यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २०० जना घाइते भएको समाचार सार्वजनिक भएको छ। फ्रान्सेली समाचार संस्था एएफपीले दुई सैन्य स्रोतलाई उद्धृत गर्दै उक्त विवरण दिएको हो।
समाचारअनुसार, आक्रमणमा शबवा प्रान्तस्थित अलम सैन्य शिविरलाई निशाना बनाइएको थियो। यमनका सशस्त्र बलका प्रवक्ता माजिद नजिलीले पनि सामाजिक सञ्जाल एक्समार्फत हुथी विद्रोहीले शबवाका विभिन्न स्थानमा तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्। उनका अनुसार, आक्रमणबाट सुरक्षा बल र प्रहरीको प्रशिक्षण केन्द्र प्रभावित भएको थियो।
यसअघि रोयटर्सले चार सरकारी तथा चिकित्सकीय स्रोतलाई उद्धृत गर्दै आक्रमणमा १८ जनाको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो। त्यसपछि स्थानीय अधिकारीहरूले मृतकको सङ्ख्या बढेको जानकारी दिएका छन्। पछिल्लो विवरणअनुसार, कम्तीमा ५३ जनाको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएका छन्। गम्भीर घाइतेलाई उपचारका लागि छिमेकी प्रान्तका अस्पतालमा समेत पठाइएको छ।
यस घटनाअघि हुथी विद्रोहीले शबवा प्रान्तलाई आफ्नो नियन्त्रणमा रहेको अल-बैदा प्रान्तसँग जोड्ने सडक बन्द गरेको सरकारी सैन्य स्रोतले जनाएको छ। यसले सरकारी सुरक्षा बलको आवागमन र आपूर्ति व्यवस्थामा थप चुनौती उत्पन्न गरेको छ।
यसअघि हुथी विद्रोहीले अल-मआशीक दरबारतर्फ पनि पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको थियो। विद्रोहीका अनुसार, उक्त दरबारमा साउदी अरब नेतृत्वको गठबन्धनको सञ्चालन केन्द्र रहेको थियो।