Sunday 11th October 2026

लोकतन्त्रमा म्याच फिक्सिङ : जनमतको हत्या, विश्वासको घाँटी थिचिँदै


-राजन रिमाल
लोकतन्त्र र खेल दुवै नियम, प्रतिस्पर्धा र विश्वासमा टिकेका प्रणाली हुन्। तर जब खेल मैदानमा म्याच फिक्सिङ हुन्छ र राजनीतिक मैदानमा सत्ता–सेटिङ, तब यो केवल अनैतिक अभ्यास मात्र हुँदैन—यो जनमतमाथिको खुला आक्रमण हुन्छ।
खेलमा म्याच फिक्सिङले दर्शकलाई मूर्ख बनाउँछ। जित–हारको नाटक मञ्चन हुन्छ, प्रतिस्पर्धा अभिनयमा झर्छ। दर्शक ताली बजाउने साधनमा सीमित हुन्छ, जबकि नतिजा पर्दा पछाडि पहिल्यै तय भइसकेको हुन्छ। यस्तो खेल खेल होइन, संगठित ठगी हो।
यही ठगी आज राजनीतिमा निर्लज्ज रूपमा दोहोरिँदैछ। चुनावअघि हुने गठबन्धन, सिटको बार्गेनिङ, सिद्धान्तको खुला बिक्री—यी सबै राजनीतिक म्याच फिक्सिङका प्रमाण हुन्। सत्ता प्राप्तिका लागि विचारको हत्या भइरहेको छ, जनताको निर्णय अधिकार सौदाबाजीमा सुम्पिँदैछ।
गठबन्धन त बन्ने नै भयो। तर मतदाताको मनबन्धन हुने सम्भावना भने लगभग समाप्त भइसकेको छ। जनता अब उत्साहित होइनन्, आश्वस्त छैनन्। चुनाव उनीहरूको निर्णय होइन, नेताहरूको पूर्वनिर्धारित स्क्रिप्ट जस्तो लाग्न थालेको छ।
यसको असर गम्भीर र दीर्घकालीन छ। मतदाता निराश हुँदैछ, युवाहरू राजनीतिबाट टाढिँदैछन्, र लोकतन्त्र औपचारिकतामा सीमित बन्दैछ। जब विश्वास हराउँछ, तब व्यवस्था टिक्दैन—सत्ता मात्र सर्छ।
अन्त्यमा भन्नैपर्छ—
खेलमा म्याच फिक्सिङ अपराध हो, राजनीतिमा त्यो लोकतन्त्रको हत्या हो।
यदि यही क्रम जारी रह्यो भने, चुनाव जित्ने धेरै हुनेछन्, तर लोकतन्त्र हार्नेछ, जनता पराजित हुनेछन्।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली…

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

प्रतिकृयाहरू
...