अन्तर्राष्ट्रिय नेपाली मञ्च (आईएनएफ) कुवेतले भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १०१ कुवेती दिनार आर्थिक सहयोग प्रदान गरेको छ।
मञ्चका संयोजक युवराज गैरेका अनुसार उक्त रकम कुवेतस्थित नेपाली राजदूतावासमार्फत बाढी पीडित राहत कोषमा जम्मा गरिएको हो। भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई राहत र पुनर्स्थापनामा सहयोग पुग्ने उद्देश्यले यो रकम संकलन गरिएको बताइएको छ।
मञ्चका पदाधिकारीहरूले कार्यवाहक राजदूत सुजनी रानालाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै उनीहरूले प्राकृतिक विपत्तिका बेला स्वदेशप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्दै यस्ता सहयोगका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
![]()
![]()
![]()
सहयोग हस्तान्तरण कार्यक्रममा मञ्चका पदाधिकारीहरू तथा नेपाली राजदूतावासका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
भोटेकोशी–त्रिशुली क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। प्रवासमा रहेका नेपालीहरूबाट प्राप्त यस्तो सहयोगले प्रभावित परिवारको राहत तथा पुनर्निर्माण कार्यमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ। आईएनएफ कुवेतले आगामी दिनमा पनि मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।