लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे महिनामा सुरु भएको यो प्रकोप देशको इतिहासकै सबैभन्दा घातक इबोला महामारी बनेको छ।
हालसम्म १०,३०० भन्दा बढी पुष्टि भएका संक्रमित भेटिएका छन् भने देशका २६ मध्ये ८ वटा प्रान्त प्रभावित भएका छन्। मृत्यु दर करिब ४८.६ प्रतिशत रहेको बताइएको छ।
महामारीको मुख्य केन्द्र उत्तरपूर्वी इटुरी (Ituri) प्रान्त हो, जहाँ सुरक्षा चुनौती र द्वन्द्वका कारण रोग नियन्त्रण अभियान प्रभावित भइरहेको छ। यसैबीच केन्या, युगान्डा र नाइजेरिया मा पनि केही संक्रमित फेला परेका छन्।
विश्व स्वास्थ्य संगठन (WHO) ले रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पहुँच बढाउने, समुदायमा जनचेतना विस्तार गर्ने र उपचार तथा परीक्षण अभियान तीव्र बनाउनुपर्ने जनाएको छ। हाल खोप र उपचारसम्बन्धी क्लिनिकल परीक्षण भइरहेका छन्, तर यो प्रकोप गराउने बुन्डिबुग्यो (Bundibugyo) प्रजातिको भाइरसका लागि अझै स्वीकृत खोप वा उपचार उपलब्ध छैन।
यसअघि डीआर कंगोको सबैभन्दा ठूलो इबोला प्रकोप (२०१८–२०२०) मा २,२९९ जनाको मृत्यु भएको थियो। विश्वकै सबैभन्दा घातक इबोला महामारी भने सन् २०१४–२०१६ मा पश्चिम अफ्रिकामा भएको थियो, जसमा ११,३२५ भन्दा बढी मानिसको ज्यान गएको थियो।
चुनौती थपियो हिंसाले
इबोला नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीमाथि बारम्बार आक्रमण भइरहेका छन्। केही दिनअघि इबोला सम्बन्धी अभियानमा खटिएकी एक नर्सको हत्या भएको थियो भने अर्की स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी थिइन्। स्थानीय केही युवाले स्वास्थ्यकर्मीहरूले पानीका स्रोत दूषित बनाएको आरोप लगाएका थिए।