Monday 24th August 2026

मलेसियाको जेलमा रहेका नुवाकोटका घलेलार्इ उद्दार गरिदिन सरकारसँग परिवारको अाग्रह


तितोपाटी – मलेसियाको जेलमा रहेका नुवाकोटको मेघाङ गाउँपालिका–१ बसुञ्चेतका हरिबहादुर घलेलाई छुटाउनका लागि पहल गर्न नेपाल सरकारसमक्ष परिवारले आग्रह गरेका छन् । हाल त्यहाँको जेलमा रहेका ३८ वर्षीय घलेलाई गत कात्तिक ४ (सन् २०१८ अक्टुबर २१) मा पुनः १३ वर्ष आठ महिना कैद सजाय थपिएपछि त्यसलाई मिनाहाका लागि पहल गर्न परिवारले सरकारसमक्ष सहयोगको अपिल गरेका हुन् ।

मलेसियामा लागुऔषध कारोवारी कसुरमा १५ वर्षअघि पक्राउ परेका ३८ वर्षीय घलेलाई त्यहाँको अदालतले दोषी ठहराएपछि उनी हाल जेलजीवन बिताउँदै आएका छन् । २०६० साल जेठ १६ (सन् २००३ मे ३०) मा कार्यरत कम्पनीबाट बिदामा घर फर्कने क्रममा बास बसेको होटलबाट पक्राउ परेका घलेलाई लागुऔषध ओसारपसार अभियोगमा शुरुमा मृत्युदण्ड सुनाए पनि हाल २० वर्षको कैद भुक्तानी गर्दै आएको उनको बहिनी सरला घलेले बताइन् ।

उनका अनुसार हरिबहादुरलाई सन् २००९ नोभेम्बर २६ मा मलेसियाको हाइकोर्ट (जालन उच्च न्यायालय)ले मृत्यु दण्डको सजाय सुनाएको थियो । त्यसविरुद्ध नेपाली दूतावासले गरेको अपिललाई त्यहाँको सर्वोच्च अदालतले २०६९ साल असोज १० मा मृत्युदण्डको सजायलाई नै सदर गरिदिएको थियो ।

‘सर्वोच्चले ३५ दिनभित्र मृत्युदण्ड दिन आदेश दिए पनि नेपाल सरकारको आग्रहले त्यहाँको राजाले २० वर्ष कैद सजायमा रुपान्तरण गरेर न्यायको अनुभूति मिलेको थियो’ सरलाले भनिन्, ‘अबदेखि लागू हुने गरी थप १३ वर्ष आठ महिना जेल सजाय तोकिएकाले त्यसलाई मिनाहाका लागि पहल गर्न नेपाल सरकारसमक्ष आग्रह गर्दछौँ ।’

हरिबहादुरलाई यसअघि मृत्युदण्डको सजाय रोकेका त्यहाँका राजा प्रमुख रहेको पार्डन बोर्डको आदेशको पुनरावेदनको क्रममा थप कैदको आदेश सुनाइएको हो । उक्त थप आदेश सरकारको पहल सार्थक भएमा मिनाहा हुने उनको विश्वास छ । पार्डन बोर्डलाई अदालतको आदेश कार्यान्वयन गराउने अन्तिम न्यायिक निकाय मानिन्छ ।

यसअघि उक्त बोर्डले तोकेको २० वर्ष कैद पक्राउ परेको मितिबाट भुक्तानी गर्न करीब चार वर्ष मात्र बाँकी छ । तर हाल थप गरेको सजायको कैदको माफीका लागि नेपाल सरकारबाट पहल भए त्यो सुविधा पाउने व्यवस्था रहेको भन्दै पीडित परिवारले सहयोगको अपिल गरेका छन् ।

हरिबहादुरसँगै पक्राउ परेका नुवाकोट किम्ताङका साजन गुरुङको हिरासतमा रहँदा विसं २०६६ माघ ६ (सन् २०१० जनावरी २०) मा मृत्यु भइसकेको छ । उनीहरुलाई नेपाल घर बताउने गणेश तामाङ भन्ने व्यक्तिले होटलमा आएर झोला राख्न दिएलगत्तै प्रहरीले छापा मार्ने क्रममा पक्राउ परेका थिए । गणेश हालसम्म फरार छन् ।

हरिबहादुर मलेसियाको जेलमा परेपछि पीडित बनेको परिवारका सदस्यहरु बुबा मेघबहादुर, आमा जमुरानी, बहिनी मीनकुमारी र हजुरबुबा धनबहादुर घलेको पनि यो अवधिमा मृत्यु भइसकेको छ । एकपछि अर्को बज्रपातले परिवारमा शोकमा रहेको सरलाले बताइन् ।

हरिबहादुर जेल परेपछि उनको श्रीमतीले पनि छोरी झरनालाई छोडेर अर्कैसँग विवाह गरिसकेकी छिन् । हाल झरना त्रिशुलीस्थित मामाघरमा बसेर स्नातक तहमा अध्ययनरत छिन् । ‘बुबाको अनुहार कस्तो थियो, प्रत्यक्ष देख्न पाएकी छैन’ झरनाले भनिन्, ‘फोटो हेरेर बुबा फर्कने दिन पर्खदै छु, सरकारले पहल गरे चाँडै देख्न पाउने आशा छ ।’

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले देशभर शोक र आक्रोश फैलाएको छ। बालिका हराएको…

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई…

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै…

प्रतिकृयाहरू
...