पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
प्रहरीका अनुसार प्रहरी चेकपोस्टलाई लक्ष्य गरी विस्फोटक पदार्थले भरिएको सवारीसाधन ठोक्काइएपछि विस्फोट भएको हो। मृतक र घाइतेमध्ये अधिकांश सुरक्षाकर्मी, भन्सार कर्मचारी तथा सर्वसाधारण रहेका छन्।
घटनाको जिम्मेवारी कुनै समूहले नलिए पनि पाकिस्तानी तालिबान (टीटीपी)माथि शंका गरिएको छ। उद्धार टोलीले घाइतेहरूलाई अस्पताल पुर्याएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
हाल पाकिस्तान–अफगानिस्तान सीमामा तनाव बढिरहेका बेला यो हमला भएको हो।