दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले ककपिटभित्र अर्का पाइलटमाथि चक्कु प्रहार गरी विमान दुर्घटनाग्रस्त बनाउन प्रयास गरेका थिए।
दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाईदुबई विमानमा सहचालकले आक्रमण गरेपछि उत्पन्न संकटलाई भारतीय पाइलट स्मित मच्छारको साहसले नियन्त्रणमा ल्याएको बताइएको छ। उनी घाइते अवस्थामै प्रतिरोधमा उत्रिएपछि यात्रुहरूले पनि सहयोग गरे। एक यात्रु यानिभ हायुन ले आक्रमणकारीलाई नियन्त्रणमा लिएर विमानको अवस्था स्थिर बनाउन सहयोग गरेको बताएका छन्।
घटनाका क्रममा विमान करिब दुई मिनेटमा १७,४०० फिट तल झरेको जनाइएको छ, जसले यात्रुहरूमा त्रास फैलाएको थियो। विमानलाई अन्ततः साउदी अरबको तबुक विमानस्थलमा सुरक्षित अवतरण गरियो। त्यसपछि अधिकांश यात्रुलाई अर्को फ्लाईदुबई विमानमार्फत तेल अवीव पुर्याइएको थियो।
घटनापछि फ्लाईदुबईले इजरायलका लागि आउने-जाने उडानहरू अस्थायी रूपमा निलम्बन गरेको छ भने इजरायलले यसलाई “आतंकवादी आक्रमणको प्रयास” भनेको छ। आक्रमणको कारण र घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ।