Friday 9th October 2026

तीन किराँती संस्थाद्वारा साकेला उधौली भव्य रूपमा सम्पन्न


कुवेत – “भाषा, संस्कार, संस्कृतिको संरक्षण, किरातीहरूको साझा अभियान” भन्ने मूल नाराका साथ कुवेतमा क्रियाशील तीन किराती संस्थाहरूले किरातीहरूको महान चाड चासोक तङ्नाम (साकेला उधौली) तथा रापावा स्यादार–पिदार २०२५/५०८५ भव्य रूपमा मनाएका छन्।
कार्यक्रम २०२५ डिसेम्बर ५, शुक्रबार कुवेतको खैतानस्थित राजधानी होटलको सभाहलमा सम्पन्न भएको हो।

किराती समुदायले वर्षमा दुई पटक मनाउने साकेला पर्वमध्ये उधौली (मंसिर पूर्णिमा) विशेष महत्त्वको मानिन्छ। यस अवसरमा समुदायका सदस्यहरू परम्परागत पोशाकमा सजिएर गोलो घेरामा ढोल–नगारा बजाउँदै साकेला नाच प्रस्तुत गरे।

कार्यक्रमको मुख्य आकर्षण नेपालबाट विशेष आमन्त्रित लोकप्रिय गायिका मिना राई थिइन्। उनले पूर्वेली, साकेला तथा अन्य लोकधुनमा गीत प्रस्तुत गरी उपस्थित सबैलाई नचाएकी थिइन्। साथै राई समुदायको मौलिक साकेला नाच, लिम्बूहरूको केलाङ नाच, सुनुवार समुदायको श्याँदर नाच लगायत विविध सांस्कृतिक झाँकी तथा एकल, युगल र समूह नृत्य तथा गीतले कार्यक्रमलाई झनै मनोरञ्जनमय बनायो।

कार्यक्रम किरात राईयायोक्खा कुवेतका अध्यक्ष उमेश राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली दूतावास कुवेतका तृतीय सचिव राजेन्द्र प्रसाद जोशी प्रमुख अतिथि रहेका थिए।
विशेष अतिथिमा दूतावासको लेखा विभागका तृतीय सचिव राम पुनित यादव, एनआरएनए एनसिसी कुवेतका अध्यक्षद्वय विकास सिंह ठकुरी (बद्री पक्ष), दिलकुमार पाख्रिन (महेश पक्ष), नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष धनबहादुर लिम्बू लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रम महासचिव रोशन राईले सञ्चालन गरेका थिए भने शुक्र राईले स्वागत मन्तव्य राखेका थिए।
राष्ट्रिय गानसहित सुरु गरिएको कार्यक्रममा प्रमुख तथा विशेष अतिथिहरूले सामूहिक रूपमा दियो बालेर उद्घाटन गरेका थिए। विभिन्न संघ–सङ्गठनका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै किराती संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्तो कार्यक्रम महत्त्वपूर्ण रहेको बताए।

कुवेतमा बसोबास गर्ने किराती समुदायबीच एकता, पहिचान र सांस्कृतिक जगेर्नालाई बलियो बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सफल र भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...