सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको भीषण लडाइँपछि उक्त क्षेत्र कब्जा गरिएको सेनाले बताएको छ।
सेनाका अनुसार लडाइँमा आरएसएफका धेरै लडाकु मारिनुका साथै उनीहरूको सैन्य सवारीसाधन पनि नष्ट भएका छन्। अल–माजरुब उत्तर कोर्डोफानमा आरएसएफको प्रमुख आधार क्षेत्र मानिन्थ्यो।
सैन्य अधिकारीहरूले यो क्षेत्र कब्जा गरेपछि आरएसएफको आपूर्ति मार्ग काट्ने अभियानमा महत्वपूर्ण सफलता मिलेको बताएका छन्।
सन् २०२३ अप्रिलदेखि सुरु भएको सुडानको गृहयुद्ध अहिले चौथो वर्षमा प्रवेश गरेको छ। कोर्डोफान क्षेत्र पछिल्लो समय युद्धको मुख्य केन्द्र बनेको छ, जहाँ सेना र आरएसएफबीच निरन्तर संघर्ष भइरहेको छ।