भारतको मध्य प्रदेशस्थित उज्जैन शहरमा सन् २०२८ मा हुने सिंहस्थ कुम्भ मेलाका लागि सडक फराकिलो बनाउने क्रममा शाही मस्जिदको केही भाग भत्काइएको छ। पूर्ण रूपमा मस्जिद भत्काइने डरका कारण स्थानीय मुस्लिम समुदायले आफैंले मस्जिदको बाहिरी भाग हटाउन सहयोग गरेका छन्।
मस्जिद व्यवस्थापन समितिले प्रशासनसँग छलफल गरेपछि सडकतर्फको करिब तीन फिट भाग हटाउन सहमति भएको थियो। तर स्थानीय मुस्लिम संगठनहरूले विरोध जनजाएपछि विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही व्यक्ति घाइते भएका छन् र केहीलाई पक्राउ गरिएको छ।
स्थानीय मुस्लिम समुदायले यस घटनाले धार्मिक स्थलहरूको सुरक्षाबारे चिन्ता बढाएको बताएको छ। प्रशासनले भने कुम्भ मेलामा आउने लाखौं श्रद्धालु र यातायात व्यवस्थापनका लागि सडक विस्तार आवश्यक भएको जनाएको छ।
यो घटनापछि उज्जैनमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने विभिन्न मुस्लिम सङ्गठनहरूले विरोध प्रदर्शन जारी राखेका छन्।