बहिष्कृत प्रधानमन्त्री शेख हसिना र उनको पूर्व सत्तारूढ दल अवामी लिगले विद्यार्थी आन्दोलनमाथि भएको दमनको मुद्दाविरुद्ध राष्ट्रव्यापी ‘लकडाउन’ आह्वान गरेपछि बिहीबार बङ्गलादेशको सार्वजनिक जीवन व्यापक रूपमा अवरुद्ध भयो। कक्षा, यातायातदेखि दैनिक गतिविधिसम्म ठप्प जस्तै देखिएको छ।
हसिना सन् २०२४ को अगस्टमा १५ वर्ष लामो शासन अन्त्य गराउने विद्यार्थी–विद्रोहमाथि दमन गरेको आरोपमा मानवता विरुद्धको अपराध मुद्दा सामना गरिरहेकी छन्। उनी त्यसयता भारतमा निर्वासनमै बस्दै आएकी छन्। ढाकास्थित विशेष न्यायाधिकरणले सोमबार मुद्दामा फैसला सुनाउने तयारी गरेको प्रमुख अभियोजक ताजुल इस्लामले जानकारी दिए।
लकडाउन आह्वानपछि ढाका र प्रमुख सहरहरूमा सार्वजनिक यातायात लगभग बन्द रह्यो। विद्यालयहरूले अनलाइन कक्षा र परीक्षा सञ्चालन गरे। सडकमा भीड न्यून रहेकाले राजधानीका धेरै क्षेत्र सुनसान देखिन्थे।
गोपालगञ्जमा सरकारी भवनमा पेट्रोल बम प्रहार भएको र पूर्वी बङ्गलादेशमा बर्तमान अन्तरिम नेता मुहम्मद युनुसद्वारा स्थापित ग्रामीण बैंकको एउटा कार्यालयमा आगजनी भएको स्थानीय सञ्चारमाध्यमले पुष्टि गरेका छन्।
यसैबीच, नेता युनुसले राष्ट्रिय प्रसारणमार्फत सम्बोधन गर्दै फेब्रुअरीमा हुने अर्को आम चुनावसँगै राजनीतिक दलहरूले हस्ताक्षर गरेको ‘जुलाई राष्ट्रिय चार्टर’ विषयमा जनमतसंग्रह गराउने तयारी भएको बताए। उनले हसिनालाई कानूनी रूपमा जवाफदेही बनाउने आफ्नो वाचा पुनः दोहोर्याए।
देशभर तीन दिनयता कच्चा बम र सवारीसाधनमा आगजनीका घटनाहरू बढिरहेका छन्। बुधबार साँझ ढाकामा रेल र बसमा आगो लगाइएका घटनाहरू रिपोर्ट भएका थिए भने ढाका विश्वविद्यालय परिसरमा पनि कच्चा बम विस्फोट भएको थियो।
बिहीबार बिहान विशेष न्यायाधिकरण परिसरमा कडा सुरक्षा व्यवस्था गरिएको थियो। त्यहाँ पूर्व गृहमन्त्री असदुज्जमान खान र पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुनविरुद्धको मुद्दा सुनुवाइ हुँदैछ। दुवै अनुपस्थितमै मुद्दा चलाइँदैछ; खान भारतमा रहेको बताइन्छ।
विद्रोहको चरम हिंसामा सयौँ मारिएको थियो। संयुक्त राष्ट्रसंघले एक हजार ४०० जनासम्मको मृत्यु भएको अनुमान गरेको छ। अन्तरिम सरकारले ८०० भन्दा बढी मृतक र करिब १४ हजार घाइते भएको पुष्टि गरेको छ। हसिनाले भने यी तथ्यांक अस्वीकार गर्दै स्वतन्त्र छानबिनको माग गरेकी छन्।
भारतीय सञ्चारमाध्यमले इमेलमार्फत हसिनासँग गरेको अन्तर्वार्ता सार्वजनिक गरेपछि ढाकाले दिल्लीलाई कडा असन्तुष्टि व्यक्त गरेको छ। अन्तर्वार्तामा हसिनाले युनुसमाथि इस्लामवादी समूहलाई समर्थन गरेको र मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाएकी छन्।
फेब्रुअरीको निर्वाचन नजिकिँदै गर्दा बङ्गलादेशमा राजनीतिक तनाव झनै चर्किएको छ।
श्रोत -हिमाली पत्रिका