Monday 9th November 2026

पतिको हत्या गरेको आरोपमा मृत्युदण्ड पाउन लागेको एक महिलालाई अब फाँसी दिइने छैन


इरानको अदालतले मंगलबार घोषणा गर्‍यो कि आफ्नै पतिको हत्या गरेको आरोपमा मृत्युदण्ड पाउन लागेको एक महिलालाई अब फाँसी दिइने छैन। उनले बच्चा जन्माएपछि उनलाई मृत्युदण्ड दिने तयारी गरिएको थियो।

बलुच समुदायकी २५ वर्षीया गोली कोहकानलाई यस महिनामा मृत्युदण्डको सजाय सुनाउने बताइएको थियो, र उनको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा धेरै चर्चा भएको थियो।

संयुक्त राष्ट्रसंघका अधिकार विशेषज्ञहरूले गत हप्ता इरानलाई अनुरोध गरेका थिए कि उनको फाँसी रोकियोस्। उनीहरूका अनुसार गोलीलाई १२ वर्षको उमेरमै उनका काकाका छोरासँग जबरजस्ती विवाह गराइएको थियो, र १३ वर्षको उमेरमा उनले बच्चा जन्माएकी थिइन्। गोली र उनका छोरालाई पतिबाट निरन्तर हिंसा हुने गरेको बताइएको छ।

इरानी न्यायपालिकाका अनुसार, मध्यस्थता र मृतक पतिको आमाबाबुको सहमतिले गोलीलाई माफ गरियो। अदालतले “उनलाई नयाँ जीवन दिइयो” भनेर भिडियो समेत सार्वजनिक गरेको छ।

तर संयुक्त राष्ट्रका विशेषज्ञहरू तथा अधिकार समूहहरूले भनेका थिए कि उनको जीवन बचाउनका लागि परिवारले “दियाह” (शरिया कानून अनुसार तिर्ने रक्तपैसा) उठाउनु पर्‍यो, जसले कसैको जीवन लिएकोमा पैसा तिरेर मृत्युदण्डबाट बच्न सकिन्छ।

उनकी वकिलले इन्स्टाग्राममा लेखे अनुसार, झन्डै १ लाख युरो बराबरको रकम घटाएर ८० हजार युरो गरिएको थियो, र यो पैसा दान तथा परोपकारी संस्थाबाट उठाइएको थियो।

नर्वेमा आधारित संस्था इरान ह्युमन राइट्स का निर्देशक महमूद अमीरी–मोघद्दामले भने, “यो मुद्दाले इरानमा मृत्युदण्डको सामना गर्ने धेरै महिलाले भोग्ने भेदभाव र हिंसालाई देखाउँछ।”

संस्थाका तथ्याङ्क अनुसार, इरानले यस वर्ष मात्रै ४० भन्दा बढी महिलालाई मृत्युदण्ड दिएको छ, जसमा धेरै गरीबी, बालविवाह र घरेलु हिंसाका सिकार भएका छन्।

अमीरी–मोघद्दामका अनुसार, अदालतले गोलीको बालउमेरमा विवाह गरिनु, घरेलु हिंसा, पक्राउ पर्दा वकिल नपाउनु, र उनी निरक्षर हुनुजस्ता महत्वपूर्ण कुरा ध्यानै दिएन।

गोलीलाई मे २०१८ मा, १८ वर्षकी उमेरमा, पतिको हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो, र उनलाई उनका काकासँगै मृत्युदण्ड सुनाइएको थियो। गोलीले पतिले आफू र छोरालाई कुट्दै गर्दा काकालाई मद्दत मागेकी थिइन्, र त्यसपछि भएको झगडामा पतिको मृत्यु भएको थियो।

उनका काका मोहम्मद अबिल अझै पनि मृत्युदण्डको जोखिममा रहेको अधिकार समूहहरूले बताएका छन्।

मानव अधिकार समूहहरू, जस्तै एम्नेस्टी इन्टरनेसनलका अनुसार, इरान चीनपछि विश्वमा सबैभन्दा धेरै मृत्युदण्ड दिने देश हो।


सम्बन्धित शीर्षकहरु

काठमाडौं। भारतीय सेनाको अग्निपथ योजनामा गरिएको महत्त्वपूर्ण परिवर्तनपछि भारतीय सेनामा नेपाली गोर्खा युवाको भर्ती पुनः सुरु हुन सक्ने विषयले नेपालमा…

रियाद। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियाद तथा पूर्वी प्रान्तलाई लक्षित गरी प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी अरबको हवाई प्रतिरक्षा…

मस्कट। ओमानको समुद्री तटनजिकै एउटा व्यापारिक जहाजमाथि भएको आक्रमणमा एक भारतीय नाविकको मृत्यु भएको छ। जहाजमा सवार अन्य १३ जना…

प्रतिकृयाहरू
...