युक्रेनको राजधानी कीभमा आइतबार रुसी ड्रोनले उत्तरी पुल (नर्दर्न ब्रिज) मा आक्रमण गर्दा दुई जना घाइते भएका छन्। आक्रमणका बेला जर्मन चान्सलर फ्रेडरिक मर्ज युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि कीभ पुगेका थिए।
रुसले राजधानीको पूर्वाधारलाई लक्षित गर्दै लगातार आक्रमण गरिरहेको छ। पछिल्ला केही दिनमा कीभका प्रमुख पुलहरूमा पटकपटक हमला भएपछि युक्रेनी अधिकारीहरूले शहरलाई दुई भागमा विभाजित गर्ने प्रयास भइरहेको बताएका छन्। सम्भावित थप आक्रमणलाई ध्यानमा राख्दै युक्रेनले ड्निप्रो नदीमाथि वैकल्पिक पुल निर्माण गर्ने योजना बनाएको छ।
भ्रमणका क्रममा मर्जले युक्रेनलाई पूर्ण समर्थन जारी रहने बताएका छन्। जर्मनीले युक्रेनलाई थप १ अर्ब युरो सैन्य सहायता र ऊर्जा पूर्वाधार मर्मतका लागि ३५० मिलियन युरो उपलब्ध गराउने तयारी गरेको छ।
यता रुसले कीभ तथा अन्य सहरमा सैन्य तथा औद्योगिक संरचनामाथि अझ तीव्र आक्रमण गर्ने चेतावनी दिएको छ भने राष्ट्रपति जेलेन्स्कीले पनि रुसी तेल प्रशोधन केन्द्रहरूलाई लक्षित गरी जवाफी आक्रमण बढाउने संकेत दिएका छन्।