Sunday 1st November 2026

जर्मनीमा महँगी र सरकारी नीतिविरुद्धको प्रदर्शन हिंसात्मक, फ्र्याङ्कफर्टमा पसल लुटिए


बर्लिन । बढ्दो महँगी, कमजोर सार्वजनिक सेवा र युवाका लागि घट्दै गएको अवसरको विरोधमा जर्मनीका विभिन्न सहरमा भएका प्रदर्शन शनिबार राति हिंसात्मक बनेका छन्। दिनभरि शान्तिपूर्ण रूपमा अघि बढेका प्रदर्शन साँझपख केही सहरमा प्रहरीसँगको झडप, पसल तोडफोड र लुटपाटमा परिणत भएका हुन्। विशेषगरी जर्मनीको आर्थिक केन्द्र मानिने फ्र्याङ्कफर्टमा प्रदर्शनपछि अवस्था तनावपूर्ण बनेको छ।

यी प्रदर्शन ‘जेन जेड रेगेल्ट’ अर्थात् ‘नयाँ पुस्ताले जिम्मेवारी लिन्छ’ भन्ने अभियानअन्तर्गत जर्मनीका ३४ सहरमा आयोजना गरिएका थिए। बर्लिन, फ्र्याङ्कफर्ट, म्युनिख, ह्याम्बर्ग र कोलोनलगायत सहरमा युवाहरू सडकमा उत्रिएका थिए। प्रदर्शनकारीले जीवनयापनको बढ्दो खर्च घटाउन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारी लगानी बढाउन, विद्यालयको अवस्था सुधार्न तथा अनिवार्य सैनिक सेवाको योजनाको विरोधमा आवाज उठाएका थिए।

आयोजकहरूले सुरुमा देशभर १ लाख ८२ हजार मानिस सहभागी हुने अपेक्षा गरेका थिए। तर प्रारम्भिक प्रहरी विवरणअनुसार फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनमा मात्रै करिब १८ हजार प्रदर्शनकारी सहभागी भएका थिए। आयोजकको वेबसाइटमा भने करिब ३६ हजारले सहभागी हुने प्रतिबद्धता जनाएको उल्लेख थियो। देशभरको वास्तविक सहभागिताको अन्तिम आधिकारिक सङ्ख्या भने तत्काल स्पष्ट भइसकेको थिएन।

फ्र्याङ्कफर्टमा प्रदर्शन समाप्त भएको केही समयपछि उपद्रव सुरु भएको थियो। हुड लगाएका र अनुहार छोपेका व्यक्तिहरूले व्यापारिक प्रतिष्ठानका सिसा फुटाएर जुत्ता तथा अन्य सामान लुटेका थिए। कम्तीमा दुईवटा पसल लुटिएको र अन्य धेरै पसलमा क्षति पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ। एउटा हतियार बिक्री गर्ने पसलमाथि समेत आक्रमण भएको थियो। प्रहरीले त्यहाँबाट दुई थान हतियार बरामद गरेको जनाएको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र विशेष सुरक्षा टोली परिचालन गरेको थियो। प्रदर्शनकारीका समूहले प्रहरीमाथि ढुङ्गा, बोतल र पटाका प्रहार गर्नुका साथै आपत्कालीन सेवाका कर्मचारीमाथि पेट्रोल बमसमेत प्रहार गरेको प्रहरीले जनाएको छ। फ्र्याङ्कफर्टको व्यस्त व्यापारिक सडक ‘जाइल’ बन्द गरिएको थियो। त्यहाँ ३० जनाभन्दा बढीलाई अस्थायी रूपमा पक्राउ गरिएको र प्रहरी अधिकारीहरू घाइते भएको विवरण सार्वजनिक भएको छ।

फ्र्याङ्कफर्टबाहेक ह्याम्बर्ग, कोलोन, बर्लिन, ब्रेमेन र अन्य सहरमा पनि झडप तथा तोडफोडका घटना भएका थिए। ह्याम्बर्गमा सडक अवरोध र फोहोर सङ्कलन गर्ने डब्बामा आगजनी गरिएको थियो भने कोलोनमा प्रहरीमाथि बोतल र साइकल प्रहार भएको विवरण छ। केही सहरमा व्यापारिक प्रतिष्ठानहरूले सम्भावित लुटपाटबाट जोगिन प्रदर्शनअघि नै आफ्ना पसलका झ्यालमा काठका पाता लगाएर सुरक्षा व्यवस्था मिलाएका थिए।

यसैबीच, प्रदर्शनको आयोजक समूहले हिंसात्मक गतिविधिप्रति असहमति जनाएको छ। समूहकी प्रतिनिधि लिना फ्रिडरिकले आफूहरूको अभियान शान्ति, स्वतन्त्रता, शिक्षा र स्वास्थ्य सेवाको सुधारका लागि भएको बताएकी थिइन्। आयोजकले हिंसा आफ्नो आन्दोलनको उद्देश्यविपरीत भएको स्पष्ट पारेको छ। जर्मन अधिकारीहरूले भने केही अतिवादी समूहले शान्तिपूर्ण आन्दोलनको आडमा अशान्ति फैलाउन खोजेको आशङ्का गरेका छन्।

जर्मनीमा भएको यो घटनालाई युरोपभर फैलिँदै गएको युवाकेन्द्रित असन्तुष्टिको पछिल्लो उदाहरणका रूपमा हेरिएको छ। पछिल्ला साताहरूमा फ्रान्स, इटाली, स्पेन, पोर्चुगल र अन्य देशमा पनि महँगी, बेरोजगारी, कमजोर सार्वजनिक सेवा तथा भविष्यप्रतिको अनिश्चितताविरुद्ध प्रदर्शन भएका छन्। जर्मनीमा भने महँगी र शिक्षा सुधारसँगै अनिवार्य सैनिक सेवाको सम्भावित विस्तार पनि युवाहरूको विरोधको प्रमुख विषय बनेको छ। शान्तिपूर्ण प्रदर्शन र हिंसात्मक गतिविधिबीच स्पष्ट भिन्नता कायम राख्दै सरकारले युवाका असन्तुष्टिलाई कसरी सम्बोधन गर्छ भन्ने प्रश्न अहिले महत्त्वपूर्ण बनेको छ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...