Tuesday 17th November 2026

कविता: नबोलेको प्रेम


तिमी बोल्दैनौ,

तर साँझको बतासले

तिम्रो खबर ल्याइरहन्छ।


झ्यालको पर्दा हल्लिँदा

लाग्छ,
कसैले मेरो नाम

बिस्तारै उच्चारण गर्‍यो।

आकाशभरि तारा छन्,

तर मेरा आँखाले

एउटै उज्यालो खोजिरहन्छन्।

सायद त्यो तारा होइन,

तिम्रो सम्झनाले

रातको निधारमा राखेको

सानो उज्यालो हो।

हामीबीच

कुनै वाचा लेखिएको छैन,

कुनै सम्बन्धको नाम पनि छैन।

तर किन हो कुन्नि,

मनले हरेक साँझ

तिम्रै बाटो हेर्छ,

जसरी नदीले
समुद्रको बाटो बिर्सँदैन।

तिमी टाढा हुँदा पनि

मेरो एकान्त खाली हुँदैन।

तिम्रो सम्झना आएर

चुपचाप छेउमा बस्छ।

केही भन्दैन,

केही माग्दैन,

बस्,
मेरो मौनतालाई
आफ्नो बनाइदिन्छ।

धड्कनभित्र
कसैले
तिम्रो चित्र कोरेको छ।

मेट्न खोज्दा

झन् गाढा भएर आउँछ।

आँखा चिम्लिँदा

तिमी नजिक हुन्छौ,

आँखा खोल्दा

फेरि दूरीको आकाश फैलिन्छ।

सायद प्रेम यही हो,

नछोई पनि महसुस हुनु,

नभेटी पनि आफ्नै लाग्नु,

नबोली पनि
मनभरि संवाद भइरहनु।

र तिमी,

मेरो जीवनको त्यो कविता हौ

जसको अन्त्य
म लेख्न सक्दिनँ,

किनकि प्रत्येक अन्तिम हरफपछि

मनले फेरि
तिम्रै नामबाट

नयाँ पङ्क्ति सुरु गर्छ।

-गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

पखेटा छैनन्, उडूँ कहाँ म, आकाश टाढा छ, मनै भने प्रियको सम्झनामा, हराउँदै जान्छ। फूलका बगैँचा फुले पनि, मन फुल्न…

जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रीस र नेदरल्याण्ड्सले सन् २०२७ देखि रवान्डामा आप्रवासी फिर्ता केन्द्र खोल्ने योजना सार्वजनिक गरेका छन्। यो केन्द्रमा…

अमेरिकी गुप्तचर निकायले इरानले अमेरिकी भूमिमै ठूलो आक्रमण गर्न सक्ने सम्भावनाबारे नयाँ सूचना प्राप्त गरेको जनाएको छ। उक्त सूचनाअनुसार इरानले…

प्रतिकृयाहरू
...