कुवेतमा कार्यरत तमू (गुरुङ) समुदायको साझा संस्था तमू समाज कुवेतले आगामी जनवरी १ (पुस १७), शुक्रबारका दिन तमू ल्होछार/ल्होसार–२०२७ भव्य रूपमा मनाउने भएको छ। जाब्रियास्थित ग्रान्ड अडिटोरियममा विविध सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसहित समारोह आयोजना गर्न लागिएको हो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित गायिका पवित्रा गुरुङ कुवेत आउने भएकी छन्। ‘द भ्वाइस अफ नेपाल सिजन–४’ की उत्कृष्ट प्रतिस्पर्धीसमेत रहेकी गुरुङको विशेष सांगीतिक प्रस्तुतिले समारोहलाई थप आकर्षक बनाउने आयोजकले विश्वास लिएको छ।
प्रवासमा रहेर पनि आफ्नो मौलिक भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। समारोहमा सांगीतिक प्रस्तुतिसँगै विभिन्न सांस्कृतिक झाँकी तथा परम्परागत नृत्यहरू पनि प्रस्तुत गरिने जनाइएको छ।
तमू समुदायको परम्परागत ल्हो कोर (वर्गचक्र) अनुसार हरेक वर्ष पुरानो ल्होलाई बिदाइ गर्दै नयाँ ल्होलाई स्वागत गर्ने परम्परा छ। यस वर्ष ‘त’ ल्हो (घोडा वर्ग) लाई बिदाइ गर्दै ‘ल्हु’ ल्हो (भेडा वर्ग) लाई स्वागत गरिनेछ।
तमू समुदायका लागि ल्होछार केवल नयाँ वर्षको उत्सव मात्र नभई मौलिक पहिचान, धार्मिक आस्था, सामाजिक सद्भाव र सामुदायिक एकताको प्रतीकसमेत हो। यस अवसरमा मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, ल्हो कोरको पूजाआजा गर्ने, परम्परागत भेषभूषामा सजिएर सांस्कृतिक प्रस्तुति दिने तथा शुभकामना आदानप्रदान गर्दै सामूहिक रूपमा खुसी साटासाट गर्ने परम्परा रहिआएको छ।
कार्यक्रमलाई सफल बनाउन कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्था, बुद्धिजीवी, व्यवसायी तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि तमू समाज कुवेतले हार्दिक निमन्त्रणा गरेको छ।