Friday 25th September 2026

जलवायु संकट विश्वको प्रमुख एजेन्डा


विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले पृथ्वीको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्य निकट भविष्यमा पूरा गर्न कठिन भएको देखाएका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा महासचिव एन्टोनियो गुटेरेसले विश्वका नेताहरूलाई जीवाश्म इन्धनमा निर्भरता घटाएर स्वच्छ ऊर्जातर्फ तीव्र रूपमा अघि बढ्न आग्रह गरेका छन्। उनले नवीकरणीय ऊर्जालाई अब विकल्प नभई अपरिहार्य आवश्यकता भएको बताएका छन्।

जलवायु संकटका कारण हाल विश्वका विभिन्न क्षेत्रमा विनाशकारी बाढी, अत्यधिक गर्मी, खडेरी र प्राकृतिक विपद्का घटना बढिरहेका छन्। चीन-नेपाल हिमालय क्षेत्रमा आएको भीषण बाढी, समुद्री सतहको तापक्रम वृद्धि र एल निनोको प्रभावले स्थिति अझ गम्भीर बनेको बताइएको छ।

यसैबीच, आगामी जलवायु सम्मेलन (COP31) को तयारी भइरहेका बेला विकासशील र जलवायु संकटबाट बढी प्रभावित देशहरूले धनी राष्ट्रसँग थप आर्थिक सहयोगको माग गरेका छन्। उनीहरूले तटीय क्षेत्रको सुरक्षा, स्वास्थ्य सेवा सुधार र जलवायु विपद्सँग जुध्न पर्याप्त वित्तीय सहयोग आवश्यक रहेको बताएका छन्।

यसै विषयमा सम्बन्धित रहेर नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री शाहले जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग र कमजोर मुलुकहरूको आवाजलाई सम्मान गर्न विश्व समुदायलाई आग्रह गर्दै जलवायु संकटबाट बढी प्रभावित देशहरूका लागि धनी देशहरूसँग थप आर्थिक सहयोगको माग गरेका छन्।

यद्यपि पछिल्ला वर्षहरूमा विश्व तापक्रम वृद्धिको अनुमान ४ डिग्रीबाट घटेर २.३ देखि २.६ डिग्रीसम्म सीमित हुने आकलन गरिएको छ, तर विशेषज्ञहरूले यो स्तर पनि अत्यन्त जोखिमपूर्ण रहेको चेतावनी दिएका छन्। विशेषज्ञहरूले जलवायु संकटको असर कम गर्न नवीकरणीय ऊर्जाको प्रयोग बढाउन र हरितगृह ग्यास उत्सर्जन घटाउन तत्काल कदम चाल्नुपर्ने बताएका छन्। विश्वभर अहिले नवीकरणीय ऊर्जा विस्तार गर्ने र हरितगृह ग्यास उत्सर्जन घटाउने प्रयासलाई तीव्र बनाउनेमा अावाज उठिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...