इटालीको बोलोन्या सहरमा मोरक्को मूलका अब्देररहिम फाकिरको प्रहरी नियन्त्रणका क्रममा मृत्यु भएपछि न्यायको माग गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन्। प्रदर्शनपछि केही प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ६४ जना प्रहरी घाइते भएको अभियोजकहरूले बताएका छन्।
फाकिरलाई असामान्य व्यवहार गरेको सूचनापछि प्रहरीले नियन्त्रणमा लिएको थियो। सार्वजनिक भिडियोमा दुई प्रहरी अधिकारीले उनलाई भुइँमा थिचेर समातेको देखिन्छ। घटनापछि बोलोन्या अभियोजक कार्यालयले दुई प्रहरी अधिकारी र घटनास्थलमा रहेका स्वास्थ्यकर्मीविरुद्ध गैरइरादतन हत्याको अनुसन्धान थालेको छ।
फाकिरका परिवार र मानवअधिकार पक्षधरहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। बोलोन्याका मेयर मत्तेओ लेपोरेले भिडियो हेर्दा आफू स्तब्ध भएको बताएका छन्। यता प्रधानमन्त्री जर्जिया मेलोनीले मृत्युको सत्यतथ्य पत्ता लगाउनुपर्ने भन्दै हिंसात्मक प्रदर्शन भने स्वीकार्य नभएको प्रतिक्रिया दिएकी छन्।