बिश्वास खड्काथोकी – लागेको थियो, ‘अब बुद्धमाया विश्वकर्माबारे कुनै नराम्रो समाचार लेख्नुपर्ने छैन ।’ तर, न्याय पाएपछि पनि समाजको थप बहिस्करणलाई सहन नसकी विष सेवन गर्न बाध्य बद्धमायासँग ग्रीनसिटी हस्पिटलपछिको अर्को भेट मानसिक अस्पताल पाटनको बेड नम्बर–४२ मा भयो । र, अर्को समाचार बन्न आइपुगिन्, बुद्धमाया ।
बुद्धमाया आजभन्दा साढे दुई महिना पहिले जुन कुर्तामा थिइन्, अहिले पनि उही कुर्तामा छिन् । हरियो कुर्ताको फुलबुट्टे गला उनलाई नसुहाए झैं लाग्छ । कुर्ता झोल्लिएर कुमका हड्डी उठेका छन् । अनुहार झन् झन् ओइलिएको सागजस्तो । उनी लयमा अाएकी छैनन्। एक्लै बर्बराउँछिन्, ‘मलाई किन थुकेको, किन गिल्ला गरेको ? मेरो गल्ती भए जेल गएर बस्छु । यस्तो नगर मलाई ।’ अनि फेरि रुन्छिन्, बेडबाट उठेर भाग्न खोज्छिन् ।
छेउमै बसेका छन्, सुसारे ४५ वर्षीय श्रीमान् रामबहादुर बिक । उनले च्याप्प समाउँछन् । उनको अनुहार देख्दा लाग्छ, त्यहाँ कुनै उत्साहपूर्ण सपना लुकेका छैनन् त्यहाँ । बरु उनको छाला छेडेर निस्किएको गालाको हाडले भन्छ, किन कसैको जिन्दगी यति कठोर र कस्टकर हुन्छ ?
रामबहादुर टाउकोलाई माथि फर्काएर भन्छन्, ‘आउँदा चारपाथी चामलबाहेक केही थिएन घरमा । घरमा दुईवटी स्कुले छोरी छन् । अलि अस्ति फोन गरेर चामल सकियो भन्दै थिए । खै हजुर, के खाएर बसेका होलान् । विजोग छ हजुर ।’
जब धारामा विभेद भयो
१५ वैशाखको बिहान रित्तो गाग्री बोकेर धारामा पुगेकी छोरी मनिषा कुटिएर फर्किइन् । छोरी कुटिएको कारण खोज्न कमला गिरिको घरमा पुगेकी बुद्धमायालाई कमला र भान्जा रामबाबु दाहालले फेरि कुट्न थाले । उनी भन्दै थिए, ‘कमिनी भएर हाम्रो पानी छुने ?’
वरिपरि भेला भएका गाउँले चुँसम्म बोलेनन् । अर्को गाउँको आएर छुट्याए । बुद्धमाया न्याय माग्न बल्ल तल्ल अदालत पुगिन् । २४ असारमा अदालतले कमलालाई ६ महिनाको कैद सजाय, १० हजार जरिवाना र ५० हजार क्षतिपूर्ति तथा रामबाबुलाई तीन महिना कैद सजाय सुनायो ।
तर, गाउँको अदालतले अर्कै फैसला गर्याे । नाकाबन्दीमा परिन् बुद्धमाया । अनि अर्को दिन सम्पूर्ण विभेदबाट मुिक्त पाउन उनले विष सेवन गरिन् ।
काठमाडौंमा उपचार भयो । मुटुमा प्वाल थियो, त्यो पनि गंगालाल हृदयरोग केन्द्रले टालिदियो । अनि छोरासँग बसको यात्रा गरेर महोत्तरीको बर्दिवास पुगिन् ।
काठले बारेको त्यो भूँइईतले सानो झुप्रोसँग दुई महिनापछि भेट भयो उनको । पोखरामा ज्यामी गर्दै नयाँ बन्ने घरका इँटामा जीवनको सपना कँद्ने श्रीमान घर कुरुवा थिए । श्रीमतीलाई देखेपछि घरमा अन्न नभए पनि रामबहादुरले सुविस्ताको सास फेरे ।
तर, बुद्धमाया ? उनले त घर टेकेको तेस्रो दिनदेखि अर्कै दुनियाँको दैनिकी तय गरिन् । अस्पतालमा लडिरहेकी बद्धमायाको कपडा मिलाउँदै रामबाबु बोल्न त्यो दिन सम्झना थाल्छन्, ‘उठेर दौडन्छे । रुन्छे । जहिले म जेल जान्छु भन्छे, मेरो गल्ती भयो भन्छे ।’
श्रीमानले निकै स्याहार गरेको देखेर बुद्धमायातिर फर्कदै हामीले सोध्यौं– ‘श्रीमानले खुब माया गर्नुहुन्छ जस्तो छ नि तपाईलाई ?’ बुद्धमाया फिक्का हाँसिन् र भनिन्, ‘खै गर्छ होला अलि अलि ।’
फेरि सोध्यौं, ‘तपाईलाई चाहिँ कसको धेरै माया लाग्छ नि ?’ श्रीमानतिर हेर्दै सानो उनको मुखबाट मधुरो स्वर निस्कियो, ‘छोराछोरीको ।’ यतिबेला सामान्यजस्तै थिइन् बुद्धमाया । यही मेसोमा थप सोध्यौं– ‘के अब त्यो घरमा बस्न सक्नुहुन्न ?’
उनी गम्भीर मुद्रामा खुलिन्, ‘टेक्न त सक्छु । तर, जहिल्यै मान्छेहरु आएर लखेटिरहन्छन् । कानमा आएर झ्याउझ्उ गर्छन् । गिल्लाउँछन् । घरमा होइन बारीमा जाँदा पनि त्यस्तै हुन्छ ।’ घर अगाडि सानो सुर्का छ उनीहरुको ।
गरीबीमाथि प्रहार
घरमा बुद्धमायाको हालत खराब हुँदै गयो, यता गाउँको हालखबर पनि ठीक थिएन । गाउँमा त्यस्तै १०/१२ घरको गैर दलित बस्ती छ । उनीहरु न बुद्धमायासँग बोल्छन् र उनको परिवारसँग । कतै बाटोमा भेट्यो भने आँखा टरेर हिँड्छन् । एकपटक त बुद्धमायालाई धारामै कसैले भन्यो, ‘अब त तिम्रो घरमा खाना पकाएर राख, हामी खान आउँछौँ ।’ यो खबर सुनेपछि रामबहादुरलाई विभेद गरेभन्दा बढी आफ्नो गरिवीमाथि प्रहार गरेजस्तो लाग्यो । तिखो प्रहार ।
रामबहादुरको कालो अनुहार झन बादल लागेजस्तो भयो । उनी बर्सिए, ‘घरमा काम गर्ने मान्छे कोही थिएन । एकजना उसलाई हेर्नै ठिक्क । ७ र १४ वर्षको छोरी स्कुल जान्थी । यसो जेनतेन ऋण खोजेर आधा पेट भए पनि खुवाएको थिएँ । अहिले त त्यही पनि हराएको छ । कमाउने मान्छे उसलाई कुरेर बस्नुपर्या छ ।’ भन्छन् नि, मर्दा–पर्दा त हो छिमेकीहरु काम लाग्ने । तर, कुनै सहयोग माग्नुपर्दा रामबहादुर खोला तरेर अर्को गाउँ पुग्नुपर्याे । छिमेकी र मानवताभन्दा धेरै नजिकको रहेछ जात व्यवस्था ।
दुःख बोकेर आउँदैछ दशैँ
रामबहादुरकै भनाइ सापटी लिने हो भने मानसिक अस्पताल ल्याएपछि बुद्धमायालाई २० को १९ भएको छ । उनलाई श्रीमतिको चिन्ता त छ नै । त्योभन्दा बढी पीडा छोराछोरी र आउँदै गरेको दशैँले दिएको छ ।
यो दशैँमा उनलाई नयाँ कपडाको चिन्ता छैन, घरको भण्डारमा अन्नको गेडा छैन र पनि मीठो खानेको चिन्ता छैन । उनलाई चिन्ता छ ३० हजार रुपैयाँ ऋणको । रामबहादुरको आँखा ओसिलो बन्छन्, ‘श्रीमतीलाई उपचार गर्न र खानका लागि ३० हजार जति ऋण लिएको छु । दशैँको भाका थियो । त्यत्रो ३० हजार खै कहाँबाट ल्याएर तिर्ने हो ?’ अहिले मात्र होइन रामबहादुरको परिवारको लागि हरेक दशैँ दुःख बोकेर आउँछ । रामबहादु र बुद्धमायाहरुलाई थाहा छ दशैँ कति खल्लो चाड हो भन्ने । उनीहरु जहिल्यै दशैँमा दुःखको लिंगे पिङमा खुब मच्चन्छन्, आँखाबाट आँशु झर्ने गरि । मान्छेको हैसियतअनुसार हुन्छ चाडबाडको महत्व पनि ।
दशैँमा दशैँमात्र आउँदैन यसले सँगै जाडो मौसम पनि बोकेर ल्याउँछ । अनि यही चिसो छल्ने कपडाको अभाव हुन्छ रामबहादुरको परिवारलाई । रामबहादुरसँग साट्नको लागि दुःखबाहेक अर्थोक छैन, ‘त्यही एउटा पुरानो ब्लाङ्केट छ । त्यसैले काट्ने हो यो जाडो पनि ।’ छोरा–छोरीले नयाँ कपडा देख्ने दशैँ आउन कति समय लाग्ने हो थाहा छैन ।
सीबीआर डिप्रेशन
एउटा छोरा काठमाडौंमा सुन काम सिक्दैछन् । एसएलसीपछि पैसाले उनको पढाइको ढोका बन्द गर्याे । अहिले कामभन्दा बढी आमाको स्याहारमा व्यस्त छन् उनी । विहान बेलुबी उनैले खाना बोकेर आउँछन् आमा–बाका निम्ति । अव दुई चार महिना उनले यसरीनै खाना बोक्नुपर्नेछ । पूरै निको हुन त करिव एक वर्ष औषधी सेवन गर्नुपर्ने बताउँछन् चिकित्सक ।
डा. प्रभावत चालिसे भन्छन्, ‘उहाँलाई सीबीआर डिप्रेशन भएको छ । यो मानसिकक समस्या हो । जीवनमा कुनै खालको अकल्पनीय आघात पर्यो भने मानिस यस्तो खालको मानसिक समस्यामा जान्छ । यस्ता खालका मान्छेको मनमा बास्तविकभन्दा फरक घटना आउँछ । र, उनीहरुले त्यसैलाई नै पूर्ण सत्य मान्छन् ।’
त्यसैले त बुद्धमाया अहिले पनि भनिरहेकी छिन्, ‘मैले ठूलो गल्ती गरेँ । मुद्दामामला गरेर गर्नै नहुने काम गरेँ ।’
यो समाज, जसले पहिला बद्धमायालाई विष सेवन गर्न बाध्य बनायो अनि पागल बनायो । पागल फ्याक्ट्री पनि खोल्दै छ जातीय विभेदकारी समाज ।
-अनलाइनखबरबाट