Sunday 27th September 2026

सप्तरीमा कोसीको बाढी, ५ सयभन्दा बढी परिवार विस्थापित


लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित भएका छन् भने २ हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन्।

सबैभन्दा बढी असर हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा परेको छ। हनुमाननगर कङ्कालिनीका वडा नम्बर ५, ७, १२ र १३ का ४८३ घर डुबानमा परेका छन्। यस्तै, तिलाठी कोइलाडी गाउँपालिकाका वडा नम्बर ४ र ५ का २७ घर प्रभावित भएका छन्।

बाढीका कारण घरभित्र पानी पसेर खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री बगेका छन्। धेरै परिवार घर छाडेर सुरक्षित स्थानमा पुगेका छन्। कतिपय परिवार त्रिपालमुनि बस्न बाध्य भएका छन्। प्रभावित क्षेत्रका बासिन्दाले खानेपानीको समेत समस्या भोगिरहेका छन्।

गोबरगाढा टापुसहितका बस्तीमा पानी पस्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ। बालबालिका, वृद्धवृद्धा र महिलाहरू बढी समस्यामा परेका छन्।

बाढीबाट प्रभावित परिवारलाई स्थानीय तहले सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ। साथै, पीडितलाई राहतस्वरूप बिहान र बेलुका दुई छाक खाना वितरण गरिएको छ। पानीको सतह घटेपछि थप राहत सामग्री उपलब्ध गराउने तयारी स्थानीय सरकारले गरेको जनाएको छ।

प्रशासनले सप्तकोसी नदीको जलस्तर अझै उतारचढाव भइरहेकाले नदी किनार र तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...