Sunday 22nd March 2026

प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक


मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति सामान्य देखिएको छ ।
सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ । यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ ।

त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ ।

त्यस्तै प्रचण्डसँग ५ तोला सुन रहेको विवरणमा उल्लेख छ । उक्त सुन सम्पत्तिबाट आएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै एभरेष्ट बैंकको खातामा २५ लाख नगद मौज्जात रहेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सार्वजनिक गरेको सम्पत्ति विवरणमा भक्तपुरमा १ रोपनी १ आमा पैतृक सम्पत्ति देखाएका छन् ।

यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन् ।

यस्तै श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ ।

यस्तै श्रीमती र आफ्नो आयबाट ४२ लाखमा किनेको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गरेका छन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरणमा बैंक खातामा एक लाख २२ हजार ९ सय १८ रुपैयाँ ६४ पैसा रहेको र सो रकम सेवा सुविधाबाट प्राप्त भएको उल्लेख गरेका छन् ।

त्यस्तै श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा पैत्रिक जग्गा ३७ रोपनीभन्दा बढी रहेको र त्यो पनि २०५८ सालमा पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको उल्लेख गरेका छन् ।

त्यस्तै श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपलब्ध गराएको गाडी प्रयोग गर्ने गरेको र सो गाडीको खरिद मूल्य र खरिद मिति आफूलाई थाहा नभएको उल्लेख गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...