Monday 16th June 2025

मुक्तिनाथ दर्शन गर्न केवलकारमा जान पाइने, २०८१ सम्म केवलकार संचालनमा अाउन सक्ने


तितोपाटी – हिन्दू र बौद्ध धर्मावलम्बीहरूको एक महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथको दर्शन अबको ६ वर्षभित्र केबलकारमार्फत गएर गर्न पाइने छ । मुक्तिनाथदर्शन सेवा प्रालिले २०८१ भित्र सेवा दिने गरी निर्माण प्रक्रिया सुरु गरेको छ । मुक्तिनाथ दर्शन सेवा प्रालिका प्रमुख कार्यकारी अधिकृत श्रीधर सापकोटाले कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्मको करिब ७५ किलोमिटर दूरीको केबलकार निर्माण गर्नको लागि प्रक्रिया सुरु गरिएको  जानकारी दिए । लगानी बोर्डको हालै सम्पन्न ३०औं बैठकले कम्पनीलाई विस्तृत अध्ययन गर्ने अनुमति प्रदान गरेसँगै प्रक्रिया अघिबढेको उनको भनाइ छ ।

‘अहिले परियोजनासम्बन्धी इन्सेन्सन रिपोर्ट तयार हुने क्रममा रहेको छ’, उनले भने, ‘इन्सेन्सन रिपोर्ट तयार भएपछि एलाइमेन्ट फिक्स गर्ने काम हुन्छ । लाइडर सर्भेको काम सकिएपछि डीपीआर सर्भे हुन्छ ।’ अबको तीन वर्षमा यी प्रक्रिया पूरा गरेर आगामी २०८१ भित्र सेवा दिने लक्ष्य लिइएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए ।

कम्पनीका रोपवे इन्जिनियर गुणराज ढकालका अनुसार उक्त केबलकार निर्माण गर्न खण्ड खण्डमा विभाजन गरिएको छ । जसअनुसार कास्कीको वीरेठाँटीदेखि घोरेपानीसम्म पहिलो, घोरेपानीदेखि तातोपानीसम्म दोस्रो, तातोपानीदेखि लेतेसम्म तेस्रो, लेतेदेखि मार्फासम्म चौथो, मार्फादेखि जोमसोमसम्म पाँचौँ, जोमसोमदेखि कागबेनीसम्म छैटौँ र कागबेनीदेखि मुक्तिनाथसम्म सातौँ खण्ड हुनेछ ।

लम्बाइको हिसाबले संसारकै लामो केबलकारका रूपमा रहेको यो परियोजनालाई कम्पनीले महत्वकाङ्क्षी परियोजनाका रूमालिएको छ । विश्वमा अफ्रिकी मुलुक ग्याबनको केबलकार २५० किलोमिटर र स्विडेनको ९६ किलोमिटर लामो केबलकार रहे पनि त्यो सामान ढुवानीको लागि मात्रै प्रयोग हुने गरेकोे छ ।

मुक्तिनाथको दर्शन केवलकार परियोजना भने विशुद्ध पर्यटक ओसारपसारमा प्रयोग हुने छ ।

कम्पनीका अनुसार स्रोत जुटाएर काम गर्दा निर्माण उति असहज नभए पनि मार्फा–कागबेनी खण्डमा भने तीव्र हावाचल्ने भएकाले केही कठीनाइ रहेको छ । करिब १५ किलोमिटरको यो खण्डमा दिउँसोको समयमा ५० किलोमिटर प्रतिघण्टाको बेगले हावाचल्ने हुँदा यात्रुको सुरक्षाका लागि उच्च प्रविधि अपनाइने छ ।

‘तीव्र गतिको हावाबहने मार्फा–कागबेनी खण्डमा हामीले गोन्डला (बाकस) को सट्टा रेलको जस्तो डिब्बा वा अरू उच्च प्रविधि अपनाउँछौं । यात्रा पूर्णतः सुरक्षित र भरपर्दो हुनेछ’, रोपवे इन्जिनियर ढकालले भने । अन्य स्थानमा भने गोण्डलाकै प्रयोग हुनेछ ।

कठिन भौगोलिक बनावटका कारण मुक्तिनाथ पुग्नका लागि यातायातका साधनसमेत महँगो पर्ने गरेकोमा यो परियोजना बनेसँगै आर्थिक रूपमा पनि सस्तो पर्ने कम्पनीको विश्वास छ । केबरलकारले इन्धन बचत र पर्यावरणको संरक्षणमा समेत योगदानपुग्ने छ ।

मुक्तिनाथको दर्शन केबलकार परियोजना सो क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण हुनुका साथै समग्र देशलाई नै चिनाउन पनि सहयोग पुग्ने छ ।

प्रमुख कार्यकारी अधिकृत सापकोटाले केबलकार निर्माणका लागि करिब ३८ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको र त्यसका लागि विभिन्न अन्तर्राष्ट्रिय बैङ्कहरूसँग कुराकानी भइरहेको पनि जानकारी दिए ।

आधा दर्जनका हाराहारीका विदेशी बैङ्क तथा कम्पनीले लगानीका लागि चासो देखाएको भन्दै आफूहरू यसबारे निर्णय लिने क्रममै रहेको कम्पनीले जनाएको छ । नेपाली बैङ्कहरूको महँगो कर्जा र पर्याप्त ऋण पनि नपाइने अवस्था रहेकाले विकल्प खोजेको प्रमुख कार्यकारी अधिकृत सापकोटाकोे भनाइ छ ।

निर्माण सम्पन्न भएपछि एक दिशामा एक पटकमा १ हजार यात्रु बोक्ने क्षमता केबलकारले राख्ने बताइएको छ । कम्पनीका अनुसार ३ घण्टा १० मिनेटमा वीरेठाँटीबाट मुक्तिनाथ पुग्न सकिनेछ ।

-रातोपाटी


सम्बन्धित शीर्षकहरु

परराष्ट्रमन्त्री डा. आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा…

सामाजिक सञ्जाल टिकटकमा राजनीतिक नेतृत्वलाई गाली गरेको तथा साम्प्रदायिक सद्भावनामा खलल पुर्‍याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एबम पुर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको…

प्रतिकृयाहरू
...