युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा ड्रोन प्रहार गरेको थियो, जसमध्ये अधिकांशलाई खसालिएको दाबी गरिएको छ।
आक्रमणको मुख्य लक्ष्य सेन्ट पिटर्सबर्गस्थित एक प्रमुख तेल टर्मिनल थियो। वार्षिक १ करोड २५ लाख टनसम्म इन्धन व्यवस्थापन गर्न सक्ने उक्त केन्द्रमा आगलागी भएको बताइएको छ। यसका साथै रसियाको एक लजिस्टिक्स केन्द्र र सामाजिक सञ्जाल प्लेटफर्म भिकोन्टाक्टेको डाटा सेन्टर पनि निशानामा परेका थिए।
रुसी अधिकारीहरूका अनुसार आक्रमणमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। केही आवासीय भवनहरूमा समेत क्षति पुगेको छ। स्थानीय बासिन्दाहरूले आकाशमा ठूलो विस्फोट र आगो देखिएको बताएका छन्।
यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसी ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्न आग्रह गरेपछि भएको हो। ट्रम्पले एक साताअघि रुस र युक्रेनबीच ऊर्जा संरचनामाथि आक्रमण नगर्ने सहमति भएको दाबी गरेका थिए। तर दुवै देशले औपचारिक रूपमा यस्तो सहमति स्वीकार गरेका छैनन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसले ऊर्जा पूर्वाधारमाथि आक्रमण जारी राखेको आरोप लगाएका छन्। उनका अनुसार पछिल्लो एक सातामा मात्र रुसी सेनाले युक्रेनको ऊर्जा तथा तेल–ग्यास क्षेत्रमा दर्जनौँ आक्रमण गरेको छ।
यसैबीच, रुसले पनि युक्रेनका विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण जारी राखेको छ। पछिल्लो २४ घण्टामा भएका रुसी आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु र झन्डै ५० जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
जेलेन्स्की र ट्रम्पबीच पछिल्ला दिनमा सम्बन्ध चिसिँदै गएको देखिएको छ। जेलेन्स्कीले अमेरिका रुसको पक्षमा उभिएमा त्यो “ऐतिहासिक गल्ती” हुने चेतावनी दिएका छन्। उनले अमेरिकाले युक्रेनलाई उपलब्ध गराउँदै आएको केही सैन्य तथा प्राविधिक सहयोगमा पनि प्रतिबन्ध लगाएको आरोप लगाएका छन्, यद्यपि अमेरिकी प्रशासनले त्यसलाई अस्वीकार गरेको छ।
युद्ध लम्बिँदै जाँदा रुस–युक्रेन द्वन्द्वमा नयाँ तनाव थपिएको छ। जाडो मौसम नजिकिँदै गर्दा ऊर्जा पूर्वाधारमाथिका आक्रमणहरू दुवै देशका लागि थप चुनौतीपूर्ण बन्दै गएका छन्।
Provide your feedback on BizChat