Sunday 18th October 2026

बिर्तामोडमा वास्तु विहारको आवासीय परियोजना उद्घाटन


नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् ।

बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी स्कुलनजिक टेक्नोकल्चर बिल्डिङ सेन्टर प्रालि (वास्तु विहार) ले शनिबार बडादशैँको फूलपातीको अवसर पारेर भूमिपूजा तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । कम्पनीका ब्रान्ड एम्बेसडरसमेत रहेका हमालले भूमिपूजा गर्दै परियोजनाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालगायतको उपस्थिति थियो । उनीहरूले व्यवस्थित आवास निर्माण तथा सहरी विकासको आवश्यकताबारे शुभकामना मन्तव्य राखेका थिए । वास्तु विहारको आवासीय परियोजनाका सीईओ सिद्धान्त तिवारीको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रमपछि आयोजित सांस्कृतिक कार्यक्रममा गायिका रचना रिमालसहित स्थानीय कलाकारहरूले प्रस्तुति दिएको आयोजकले जनाएको छ । दशैँको अवसर पारेर आयोजना गरिएको कार्यक्रममार्फत परियोजनाबारे जानकारी दिनुका साथै स्थानीयवासीलाई सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्य राखिएको कम्पनीको भनाइ छ ।

वास्तु विहारले बिर्तामोडमा स्थानीय जग्गाधनीसँगको सहकार्यमा करिब तीन बिघा क्षेत्रफलमा आवासीय परियोजनाको काम अघि बढाएको छ । कम्पनीका अनुसार यस परियोजनाअन्तर्गत २४ महिनाभित्र ७७ वटा घर निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल परियोजना क्षेत्रमा करिब ३५ वटा घर निर्माणाधीन अवस्थामा छन् । कम्पनीले ग्राहकको आवश्यकता र क्षमताअनुसार दुईदेखि सात शयनकक्षसम्मका घर निर्माण गर्ने योजना बनाएको छ ।

आवासीय क्षेत्रलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यले सामुदायिक भवन, सपिङ सेन्टर, पार्क, मठमन्दिर तथा पौडी पोखरीलगायतका पूर्वाधार उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको छ । परियोजनामा घर निर्माणका लागि एकैपटक ठूलो रकम लगानी गर्न नसक्ने परिवारलाई लक्षित गरी चरणबद्ध भुक्तानीको व्यवस्था गरिएको छ । कम्पनीका अनुसार जग्गा खरिदका लागि कुल रकमको ३० देखि ४० प्रतिशत भुक्तानी गरेपछि जग्गा नामसारी गर्ने व्यवस्था मिलाइएको छ ।

जग्गा नामसारीपछि नक्सा पासलगायत आवश्यक प्रशासनिक प्रक्रियामा सहजीकरण गरी सम्झौताअनुसार घर निर्माणको काम अघि बढाइनेछ । घर निर्माणको प्रगतिअनुसार ग्राहकले किस्ताबन्दीमा रकम भुक्तानी गर्न सक्ने कम्पनीको भनाइ छ । सम्झौतामा उल्लेख भएअनुसारको रकम भुक्तानी भएपछि घर निर्माण सम्पन्न गरी ग्राहकलाई हस्तान्तरण गरिने जनाइएको छ । यस प्रक्रियाले घर बनाउन चाहने तर जग्गा खरिद र निर्माणका लागि एकैपटक ठूलो रकम जुटाउन कठिन हुने परिवारलाई सहज हुने कम्पनीको अपेक्षा छ ।

स्थानीय जग्गाधनी जगन्नाथ खनालले किस्ताबन्दीमा घर निर्माण गर्न सकिने व्यवस्था उपयोगी रहेको बताए । उनका अनुसार वास्तु विहारले व्यवस्थित आवासीय क्षेत्र निर्माण गर्ने उद्देश्यले सडक, विद्युत् तथा अन्य आवश्यक पूर्वाधारको व्यवस्थासहित कोलोनीको अवधारणामा काम गरिरहेको छ । व्यवस्थित बस्ती निर्माण हुँदा पूर्वाधार विकास, सुरक्षा र आवास व्यवस्थापनमा सहजता हुने उनको भनाइ छ । टेक्नोकल्चर बिल्डिङ सेन्टर प्रालिले नेपालमा घर निर्माणसम्बन्धी काम गर्न उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाबाट २०८० साल वैशाख २२ गते स्वीकृति प्राप्त गरेको जनाएको छ ।

कम्पनीले बिर्तामोड नगरपालिकामा २०८१ साउन १७ गते व्यवसाय दर्ता गरी आवास निर्माणको काम अघि बढाएको हो । वीरगञ्जमा कार्यालय स्थापना गरेर सेवा दिँदै आएको कम्पनीले बिर्तामोडमा समेत शाखा स्थापना गरी परियोजना सञ्चालन गरिरहेको छ । कम्पनीका अनुसार भारतमा आवास निर्माण क्षेत्रमा काम गर्दै आएको टेक्नोकल्चरले हालसम्म करिब ३६ हजार घर निर्माण गरी ग्राहकलाई हस्तान्तरण गरिसकेको छ । भारतमा हासिल गरेको अनुभवलाई नेपालमा प्रयोग गर्दै व्यवस्थित,सुविधासम्पन्न र ग्राहकको आर्थिक क्षमताअनुसारका आवास निर्माण गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

नेपालमा वीरगञ्ज, विराटनगर र बिर्तामोडमा परियोजना सञ्चालन गरिरहेको कम्पनीले आगामी दिनमा आवास निर्माणको सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ । कम्पनीले नेपाल र भारतका विभिन्न सहरमा आफ्नो सेवा उपलब्ध गराउँदै आएको दाबीसमेत गरेको छ ।

व्यवस्थित सहरीकरणसँगै सुरक्षित र सुविधायुक्त आवासको माग बढिरहेका बेला वास्तु विहारले जग्गा खरिददेखि घर निर्माण र हस्तान्तरणसम्मको प्रक्रियालाई एउटै प्रणालीमा जोड्ने प्रयास गरेको जनाएको छ । चरणबद्ध भुक्तानी, निर्माण प्रक्रियामा सहजीकरण र सामुदायिक पूर्वाधारसहितको आवासीय अवधारणाले घर निर्माण गर्न चाहने परिवारलाई विकल्प उपलब्ध गराउने कम्पनीको अपेक्षा छ । पुर्वाअन्चल बाट


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...