Thursday 8th October 2026

मृत्युदण्ड दिन खोज्दा बाँचेकी अमेरिकी महिलाको अवस्था सुधार हुँदै


अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी निकै अलमलमा र रिसाएकी थिइन्।

सन् १९९५ मा १९ वर्षीया कोलिन स्लेमरको हत्या गरेको अभियोगमा पाइकलाई मृत्युदण्ड सुनाइएको थियो। गत सेप्टेम्बर ३० मा टेनेसी राज्यमा उनलाई विषालु औषधिको सुईमार्फत मृत्युदण्ड दिन खोजिएको थियो। तर दुई पटक औषधि दिइए पनि उनको मृत्यु भएन।

वकिलहरूले केही दिनसम्म उनलाई मस्तिष्क मृत (ब्रेन डेड) भएको ठानेका थिए। तर सबैलाई आश्चर्यमा पार्दै उनी मङ्गलबार बोल्न थालेकी हुन्। होस खुलेपछि उनले “म कहाँ छु?” र “तपाईं को हुनुहुन्छ?” भनेर सोधेकी थिइन्।

हाल ५० वर्षीया पाइक अस्पतालमा उपचाररत छिन्। उनका दुवै हात सुन्निएका छन्, एउटा हातमा रगत जमेको छ, निमोनिया भएको छ र उनी सामान्य रूपमा निल्न सक्ने अवस्थामा छैनन्।

अदालतले असफल मृत्युदण्ड प्रयाससँग सम्बन्धित सबै प्रमाण सुरक्षित राख्न आदेश दिएको छ। ती प्रमाण भविष्यमा राज्य सरकारविरुद्ध दायर हुन सक्ने मुद्दाका लागि महत्वपूर्ण हुन सक्ने वकिलहरूको भनाइ छ।

टेनेसीका गभर्नरले पनि घटनाको छानबिनका लागि यस वर्ष बाँकी रहेका सबै मृत्युदण्ड कार्यान्वयन स्थगित गरेका छन्।


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...