अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसका डिजेल भण्डार र ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न आग्रह गरेका छन्। ट्रम्पका अनुसार यस्ता आक्रमणका कारण विश्व बजारमा डिजेलको मूल्य बढ्न सक्छ।
तर ऊर्जा क्षेत्रका विज्ञहरूले डिजेल महँगिनुको कारण युक्रेनका आक्रमण मात्र नभई रूसले गरेको निर्यात प्रतिबन्ध र हर्मुज जलडमरूमध्यमा देखिएको अवरोध पनि रहेको बताएका छन्।
यसैबीच, रूसले ट्रम्पको सुझावलाई स्वागत गर्दै आफूविरुद्ध लगाइएका प्रतिबन्ध हटाउनुपर्ने माग दोहोर्याएको छ। युक्रेनले भने रूसी आक्रमणको सामना गर्न आफ्नो रक्षा रणनीतिअन्तर्गत ऊर्जा तथा सैन्य संरचनामा आक्रमण गर्नुपरेको जनाएको छ।