अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा कमजोर बनाएको दाबी गरेका छन्। उनले इरानले अब आणविक हतियार विकास गर्न नसक्ने अवस्था सिर्जना गरिएको बताएका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकबाट अमेरिकी सैनिकहरूको पूर्ण फिर्ती घोषणा गर्दै इरानबारे “छिट्टै केही हुने” संकेत दिएका छन्। नाटो प्रमुख मार्क रुट्टेले पनि इरानको आणविक कार्यक्रम रोक्न अमेरिकी कदम “अत्यावश्यक” रहेको बताएका छन्।
गाजामा भने हिंसा जारी छ। इजरायली आक्रमणमा कम्तीमा ७ प्यालेस्टिनीको मृत्यु भएको छ। उता अमेरिकी संसदका केही डेमोक्र्याट सांसदहरूले वेस्ट बैंक र गाजामा इजरायली बस्ती विस्तारमा संलग्न व्यक्ति तथा संस्थामाथि प्रतिबन्ध लगाउने विधेयक पेश गरेका छन्।
क्षेत्रीय सुरक्षाका बीच बहराइन पनि अमेरिकी नेतृत्वको बहुराष्ट्रिय आक्रमणकारी ड्रोन कार्यबलमा सहभागी भएको छ।