-घनश्याम खतिवडा
पृष्ठभूमि:
संयुक्त राज्य अमेरिकी सरकारले माध्यमिक विद्यालय तहका बालबालिकाहरूलाई आफ्नो रुचिअनुसार मूल पाठयक्रम बाहेकका विषयहरूमा आफ्नो क्षमतालाई बढाउन अतिरिक्त क्रियाकलापमा संलग्न हुने अवसर प्रदान गर्ने गरेको छ । विद्यालयमा रोबोटिक क्लबका साथै रकेट क्लब, भोलेन्टियर क्लब, डिबेट क्लब, लिंगुस्टिक क्लब आदि थुप्रै क्लबहरु भएकोले बालबालिकाहरुले स्वेच्छिक रूपमा आआफ्ना रुची अनुसारका क्लब मार्फत परियोजनामा काम गर्ने गर्दछन् । सुरुमा ७ जना बिद्यार्थीहरुले यो परियोनामा सम्लग्न हुने नाम लेखाएका भएता पनि बीचमा आएर उनीहरुले छोडेर पनि कक्षा ११ मा पढ्ने रुसान घिमिरे (नाती), इसान रबडिया, र कक्षा ९ मा पढ्ने बेन लीले रकेट क्लव मार्फत सम्पन्न गरेको परियोजनाको छोटो ‘घटना अध्ययन’ (Case Study) प्रस्तुत गरेको छु ।
विषय प्रवेश:
लाउडन काउन्टी भर्जिनियाको ब्रायर वुड्स हाई स्कूलका सात जना बालबालिकाको समूहले आफ्नो बिद्यालयको रकेट क्लब मार्फत अतिरिक्त कार्यकलापको रूपमा एक रकेट निर्माण परियोजना सुरु गर्ने सल्लाह गरेछन् । यसका लागि उनीहरुको स्कूलले एक जना शिक्षक (इन्जिनियर)लाई रकेट परियोजनाको सुपरीक्षक तोकेको रहेछ । परियोजना सुरु गर्नु पहिले बालबालिकाले निम्न कार्यहरु गर्नु पर्ने रहेछ ।
परियोजना तयारीका कार्यहरु:
१. रकेट परियोजनाका बारेमा The American Rocketry Challenge (TARC) द्वारा प्रकाशित परियोजना सम्बन्धी निर्देशिका तथा वेबसाइटमा भएका सामग्रीहरु खोजेर पढ्ने, बुझ्ने र अर्थ ग्रहण गर्ने ।
२. समूह भित्र कामको बाँडफाड गर्ने ।
३. परियोजनाको लागत अनुमान र बजेट निर्माण गर्ने तथा सदस्यहरुबाट रकम संकलन गर्ने ।
४. कम्प्युटरमा भएका Open Rocket भन्ने एपमा गएर परियोजना डिजाइन गर्ने ।
५. रकेट परियोजनालाई चाहिने उपकरणहरुको सूचि तयार गरी मूल्य पत्ता लगाई अन लाईनबाट सामान मगाउने ।
६. रकेट निर्माण स्थान छनौट गर्ने र कार्य प्रारम्भ गर्ने ।
रकेट तयारी, उडान र अबतरणका मापदन्डहरु:
१. रकेट उडाउने इन्जिन खरीद गर्दा इन्जिनको गुणस्तरीयता, आकार, उचाई, तौल रकेटसंग मेल खाने (Compatible) हुनु पर्ने रहेछ ।
२. रकेटलाई ४१ देखि ४४ सेकेन्ड भित्रमा ७९५ फिटको उचाईमा पुर्याएर पृथ्वीमा अवतरण गराई सक्नु पर्ने लक्ष्य दिइएको रहेछ ।
३. परियोजना स्थल IAD Airport को नजिक पर्ने भएकोले रकेट उडाउनु पूर्व स्थानीय सरकार तथा हवाइ सुरक्षाको अनुगमन गर्ने
निकायसँग पूर्व स्वीकृति लिएर मात्र उनीहरूले तोकिदिएको मैदानमा रकेट उडाउनु पर्ने रहेछ ।
४. उपल्लो उच्चाईमा पुगे पछि रकेट पृथ्वीमा फर्किन प्यारासुट खुल्नुपर्ने र प्यारासुट मार्फत अण्डालाई सकुशल अवतरण गराउनु पर्ने रहेछ ।
५. रकेट, अण्डा, प्यारासुट तथा इन्जिन कुनै पनि कुरा फुट्नु/टुट्नु नहुने रहेछ । फुट्यो, टुट्यो भने परियोजना नै असफल भएको मानिने रहेछ ।
६. रकेट तोकिएको उचाईमा ठयाक्कै पुग्न नसकेर वा त्यो भन्दा बढी उचाइमा पुगेर पनि सफल अवतरण गरेमा त्यसलाई पनि प्रमाणित (Qualified) मानिने रहेछ तर त्यो भन्दा माथिल्लो तहमा प्रतिस्पर्धा गर्न नपाउने रहेछ ।
७. दुई वटा अण्डालाई बोकेर उडेको रकेट उडानका लागि तोकिएको उचाईमा ठयाक्कै पुगेर सकुशल अण्डा नफुटाइ पृथ्वीमा अवतरण गरेमा विजेता घोषित गरिने रहेछ ।
८. अंकको आधारमा पहिलो चरणका बिजेता क्लबले दोश्रो चरणको प्रतियोगितामा सामेल हुने मौका पाउने रहेछन् । दोश्रो समूहमा पनि छनौट हुने समूहले राष्ट्रिय तहको अन्तिम प्रतिष्पर्धामा सरिक हुन पाउछन् ।
रकेट परियोजनाको पुरस्कार:
राष्ट्रिय तहमा पुगेका रकेट परियोजनाको बिजेताका समूहले अमेरिकी डलर २०,०००/ तथा बिजेताका समूहको विद्यालयले अमेरिकी डलर १,०००/ पुरस्कार पाउँछन्।
परियोजनाको कार्यान्वयन:
रकेट परियोजनाका मापदण्ड पढेपछि समूहका चार जना विद्यार्थीहरुले परियोजना सुरु हुनु पूर्व नै रकेट क्लब छोडेर अन्य क्लबमा गए पनि रूसान, इसान र बेनले मात्र चुनौति स्वीकार गर्दै परियोजना अगाडि बढाउने निधो गरेछन् । यस समूहको परियोजनाका लागि आवश्यक रकेटमा जडान हुने इन्जिन भर्जिनिया राज्यमा उपलब्ध नभएकोले अभिभावकहरुको सहायताले कोलोराडोबाट मगाउनु परेको थियो । कोलोराडोबाट मगाएको इन्जिनले काम नगरेपछि मेरिल्याण्ड राज्यमा अभिभावकको सहयोगमा पुगेर ल्याए पछि बल्ल रकेटमा मिलेछ । बाल बैज्ञानिकहरुले धेरै मेहनत गरेर पहिलो पल्ट छोडेको रकेटले परीक्षण उडान सफलता पूर्वक सम्पन्न गरेकोले उनीहरुमा परियोजना प्रति अझ हौसला बढेको छ । यस परीक्षण उडानले बाल बैज्ञानिकहरुलाई परियोजनामा भएका सामान्य कमी कमजोरीहरुलाई सुधार गर्ने अवसर मिलेको छ ।
परियोजनाको नतिजा:
निश्चित दिनमा हवाई सुरक्षा निकायले देखाइदिएको स्थानमा बिद्यालय परिवार, सरोकारवालाहरु तथा सरकारी निकायका उपस्थितिमा अन्य समूहका साथै यी तीन जना बाल बैज्ञानिकहरुले रकेट प्रक्षेपण गरेका थिए । यस समूहको रकेट १ मिनेट ३ सेकेन्डमा ७४० फिटको उच्चाईमा पुगेर रकेटले बोकेका दुई जना यात्रीको प्रतीक अण्डाहरुलाई सुरक्षित रुपले पृथ्वीमा अवतरण गराउन सफल भयो । प्रतिष्पर्धामा अगाडि बढ्नको लागि लक्ष्यलाई ठ्याक्कै भेट्न नसकेता पनि दिइएको मापदण्ड अनुसार अण्डाका साथै इन्जिन, प्यारासुट र समग्र रकेट समेत सुरक्षित अवतरण गराउन सकेको यस समूहको रकेट परियोजना सफल भएको घोषणा गरिएको थियाे । परियोजना सफल पार्ने तिनै जना बाल बैज्ञानिकहरुलाई भविष्यमा महान बैज्ञानिक बन्नको लागि अग्रिम शुभकामना !
यस वर्षको राष्ट्रिय बिजेता को भयो ?
यो राष्ट्रिय स्तरको प्रतियोगितामा यस वर्ष पहिलो चरणमा सयुक्त राज्य अमेरिका भरिका माध्यमिक विद्यालयका इच्छुक १,००० रकेट क्लबहरुबाट प्राप्त आवेदनहरुलाई स्थानीय तहमा प्रतियोगिता संचालन गरी अंकका आधारमा मूल्यांकन गरेर जम्मा १०० वटा उत्कृष्ट क्लबहरु छनौट गरिएको थियो। उक्त १०० वटा क्लवहरुको बीचमा दोश्रो चरणको प्रतियोगिता गराई ती मध्येबाट १० वटा (टप टेन) छनौट गरिएको थियो । १० वटा उत्कृष्ट क्लबहरु मध्येमा अधिकतम अंक ल्याउने न्यू जर्सी राज्यको रकेट क्लबले राष्ट्रिय स्तरको बिजेता घोषित गरिएको थियो ।
समिक्षा : हामी कहाँ छौं ?
कुनै पनि देशले आफ्नो राष्ट्रिय आवश्यकतालाई मिल्ने जनशक्ति तयार गर्न आफ्नो देशको राष्ट्रिय शिक्षा नीति तयार पारेको हुन्छ । राष्ट्रिय शिक्षाको उद्देश्य अनुरुप नै राष्ट्रिय पाठ्यक्रमको खाका तयार गरिन्छ । यसका अतिरिक्त क्षेत्रीय र स्थानीय आवश्यकता र सम्भावनाहरुका आधारमा क्षेत्रीय र स्थानीय पाठ्यक्रम पनि थप गर्न सकिन्छ । सरकारद्वारा तोकिएको पाठ्यक्रमको कार्यान्वयन गर्ने अभिभारा विद्यालयहरुको रहन्छ, जो शिक्षक , अभिभावक र स्थानीय सरकारद्वारा पुरा गर्नु गराउनु पर्छ । बिकसित देशहरुले (बालक पहिला) भन्ने कुरालाई पहिलो प्राथमिकतामा राखेका हुन्छन । स्वास्थ्य, पोषण, सुरक्षा, लगायत शिक्षाको राष्ट्रिय पाठ्यक्रम बनाउँदा समेत देशको आवश्यकताको साथै बालबालिकाहरुको उमेर, स्तर, मनोविज्ञान, रुची आदि पक्षलाई पूर्ण रुपमा ध्यान दिएर तयार गर्ने र नियमित पाठ्यक्रमले समेट्न नसकेका बिषयबस्तुहरुलाई अतिरिक्त क्रियाकलाप मार्फत सम्बोधन गर्ने गरेको पाईन्छ । एक छिन हाम्रो देशको शिक्षा पद्दति र हाम्रा बालबालिका तर्फ फर्कौं ।
हाम्रो देशको पाठ्यक्रम निर्माण गर्दा पनि सैद्धान्तिक रुपले यस्तै प्रक्रिया अपनाइएको हुन्छ । तर हाम्रो कार्यान्वयन पक्ष भने ज्यादै कमजोर छ । शिक्षाको पाठ्यक्रम दूर दराजका विद्यालयहरुमा प्राय पुगेकै हुँदैनन । विद्यालयमा पुगिहाले पनि विद्यालयको अफिस कोठामा थन्किएको हुन्छ । पाठ्यक्रम र पाठ्य पुस्तकमा के भिन्नता छ ? शिक्षण सिकाईमा पाठ्यक्रमको प्रयोग कसरी गर्ने ? भन्ने आधारभूत कुराहरुमा शिक्षकहरुलाई निरन्तर तालिम/अभिमुखीकरण दिने व्यवस्था छैन । थाहा पाएका शिक्षकहरुले पनि फित्तलो अनुगमन प्रणाली र जबाफदेही बन्नु नपर्ने कारणले यसको प्रयोग गरेका हुदैनन् । हाम्रो देशमा पाठ्य पुस्तकमा आधारित शिक्षण सिकाई पद्दति हुने भएकोले शिक्षाको पाठ्यक्रम सधैं ओझेलमा परेको हुन्छ । पुस्तक घोकेर वा कण्ठ गरेर उत्तर लेखेमा उत्तीर्ण हुने पद्दतिलाई हामीले त्याग्न सकेका छैनौँ । त्यसैले बाल चाहना, मनोविज्ञान र छनौटको बिषय पढ्न पाउने अर्थात बालबालिका पहिला अनुरुपको शिक्षा प्रणाली निर्माण गर्न हाम्रा लागि अझै लामो समय कुर्नु पर्ने देखिन्छ ।
भक्तपुर, नेपाल (हाल- यासबर्न, भर्जिनिया)