Friday 9th October 2026

दक्षिण अफ्रिकामा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक, दर्जनौं सवारीसाधनमा आगजनी


दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको छ भने विदेशी नागरिकद्वारा सञ्चालित पसलहरूमा लुटपाट भएको प्रहरीले जनाएको छ।

प्रदर्शनकारीहरूले शरणार्थी आवेदन स्वीकार गर्ने सरकारी केन्द्र बन्द गर्न माग गर्दै आन्दोलन गरेका थिए। डरबनमा एक विदेशी नागरिकले प्रदर्शनकारीमाथि आक्रमण गरेको आरोपपछि झडप चर्किएको बताइएको छ। घटनामा संलग्न आरोपमा तीन विदेशी नागरिक पक्राउ परेका छन्।

सोवेटोमा विदेशी नागरिकले सञ्चालन गरेका पसलहरू बन्द गराउन माग गर्दै आन्दोलन भएको थियो। केही पसलमा आक्रमण हुनुका साथै एउटा भवनमा आगोसमेत लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दक्षिण अफ्रिकाको संवैधानिक अदालतले हालै शरणार्थी आवेदनसम्बन्धी केही प्रतिबन्ध हटाउने फैसला गरेपछि आप्रवासनविरोधी समूहहरूको विरोध बढेको छ।

उच्च बेरोजगारी, गरिबी र असमानताका बीच विदेशी नागरिकले रोजगारी खोस्ने तथा सार्वजनिक सेवामा दबाब बढाउने आरोप लगाइँदै आएको छ, यद्यपि अनुसन्धानकर्ताहरूले यस्ता दाबीलाई पर्याप्त प्रमाणले समर्थन नगरेको बताएका छन्।


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...