प्रशान्त महासागरको द्वीपीय राष्ट्र फिजीले एचआईभी (HIV) संक्रमितको संख्या तीव्र रूपमा बढेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ।
स्वास्थ्य मन्त्री एन्टोनियो लालाबालाभुका अनुसार सन् २०२५ मा मात्र २,०१६ नयाँ एचआईभी संक्रमित फेला परेका छन्। हाल फिजीमा करिब ९,१०० जना एचआईभी संक्रमित छन्, जसका कारण देशका करिब ६० वयस्कमध्ये १ जना एचआईभीसँग बाँचिरहेका छन्।
विशेषज्ञहरूका अनुसार लागुऔषध प्रयोग, असुरक्षित यौनसम्पर्क, सुई साटासाट गर्ने चलन तथा “ब्लुटुथिङ” (नशा गरेका व्यक्तिको रगत अर्को व्यक्तिमा सुईमार्फत हाल्ने अभ्यास) ले संक्रमण फैलाउन ठूलो भूमिका खेलेको छ।
संक्रमण नियन्त्रण गर्न सरकारले सुई तथा सिरिन्ज वितरण कार्यक्रम सञ्चालन गर्ने, परीक्षण सेवा विस्तार गर्ने र उपचारमा पहुँच बढाउने योजना अघि सारेको छ। साथै, एचआईभी संक्रमितप्रति हुने भेदभाव र डर हटाएर परीक्षण तथा उपचारका लागि अगाडि आउन नागरिकलाई आग्रह गरिएको छ।
संयुक्त राष्ट्रसंघको यूएनएड्स (UNAIDS) का अनुसार फिजीमा एचआईभी भएका व्यक्तिमध्ये केवल ३९ प्रतिशतले मात्र आफ्नो स्वास्थ्य अवस्था थाहा पाएका छन् भने २२ प्रतिशत मात्र उपचारमा छन्।
स्वास्थ्य अधिकारीहरूले यो महामारी नियन्त्रणमा ल्याउन कम्तीमा पाँच वर्ष लाग्न सक्ने बताएका छन्।
-https://www.bbc.com/news/articles/c3zxz7le4e92o