन्सले सी र चीनप्रति सहानुभूति राखे पनि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमाथि बौद्धिक सम्पत्ति चोरी गरेको, जबर्जस्ती प्रविधि हस्तान्तरण गरेको तथा अनुचित व्यापारिक शैली अपनाएको आरोप लगाएका थिए । उनले विकासशील मुलुकहरूलाई पूर्वाधार निर्माणका नाममा ऋण दिएर चीनले अरू देशलाई ऋणको जालोमा पारेको आक्षेपसमेत लगाए ।

राष्ट्रपति सीले अमेरिकी संरक्षणवादले पारस्परिक सहयोगलाई रोकेको बताए । उनले दोस्रो विश्वयुद्धपछि स्थापित विश्व व्यापार संगठनलाई आफ्ना निहित स्वार्थी एजेन्डा पूरा गर्ने संस्थाका रूपमा हेर्न नहुने बताए ।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...