Sunday 25th October 2026

आज कोजाग्रत पूर्णिमा, पूर्णिमासँगै बडादसैँ समापन


नेपालीहरूको महान् चाड बडादसैँ आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै विधिवत् समापन गरिँदै छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा धन, समृद्धि र ऐश्वर्यकी देवी महालक्ष्मीको पूजा–आराधना गरी रातभर जाग्राम बस्ने परम्परा रहेको छ।

धार्मिक मान्यताअनुसार आज राति जाग्राम बसेका भक्तजनका घरमा महालक्ष्मीको आगमन हुने र धन तथा समृद्धिको आशीर्वाद प्राप्त हुने विश्वास छ। यही विश्वासका आधारमा देशभर श्रद्धापूर्वक कोजाग्रत पूर्णिमा मनाइन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दसैँका क्रममा गरिने सम्पूर्ण बलिपूर्तिको कार्य पनि आजकै दिन सम्पन्न हुन्छ। विजयादशमीदेखि सुरु भएको टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम पनि आजबाट समाप्त हुने मान्यता छ। घरघरमा राखिएको जमरा नजिकका नदी, तलाउ वा अन्य पवित्र जलाशयमा लगेर सेलाउने प्रचलन रहेको छ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व करिब १५ दिनसम्म मनाइन्छ। नवरात्र र विजयादशमी सकिए पनि दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमाको दिन औपचारिक रूपमा समाप्त हुन्छ। आज देवी दुर्गाको एक स्वरूप महालक्ष्मीको विशेष पूजा गरी दुर्गा पक्षलाई बिदाइ गरिन्छ।

धार्मिक ग्रन्थहरूमा यस पूर्णिमालाई ‘कौमुदी पूर्णिमा’ पनि भनिएको छ। महालक्ष्मीको पूजा गर्नाका साथै आज इन्द्रदेवको पनि विशेष पूजा गर्ने धार्मिक परम्परा रहेको छ।


सम्बन्धित शीर्षकहरु

इटालीमा बढ्दो महँगी, सैन्य विस्तार र रक्षा खर्च वृद्धि विरुद्ध शनिबार विभिन्न सहरमा प्रदर्शन भएका छन्। केही स्थानमा प्रदर्शनकारी र…

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानमाथि आइतबारदेखि नै सैन्य आक्रमण गर्न सकिने संकेत दिएका छन्। उनले अमेरिका आवश्यक परे "काम…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानमाथि आइतबार अर्थात् अक्टोबर २५ मै पुनः सैन्य आक्रमण हुन सक्ने सङ्केत दिएका छन्। तर…

प्रतिकृयाहरू
...