Saturday 18th May 2024

नेपालमा छोरी चेली बलात्कारको शिकार र यसले मागेको बहस


नारायण पोख्रेल –  एक महिना भित्र देशमा महिला युवती तथा बालिका गरि २३ जना बलात्कार र हत्याको शिकार भएका घटना सार्बजनिक भएका छन जुन कुराले हामी सबैलाई अत्यन्तै दुखि तुल्याएको छ । अझ यस निन्दनीय कार्यमा घरकै आफन्त बाबु ,दाजुभाई, छर छिमेकी, शिक्षा दिने शिक्षक हरु र शान्ति सुरक्षा दिन खटिएका मानिसहरुको संग्लग्नताले समाजमा डरलाग्दो अबस्थाको शृजना गरेको छ । यसरी एक पछि अर्को गरि सतहमा आएका घटनाको अवस्था हेर्दा नेपाली समाज कुन दिशा तिर जाँदैछ भन्ने कुराले आम मानिसलाई पिरलिरहेको छ । अझ यस्ता मानविय समबेदनासंग जोडिएका घटनाहरु र त्यसको छानबिन तथा दोषीलाई खोजी कारबाईको दायरामा ल्याउने र पिडितलाई न्याय दिलाउनको लागि आम जनता र नागरिक समाजका अगुवाहरु सडकमा आन्दोलन गर्नु पर्ने र ज्यान सम्म दिनुपर्ने कुराले अनुसन्धान र न्याय प्रणाली प्रति जनताको बिश्वास बिल्कुलै घट्दै गएको कुरा घाम जस्तै छर्लङ्ग देखिन्छ ।

यसरी दिनानु दिन बढ्दै गएका आपराधिक क्रियाकलापको न्यूनीकरणको सवाललाई लिएर मानिसहरुका विभिन्नखाले बिचारहरु बाहिर आउन लागेका छन । दोषीलाई फासीको सजाय हुनु पर्ने भन्ने कुरापनि चर्चाको विषय भएको छ भने अर्कोतिर कंचनपुरको जस्तै सुरक्षा संयन्त्रले मुख्य दोषीलाई बचाई सिधा साधा मानिसलाई फसाउने काम भयो भने निर्दोष मानिस फासिको फन्दामा फस्ने अवस्था आउने कुरा समेत ध्यान दिनु पर्ने आबस्यक छ । जबसम्म राज्य अथवा सुरक्षा संयन्त्र तथा न्यायालयले दायाँ बायाँ नगरी सत्य र निष्ठा पुर्बक संविधानको कार्यान्वन गर्छन भन्ने कुराको ग्यारेन्टी हुदैन तबसम्म जे जस्ता प्रकृतिका सजाय भएपनि आपराधिक क्रियाकलापमा कमि आउँछ र पीडितले न्याय र दोषीले सजाय पाउँछ भन्ने कुरामा ढुक्क हुने अवस्था आउदैन । अर्को तर्फ विश्वका धेरै देशमा यस्ता प्रकृतिका घटनामा संग्लग्न हुनेलाई फाँसीको सजाय हुने गर्दछ तर पनि ति देशमा समेत यी अपराधहरु नियन्त्रण हुन् सकेका छैनन । दोषीलाई खोजी गर्नको लागि जनताले आन्दोलन गरेर ज्यान फाल्नु पर्ने यस्तो परिबेशमा फाँसीको सजाय भन्दा पहिला यी कुराहरूमा ध्यान दिनु जरुरी छ ।

राजनीतिमा व्यापक सुधार

नेपाली समाजको हरेक क्षेत्रमा राजनीतिक आतंक छ ।शिक्षा स्वास्थ्य ,सुरक्षा ,न्यायालय देखि अन्य कर्मचारी ,ब्यापारी सबैतिर राजनीतिक पार्टीका संगठन खोलिएका छन । मानिस जति धेरै योग्य भएपनि अबसरको लागि बहालवाला राजनीतिक पार्टीको सदस्य नभैकन कुनैपनि जागिर पाउने अवस्था छैन चाहे सिधै नियुक्तिको सवाल होस् या प्रक्रियागत बाटो बाटै किन नहोस । कुनै मानिसलाई जुन पार्टी बिशेषले नियुक्ति दियो या भर्ना प्रक्रियामा सहयोग गर्यो उक्त मानिस कुनैन कुनै रुपले पार्टी प्रति र पार्टी उ प्रति उत्तरदायी हुने गर्दछ । जब सम्म नेपाली जनताको करबाट सुबिधा लिने कर्मचारीहरुलाई राजनीतिबाट पर राखिन्न या यी राजनीतिक संगठन खारेजी गरिदैन तबसम्म शान्ति सुरक्षाको अबस्थामा सुधार आउदैन र ठुलाबडा या तिनका आफन्तले गरेका अपराध हरु लुकाउने छिपाउने र जसरिपनि उनीहरुलाई बचाउने काम भइनै रहनेछ । तसर्थ अब हामी नागरिक हरु यस बिषयमा गम्भीर हुनु नित्यान्तै जरुरि भएको छ ।

पारिबारिक शिक्षा

मानिस जन्मे पछिको पहिलो पाठशाला घर हो र त्योभन्दा पनि पहिला आमाको काख , बाबुको स्नेह र गाइडेन्स नै हो । महिलाको गर्भबाट जन्मिएको बच्चालाइ कस्तो संस्कार दिने भन्ने कुरामा सबैभन्दा बढी आमाको हात रहेको हुन्छ  तर बिडम्बना ठुलो संख्यामा छोराछोरी हरु एकल अबिभाबक संग बस्न बाध्य छन किनकी अधिकांसका आमा या बाबुहरू घरमा संगै बस्न पाएका छैनन कसैका आमा त कसैका बाबु परदेशमा काम गरिरहेका छन । यसरी अबिभाबकको मायाँ,स्नेह र रेखदेखको अभाबमा हुर्केका कतिपय मानिसहरुमा आचरणको कमि हुनु स्वाभाविक देखिन्छ त्यसैले एकल अभिभावकसंग बस्न बाध्य भएका छोराछोरीको पालनपोषणमा बिशेष ध्यान दिनु जरुरि देखिन्छ ।

धार्मिक आस्था ,अध्यन , अध्यापन र नैतिक शिक्षा

सदियौं पहिला समाजका चतुर मानिसको स्वार्थको लागि धर्मसंग जोडिन पुगेका कतिपय कुरीति बाहेक हरेक धर्मका मार्गदर्शक धर्मग्रन्थ गीता, कुरान, बाइबल जस्ता ग्रन्थहरु मानव जातीको कल्याणको लागि बनाइएका हुन् जसबाट मानिसले कर्महरुको बारेमा ज्ञान हाशिल गर्न सक्छन । हुनत एक्काईसौं सताब्दिमा धेरै मानिसहरु इश्वरलाई भन्दा विज्ञानको ओकालत गरेको पाइन्छ तर विज्ञानको आविस्कार हुनुपुर्ब नै यी ग्रन्थहरु मानिसको लागि उपलब्ध थिए र धर्मप्रति आस्था राख्ने मानिसहरु इश्वरले नै मानिसलाई उपलब्ध गराएको बिश्वास गर्दछन । मानिस वा इश्वर जसले निर्माण गरेको भए पनि यी सबै पुस्तक हरु मानिसलाई जिबनको सहि मार्ग प्रदान गर्नको लागि यसको अध्यनले महत्वपूर्ण भूमिका निभाउन सक्छ तर बिडम्बना अधिकांस मानिसहरु नत यसको अध्यन गर्छन नत छोराछोरी लाई अध्यापननै गराउछन । यसको साथ् साथै नैतिक शिक्षालाइ समेत सानै कलास देखि अनिबार्य अध्यन अध्यापन गर्नु गराउनु पर्ने आबस्यकता देखिन्छ जसले गर्दा सानैदेखि बच्चाको दिमाखमा राम्रो आचरणको विकास हुँदै जानेछ ।

यौन शिक्षा

हाम्रो नेपाली समाजमा यौनलाई अतिनै लाजको विषय बनाइएको छ तर बिडम्बना देशका कुना कुनामा रेड लाइट एरिया लुकिछिपी चलिरहेका छन र अर्को तिर इन्टरनेटको मध्यम बाट सबैभन्दा बढी हेर्न रुचाउने कुरा यौन सम्बन्धिका बिषयबस्तु हुन्छन भन्ने कुरा बिभिन्न रिपोर्टले बताउछ । यसैगरी इन्टरनेटको व्यापक प्रयोग भैरहेको वर्तमान अबस्थामा युटुब, टेलिभिजन, दैनिक पत्र पत्रिका, म्याक्जिन र आम सामाजिक सन्जालमा समेत उत्तेजना फैलाउने किसिमका सामग्री राखिनु र यौनलाई लाजको विषय बनाउनु राम्रो पक्ष हुन् सक्दैन । जब यस्ता क्रियाकलापमा बन्देज या नियन्न्त्रण गर्न सकिन्न भने यौन शिक्षा लाई स्कुल तहबाट अध्यापन र रेडलाइट एरियालाइ ब्यबस्थापन किन नगर्ने ? जसले गर्दा १/२ प्रतिशत मात्र भएपनि बलात्कारमा कमि आउँछ भने यसको बारेमा खुल्ला बहस हुनु जरुरि देखिन्छ।

एनजीओ हरुको उचित प्रयोग या सहि उपयोग

महिलाहरुको हक हित र अधिकारको लागि भन्दै दर्जनौं एनजीओ हरु परिचालित छन । निक्कै ठुलो धन राशी मानिसको भर्ति तथा शहर बजारमा सेमिनार र गोष्टीमा खर्चिरहेका छन तर अपेक्षित रुपमा यो रकमको सदुपयोग भएको देखिन्न । यसको मतलब एनजीओले कामै गरेको छैन भन्न खोजिएको हैन तर यसले जुन ठाउका गरिब सोषित र पिडित महिलाको लागि भन्दा शहर बजारका टाठाबाठा हरुको कमाइखाने भाडो भएजस्तै देखिन्छ ।अब यसलाई समेत गाउँ मुखी र परिणाममुखी बनाउनुपर्ने आबस्यकता देखिन्छ । हैन भने चेलीहरु यसैगरी बलात्कारको शिकार बन्ने छन र नागरिक हरु पिडितको न्यायको लागि ज्यान दिइरहने छन , यो शिलशिला चलिनै रहनेछ ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...